राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले डेढ दर्जन कागजात बुझाउनैपर्ने

राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले डेढ दर्जन कागजात बुझाउनैपर्ने

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवारले मनोनयन पत्रसाथ डेढ दर्जन कागजात पेश गर्नुपर्ने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले उम्मेदवारको मनोनयन दर्ता गर्दा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ तथा नियमावली र निर्देशिका, २०७६ बमोजिम १८ वटा कागजात पेश गर्नुपर्ने निर्णय गरेको हो । 

पुस २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ । मनोनयन दर्ता गर्दा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नमावली ऐन, २०७३ बमोजिम कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पेश गर्नुपर्ने छ । 

आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६३ बमोजिम १० हजार रुपैयाँ धरौटी जम्मा गरेको रसिद वा भौचर पनि बुझाउनुपर्ने छ । तर, महिला, दलित, अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारले भने पाँच हजार रुपैयाँ मात्रै बुझाए पुग्छ । 

दलका उम्मेदवारको हकमा मनोनयनको औपचारिक पत्र, दलित समूहबाट उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानूनबमोजिम अधिकारप्राप्त निकायले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित निस्सा पेश गर्नुपर्ने छ । 

यस्तै, अपांगता भएका वा अल्पसंख्यक समुदायबाट उम्मेदवारी दिने व्यक्तिले नेपाल सरकारको अधिकारप्राप्त निकायले दिएको अपांगताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र अल्पसंख्यक समुदायको व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानूनबमोजिम अधिकारप्राप्त निकायले दिएको अल्पसंख्यक समुदायको व्यक्ति भएको प्रमाािण्त हुने निस्सा बुझाउनुपर्ने आयोगले जनाएको छ । 
प्रस्तावक र समर्थकको नाम, सम्बन्धित प्रदेश सभाका सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचक मण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण पेश गर्नुपर्ने छ । 

आयोगले मतदाता नम्बर, घर संख्या, घर रहेको स्थान तथा जग्गाको विवरण खुलाइएको उम्मेदवारको सम्पत्ति विवरण, कुनै संघीय कानूनले अयोग्य नभएको भनी गरेको स्वघोषणा पत्र, निर्वाचन वा मनोनयनद्वारा पूर्ति गरिने राजनीतिक पदबाहेक सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने कुनै लाभको पदमा बहाल नरहेको भनी गरेको स्वःघोषणापत्र पनि बुझाउनुपर्ने बताएको छ । 

उम्मेदवारी दिँदा कुनै लाभको पद वा निर्वाचित पदमा बहालवाला पदाधिकारी भए सो पदबाट राजीनामा दिएको दर्ताको निस्सा, २०७९ सालको प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीबाट नाम फिर्ता लिएको आयोगको पत्रको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ । 

यसैगरी, राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा १२ बमोजिमको कुनै अयोग्यता नभएको स्वघोषणापत्र, उम्मेदवार आफैं वा निजको प्रतिनिधि, प्रस्तावक वा समर्थकबाट सही छाप गरिएको उम्मेदवारको मनोनयनपत्र, उम्मेदवारले प्रतिनिधि मुकरर गरी मनोनयन दर्ता गराउन चाहेको भए राष्ट्रिय सभा सदस्य निर्वाचन निर्देशिका, २०७६ को अनुसूची १५ बमोजिमको प्रतिनिधि मुकरर पत्र पनि बुझाउनुपर्ने आयोगले जनाएको छ । 

आयोगले दलको तर्फबाट उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न त्यस्तो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिको पदाधिकारीलाई तोकिएको पत्रको प्रतिलिपि र राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, नियमावली र निर्देशिकामा उल्लिखित अन्य प्रावधान र कार्यविधि पूरा गरेको हुनुपर्ने समेत जानकारी दिएको छ ।

टिप्पणीहरू