हाम्रो त यस्तो छ हालत

हाम्रो त यस्तो छ हालत

देशका मन्त्रालय, आयोजना र सम्पूर्ण बागडोर सम्हाल्ने सचिवहरूको बैठक । कुराचाहिँ केटाकेटी पाराका !सोमबार दिउँसो मुख्यसचिव डा.वैकुण्ठ अर्याल भन्दै थिए, ‘भएको र दिएको पैसा खर्च गर्न नसक्ने, काम गर्न खुट्टा कमाउने, अनि बजेट छैन भनेर गनगन गर्ने !’

कार्यप्रगति सन्तोषजनक नभएका कारण कहिले मुख्यसचिव र कहिले प्रधानमन्त्रीको गाली खानुपर्ने अवस्थामा छन्, नेपालको प्रशासनिक संरचना हाँक्ने सचिवहरू । त्यस दिन पनि त्यस्तै भयो । सिंहदरबारमा सचिवहरूको समीक्षा बैठक थियो । उनीहरूको एउटै गुनासो रह्यो, ‘अन्तरनिकायबीच समन्वय भएन ।’ कानुनी जटिलता अनेक छन् भन्दै एउटा सचिवले अर्कोलाई दोष थोपर्दै समय बिताए । सबैभन्दा बढी दोष अर्थ मन्त्रालयलाई लगाइयो । 

बजेट भन्ने कुरा पहिल्यै यो–यो शीर्षकमा यति–यति भनेर तय गरिएकै हुन्छ । त्यो पैसा खर्च नगरी किन सालाखाला ४० प्रतिशत पनि खर्च गर्न नसक्ने अवस्था छ । सजिलो कामको लागि बजेट माग्ने, अप्ठ्यारो काममा हात नहाल्ने । छोटो अवधिको काममा मात्र खर्च देखाउने । भएको खर्च नगर्ने, अनि पैसा पुगेन भनेर कराइराख्ने भन्ने कुरामा सोमबार ब्यापक छलफल भयो । सचिवहरू नै कस्ता छन् भने, आफ्नो मन्त्रालयको कार्यक्षेत्र, कार्यादेश, कार्यअधिकार के हो भनेर थाहा नपाउने ।

बैठकमा कुरा उठ्यो, ‘क्यालेण्डर छैन भनेर तिथिमिति नपढ्ने हो भने मोबाइलमा डाउनलोड गरेर राखे हुन्छ ।’ सचिवहरूसँग प्रगतिविरण माग्यो, शाखा अधिकृत, उपसचिवलाई अह्राउने, आफू नपढ्ने, नहेर्ने अवस्था छ । अनि, रिपोर्टचाहिँ माथिबाट माग्यो, शाखा अधिकृत र उपसचिवले तल तलबाट पठायो । माथिका मान्छेले नोटिस नै नगर्ने र थाहै नपाउने । त्यसपछि अर्थले बजेटमा सहमति दिन्न, निर्देशिका बनाउन पठायो रोकेर राख्छ, काम गर्न दिँदैन भन्ने कुरा उठ्यो । अर्थसचिव कृष्णहरि पुष्कर लामो समय बैठकमै बसेनन् । राजश्व हेर्ने राम घिमिरे थिए, तर उनले जबाफ दिने कुरै भएन  । पहिले पो रामेश्वर खनाल, शिशिरकुमार ढुंगानाजस्ता बुझ्ने सचिवहरू बस्थे र जबाफ पनि फर्काउँथे । अहिलेका सचिवमाथि तर्किने ध्याउन्नमा मात्रै लागेको आरोप छ । जान्ने हुँदा ३–४ महिनामै भकुण्डो जो बनाइन्छ ।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पुँजीगत खर्च २५ प्रतिशत हुनुपर्नेमा १२ प्रतिशत मात्र भएको छ । राजश्व एक खर्ब घाटामा छ । चार खर्बको ब्ययभार राज्यमाथि रहेको छ । बैठकमा गृहसचिव नगएर सहसचिव पठाए । भौतिक सचिव र वातावरणले प्याट्टपुट्ट कुरा मिलाउन खोजे । वन, कृषि स्वास्थका सचिवले प्रगति राम्रो नभएको भन्दै मुख्यसचिव डा. बैकुण्ठ अर्यालको खप्की खाए ।


 

टिप्पणीहरू