पार्टी विभाजनको यही हो प्रयोजन ?

देउवा र प्रचण्डसामु जब पोखियो रौद्ररूप

पार्टी विभाजनको यही हो प्रयोजन ?
सुन्नुहोस्

‘हाम्रो पार्टी हामीले नै फुटाइदियौं ! के त्यसो गरेको शेरबहादुरजी र प्रचण्डजीलाई पालैपालो प्रधानमन्त्री बन्नलाई मात्रै हो ?’ बैठकमा राजेन्द्र पाण्डे यसरी बम्किएपछि शेरबहादुर देउवाले हत्तपत्त भन्नुभयो, ‘होइन–होइन, माधवजी डेढ वर्ष त हुने नै हो नि !’

राष्ट्रियसभामा कांग्रेस एक्लैले १० सीट लिँदा माओवादी ६ र एकीकृत समाजवादी २ मा थन्किनुपर्ने स्थिति बनाउने कुरामा देउवा र प्रचण्डको बलियो हिसाब रहेको बताइन्छ । आइतबार बिहान धुम्बाराहीस्थित देउवा निवासमा अन्तिम छलफल हुँदा एकीकृत समाजवादीका नेताहरू देउवा र प्रचण्डसँग झोँक्काझोँक्की गर्दै थिए । माओवादीले पाएको सीटबाट कटाएर एउटा एकीकृत समाजवादीलाई दिने प्रस्ताव देउवाले राख्नुभयो । त्यो थियो, लुम्बिनीमा खुलातर्फ । यो कुरा सुन्नेबित्तिकै प्रचण्ड तात्नुभयो । ‘मैले रोल्पाका लागि तयार पारेको सीटमा तपाईंहरू किन चम्किनुहुन्छ ?’ उहाँले यति भनेपछि देउवाले ‘अर्को कुनै त होला नि’ भन्दा प्रचण्ड चुपचाप रहनुभयो । यसरी वामपन्थीलाई कैंची काट्ने वामपन्थी नै हुन्छन् भन्ने कुरा आइतबार बिहान देउवाको घरमा प्रष्टसँग देखिएको थियो ।

प्रचण्ड र देउवाबीच राष्ट्रियसभाका रिक्त २० सीटमध्ये निर्वाचन गर्नुपर्ने १९ मा १० कांग्रेस र बाँकी १० सीट प्रचण्डले भनेअनुसार व्यवस्थापन भएको थियो । प्रचण्डले मनोनीत हुने सदस्यमा जनमोर्चाकी दुर्गा पौडेल, एकीकृत समाजवादी र जसपालाई एक–एक सीट दिएर बाँकी सात सीट भन्दै हुनुहुन्थ्यो । तर, देउवाले एकीकृत समाजवादीको हकमा त्यस्तो नगर्न भनेपछि एउटा थप्न तयार हुनुभयो । यति हुँदासम्म कुन–कुन क्लष्टरको सीट भन्नेमा सहमति जुटिसकेको थिएन । पछि प्रचण्डले सुनाएको क्लष्टरमा जान भनियो । त्यतिबेलासम्म उहाँको पार्टीले उम्मेदवार छानेर नाम पनि घोषणा गरिसकिएको थियो । एकीकृत समाजवादीले बैठकपछि पनि बागमती प्रदेशको खुलाका लागि देउवासँग कुरा गरिरह्यो । उहाँले माधव नेपाललाई सफासफी जवाफ दिनुभयो, ‘मलाई गाह्रो छ यार, यो–यो कुरै नगर्नुस्...!’

अनि, माधव नेपाल आफ्नै पार्टीभित्र नेताहरूको गाली खान पुग्नुभयो । ‘यस्तो तालले तपाईं अर्को वर्ष प्रधानमन्त्री बन्नुहोला कि नहोला ?’ आइतबार दिउँसो आलोकनगर, मीनभवनस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा छिर्नेबित्तिकै उहाँलाई पार्टीका नेताहरूले यस्तो प्रश्न गरेका हुन् । माधवले भन्नुभयो, ‘बनिन्छ !’ तर, नेताहरूले पत्याएनन् र भने, ‘हेरौंला !’

यसरी एक वर्षपछि हुनुपर्ने प्रधानमन्त्री नै निश्चित नभएको इंगित गर्दै उपमहासचिव डा.विजय पौडेल सचिवालय बैठकबाट अरुभन्दा छिट्टै बाहिरिए । कारण थियो, राष्ट्रियसभा निर्वाचनमा भएको भागबण्डाका क्रममा पार्टी हेपिनु । डा.विजयलाई लागेको थियो, बागमतीबाट खुलातर्फ एक सीट आउला र त्यसमा आफ्नो दाबी पेश गरौँला । तर, त्यही प्रदेशमा दलिततर्फ एकजनाले उम्मेदवारी पाए, जसमा दोलखाका घनश्याम विश्वकर्मा (रिजाल) तोकिए । गठबन्धनभित्र पार्टी अध्यक्ष माधव नेपालले यथेष्ठ पहल नगरेको आरोप डा.विजयसहितका नेताहरूको थियो ।

‘तपाईंलाई अर्को वर्ष प्रधानमन्त्री बनाउलान् भन्ने लागेर दिए–दिएको लिएर आउनुभयो’, उनीहरूको भनाइ थियो, ‘हेर्दै जानुस् कमरेड, यही ताल हो भने तपाईंलाई प्रधानमन्त्री पनि बनाउँदैनन् ।’ माधवले आफूमात्र नभई उपाध्यक्षहरू राजेन्द्र पाण्डे, प्रमेश हमाल पनि बैठकमा गएको र जति लडाइँ गरे पनि देउवा र प्रचण्ड मिलेर पेलेको भन्नुभयो । ‘देउवाको पनि भर हुन्छ ?’ अर्का नेता कराए । सुनाए, ‘पोहोरचाहिँ घनेन्द्र बस्नेतलाई राष्ट्रियसभामा लैजाऔं भन्दा तिनै शेरबहादुर हैनन्, घनेन्द्रजी त मेरो साथी, सहपाठी, उहाँलाई अर्कोपालि भन्ने...!’ अहिले आएर घनेन्द्रलाई एक वर्षअघि नै दिएको बचन तोडेर कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाएको दृष्टान्त ती नेताले पेश गरे । 

एकीकृत समाजवादीले यसचोटि घनेन्द्रसहित बाँकेका अशोक कोइराला, काठमाडौंबाट सावित्रा भुसाल, सुदूरपश्चिमबाट गणेश बिकहरूलाई जसरी पनि राष्ट्रियसभा सदस्य बनाउने गरी कुरा अगाडि बढाएको थियो । त्यसमा प्रमेश हमाल, गंगालाल तुलाधर, डा.विजय पौडेलसहित एक दर्जन नेताको दाबी कायमै थियो । अन्तिममा एक दलित र एक महिला उम्मेदवार हात लागेपछि त्यसो हुनुको दोष माधवलाई दिन थालियो । खासमा कुरा अर्कै थियो । एकीकृत समाजवादीले रिक्त भएको आफ्ना तीन सदस्यमा एउटा गुमाउनुका पछाडि माओवादी र स्वयं डा.खिमलाल देवकोटा दोषी छन् । माओवादीले स्वतन्त्र सांसदमाथि कसैले दावी नगरौं भन्ने कुरा एक महिना अगाडिबाटै गर्न थालेको थियो । 

त्यसबीचमा डा.खिमलालले आफू एकीकृत समाजवादीको सांसद हुँ भनी संसद सचिवालयमा एउटा निवेदनमात्रै लेखेको भए पनि माओवादीले त्यसो भन्न पाउने थिएन । त्यसो गर्नका लागि पार्टी नेतृत्वले निरन्तर भनेको, तर उनले नमानेको बताइन्छ । फलतः त्यही कारण अहिले एक सीट गुमेको छ । पुस ५ को घटनापछि माओवादीको तर्फबाट राष्ट्रियसभा सदस्य रहेका रामबहादुर थापा (बादल) एमालेतिरै रहेका कारण माओवादीले उनलाई कारवाही गरेपछि माधव नेपालहरूले अर्को पार्टी बनाउनुअघि नै सो सांसद पद उहाँहरूको भागमा पारिएको थियो । र, स्वयं माधवले डा.खिमलाललाई उम्मेदवार तोक्नुभएको हो । चुनाव चिह्न पनि कलम नै थियो । उनले सांसद भएबापत पार्टीलाई तिर्नुपर्ने लेबी तिरिरहे । भित्रभित्रै माओवादी र कांग्रेससँग पनि सम्बन्ध राखिरहेका थिए । गठबन्धनमा मतभारका आधारमा सीटको भागबण्डा लगाइँदा माओवादीले खिमलालको सीट बादलबाट खालि भएका कारण आफ्नो दाबी गर्‍यो । कांग्रेसले स्वतन्त्र सांसद साझा हुन्छ भन्यो । 

सीट संख्या थोरै भएपछि चुनावमा भाग लिने कि नलिने भन्ने छलफल आइतबारको बैठकमा चलेको थियो । तर, दलित र महिलाका लागि आएको सीटलाई अस्वीकार गर्दा ती–ती समुदायमा पार्टीलाई राम्रो मानिँदैन, त्यसमाथि बागमती र कर्णाली प्रदेशका लागि प्राप्त सीट छोडेर ती प्रदेशमाथि पनि अन्याय गर्नुहुँदैन भन्दै चुनावमा भाग लिने कुरा भयो । 
 

टिप्पणीहरू