छोरी बलात्कार गरेका बाबुद्वारा छोराको हत्या, प्रहरीले यसरी लगायो पत्ता

छोरी बलात्कार गरेका बाबुद्वारा छोराको हत्या, प्रहरीले यसरी लगायो पत्ता
सुन्नुहोस्

आफ्नै छोराको हत्या गरेको आरोपमा सुर्खेतमा एक व्यक्ति पक्राउ परेका छन् । छोरीमाथि बलात्कार गरेको अभियोगसमेत लागेका उनलाई भारततर्फ भाग्न लागेका बेला आज बिहान प्रहरीले कैलालीबाट समातेको हो ।    

बिहान करिब १० बजेतिर टिकापुरबाट उनलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ । छोरीमाथि आफूले गरेको कर्तुतका विरुद्ध छोरा उभिएपछि उनले हत्या गरेको स्थानीयले बताएका छन् । 

के हो घटना ? 

गत मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पश्चिम सुर्खेतमा एक युवकको लाश भेटिएको सूचना आयो ।  लगत्तै तालिमप्राप्त कुकुरसहित प्रहरीको टोली घटनास्थल पुग्दा लाशको छेउमै युवतीसमेत घाइते अवस्थामा भेटिइन् । शव हेर्दा बिभत्स हत्या भएको अनुमान लगाउन प्रहरीलाई कठिनाई भएन, किनकि मृतकको शरीरभरी धारिलो हतियारले छिया-छिया पारिएको थियो ।

प्रहरीले घटनास्थल वरपर चेकजाँच गर्दा एउटा बञ्चरो पनि फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी योगेन्द्रसिंह थापाले जानकारी दिए । एसपी थापाले भने, 'मृतकको शरीरभरी हतियारले प्रहार गरिएको थियो । नजिकै एउटा बाख्रा खोर रहेछ । त्यसको पछाडि बञ्चरो फेला पारेका छौ, त्यसैले हत्या गरिएको अनुमान गरिएको छ ।' 

घटना गम्भीर देखिएपछि प्रहरीले मृत युवकको नाम र परिवारबारे खोतल्न थाल्यो । अनुसन्धान अगाडि बढाउँदै जाँदा चार महिनाअघि जिल्ला प्रहरी कार्यालयमा आइपुगेको एउटा बलात्कारको जाहेरीसँग यो घटना सम्बन्धित रहेको प्रहरीले पत्ता लगायो । 

प्रहरीका अनुसार युवकको हत्या उनका बाबुले गरेका हुन् । एसपी थापाले थपे, '४ महिनाअघि हाम्रोमा एउटा बलात्कारको उजुरी आएको थियो । दाजु-बहिनीले आफ्नै बाबुले बलात्कार गरेको भन्दै जाहेरी दिएका थिए । यो घटनाका पनि त्यही घटनासँग जोडिन पुगेको छ ।' 

बाबु मजदुरीका लागि भारत जाने-आउने गर्थे । गत असोजमा दशैँ मनाउन उनी घर आएका थिए । त्यतिबेला उनले आफ्नै किशोरी छोरीमाथि गिद्देदृष्टि लगाए । बाबुले बलात्कार गरेको घिनलाग्दो घटना किशोरीले सहन सकिनन् । विक्षिप्त भएकी उनले सबै कुरा दाईलाई सुनाइन् । 

बाबुले बलात्कार गरेको कुरा सुनेर छांगाबाट खसेजस्तो भएका उनले बहिनीको मेडिकल जाँच गराए । त्यसपछि गत कात्तिकमा बहिनीलाई लिएर जिल्ला प्रहरी कार्यालय सुर्खेत पुगेका उनले बाबुविरुद्ध बलात्कारको कसूरमा जाहेरी लेखाए । त्यतिन्जेलसम्म बाबु भने भारत फर्किसकेका थिए । 

करिब ५ महिनापछि अघिल्लो हप्ता घर आएका उनले आफूविरुद्ध दाजुबहिनीले प्रहरीमा उजुरी दिएको थाहा पाए । त्यसपछि उनले हत्याको योजना बनाएको प्रहरीको बुझाई छ । उनको योजना छोरा-छोरीकै हत्या गर्ने थियो । भाग्यवश ! भागेर बाँच्न सफल भएकी छोरी घाइते भइन् । 

'बाबु अघिल्लो हप्ता घर आएका रहेछन् । मलाई दाजुबहिनी मिलेर जेल कोच्न लागेका हौ भन्दै आफ्नै छोराछोरीमाथि आक्रमण गरेको जस्तो छ । किशोरीको बयानपछि थाहा हुन्छ सबै', एसपी थापाले भने । 

अहिले किशोरीको उपचार भइरहेको छ । आज बिहानमात्र पक्राउ परेका बाबुलाई सुर्खेत लगिँदैछ । एसपी थापाको समन्वयमा प्रहरी प्रदेश कार्यालयबाट प्रहरी निरीक्षक बुद्धि सुवेदी, कर्णाली प्रदेश प्रहरी कार्यालयबाट सई नारायण शर्मा र इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक विनोद सुवेदीले घटनाको थप अनुसन्धान गरिरहेका छन्।

अनुसन्धानमा बाधा पुग्ने भन्दै अहिले युवक र बाबुको नाम सार्वजनिक गरिएको छैन । अनुसन्धानको निष्कर्ष आएपछि पत्रकार सम्मेलन गरेर सबैकुरा सार्वजनिक गर्ने एसपी थापाले बताए ।

टिप्पणीहरू