हत्याकाण्डका आधा दर्जन अभियुक्तको रिहाईपछि पीडित परिवार मर्माहत्

हत्याकाण्डका आधा दर्जन अभियुक्तको रिहाईपछि पीडित परिवार मर्माहत्
सुन्नुहोस्

–  टेकसिंह धामी

सर्वोच्च अदालतले अनेरास्ववियुका केन्द्रीय सदस्य चेतनदीप अयडीको हत्याकाण्डका छ जना अभियुक्तलाई साधारण तारेखमा छाडेको छ । बाजुराको त्रिवेणी नगरपालिकास्थित वडा नम्बर–७ का अयडीको हत्या प्रकरणका आरोपितलाई सर्वोच्चले छाडेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र अब्दुल अजिज मुसलमानको इजलासले अयडी हत्या प्रकरणको मुद्दामा हिजो उक्त आदेश दिएको हो । अभियुक्तहरू तत्कालीन नेपाली काँग्रेसका तर्फबाट निर्वाचित वडाध्यक्ष जुद्धबहादुर अयडी, चक्रबहादुर अयडी, विनोदबहादुर अयडी, भूपाल अयडी, रुपा चौधरी अयडी र रनसिंहबहादुर अयडीलाई न्यायाधीशद्वयको इजलासले साधारण तारेखमा छोड्न आदेश दिएको हो ।

सर्वोच्च स्रोतका अनुसार उक्त मुद्दा पुर्पक्षको निमित्त थुनामा नै राख्नुपर्ने अवस्था मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट देखिन नआएकोले थुनामा राख्ने गरी भएको जिल्ला र उच्च अदालतको आदेशसमेत बदर गर्दै उनीहरूलाई तारेखमा राखिएको हो ।

सर्वोच्चको आदेशले उनीहरु सबै आजै छुटेका छन् भने सोही मुद्दाका प्रतिवादी धनराज थापा, जंग भन्ने शेरबहादुर अयडी, खेमराज अयडी र सागर अयडीलाई भने सर्वोच्चले थुनामै राख्नुपर्ने आदेश गरेअनुरुप उनीहरु कारागारमा छन् ।

उक्त हत्याकाण्डमा जिल्ला अदालत बाजुरामा २४ जनाविरुद्ध मुद्दा दायर भएको थियो। तीमध्ये पक्राउ परेका सबैलाई जिल्ला अदालत बाजुरा र उच्च अदालत दीपायलले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

जिल्ला अदालत बाजुरा र उच्च अदालत दिपायलले घटनामा संलग्न देखिएका भन्दै पुर्पक्षका लागि थुनामा पठाएका अभियुक्तहरूलाई सर्वोच्चले साधारण तारेखमा छाडिदिएपछि पीडित पक्षले असन्तोष प्रकट गरेको छ । सर्वोच्च अदालतले दिएको आदेशप्रति मृतकका बुवा गगन अयडीले असन्तुष्टि व्यक्त गर्दै कानुनमाथि विश्वास गरेर न्यायको लडाइँ लडिरहेका बेला सर्वोच्च अदालतले दिएको आदेशले चिन्तित र भयभित बनाएको बताए ।

उनले आफ्नो छोराका दोस्रो पटक निधन भएको सुनाउँदै भने, ‘घरभित्रबाट तानेर मेरो छोराको क्रुर तरिकाले हत्या गरिएको थियो । त्योभन्दा ठूलो आज सर्वोच्च अदालतको कानुनको हत्या भएको छ । छोराको ज्यान त गएकै थियो आज न्याय पनि मरेको आभास भएको छ ।’

उनले आफ्नो छोरालाई क्रुर तरिकाले १४–१५ जनाको समूह मिलेर हत्या गरेको भिडिओ प्रमाण सर्वोच्च अदालतको इजलासमा देखाउँदासमेत न्यायाधीशले वेवास्ता गरेको गुनासो समेत गरेका छन् । सर्वोच्चको फैसलाले द्वन्द्व भड्काउने काम गरेको बताउँदै उनी अब हुने दुर्घटनाको जिम्मेवारी राज्यले लिनुपर्ने बताउँछन् ।

‘छोराको हत्या गर्ने बेलाको भिडियो क्लीप पेन ड्राइभमा राखेर हाम्रा वकिलमार्फत सर्वोच्चको इजलासमा न्यायाधिशलाई दिए तर उहाँहरुले हेर्न मान्नुभएन,’ गगनले भने, ‘प्रमाण पेश गर्ने अवसर समेत दिइएन। द्वन्द्व भड्काउने काम गरिएको छ । अब चुप लागेर बस्ने अवस्था छैन । अब हुने सम्भावित क्षतिको जिम्मा जिम्मेवारी राज्यले लिनुपर्छ ।’

२०७९ मंसिर ४ गते आम निर्वाचनका दिन बाजुराको नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा एमालेका तर्फबाट प्रतिनिधि बसेका अयडीलाई उनको घरमै गएर एक समूहले क्रूर तरिकाले हत्या गरेको थियो । त्यसबेलाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

अनेरास्ववियु आगो ओकल्दै, न्यायाधीशमाथि पनि आरोप

मृतक चेतन सदस्य रहेको अनेरास्ववियुले सर्वोच्चको आदेशप्रति असन्तुष्टी जनाउँदै आन्दोलन थालेको छ । अनेरास्ववियुले देशैभर जुलुससहितको विरोध प्रदर्शन गरेको जनाएको छ । अनेरास्ववियुले काँग्रेसले युवा र अदालतले न्याय मारेको दाबी गरेको छ । चेतन अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कमिटिका संयोजक थिए ।

टिप्पणीहरू