दिउँसो पाकेटमारी, राति पसल फोरेर मोबाइल चोरी

दिउँसो पाकेटमारी, राति पसल फोरेर मोबाइल चोरी
सुन्नुहोस्

काठमाडौँको पेप्सीकोलास्थित एक मोबाइल पसलबाट लाखौँको धनमाल चोरी भएको घटनामा संलग्न तीन जना समातिएका छन् । 

प्रहरीले टोखा बस्ने सिन्धुपाल्चोकका ३५ वर्षे विष्णु थापा र पेप्सिकोला बस्दै आएका सप्तरीका ३२ वर्षे रामानन्द मण्डल र काभ्रेका ३५ वर्षे क्रासाङ तामाङलाई चोरीको अभियोगमा पक्राउ गरेको हो । उनीहरुको संलग्नतामा गत मंसिर १४ गते राति पेप्सिकोलास्थित एक्टिभ मोबाइल पसलको छाना फोडेर भित्र प्रवेश गरी विभिन्न कम्पनीका २७ थान मोबाइल सेट तथा घडीसमेत गरी पाँच लाख ५२ हजार बराबरको धनमाल चोरी भएको प्रहरीले बताएको छ  । 

प्रहरीका अनुसार अनुसन्धानको क्रममा महाराजगञ्जस्थित सार्वजनिक यातायातमा सवार मानबहादुर भण्डारीको १८ हजार रुपैयाँ पाकेटमारी कार्यमा समेत उनीहरु संलग्न रहेको खुल्न आएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले हिजो उनीहरुलाई पेप्सिकोलाबाट चोरी गरिएका १४ थान मोबाईलसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको जनाइएको छ ।

टिप्पणीहरू