पुलिस लाएपछि बल्ल आयो पानी

पुलिस लाएपछि बल्ल आयो पानी
सुन्नुहोस्

मेलम्चीको पानी काठमाडौं त आयो, तर पुलिस लगाएर जबरजस्ती ! आइतबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले धाराबाटै पिएर मेलम्चीको पानीलाई काठमाडौंमा स्वागत गर्नुभयो ।

तर, त्यो पनि सानो दुःखले आइपुगेको थिएन । पहिल्यै इटालियन कम्पनी सिएमसी भाग्दा स्थानीय सप्लायरका करोडौं रकमको भुक्तानी बेपत्ता छ । त्यसपछि परियोजना सम्पन्न गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो आयो ।

त्यसले उक्त परियोजनाको इन्टेक र सुरुङ निर्माण गरे पनि भुक्तानी विवाद जारी छ । यस्तो स्थितिमा लक्ष्यित समयभित्र काठमाडौंमा मेलम्चीको पानी भित्र्याउन समस्या भयो । त्यसैले प्रहरी र स्थानीय प्रशासनलाई परिचालन गर्दै ड्याममा पानी हाल्ने काम सकेर आइतबार माघे संक्रान्तिका दिन प्रधानमन्त्रीले सिंहदरबारमा त्यहाँबाट आएको पानी पिउनुभएको छ ।

यससँगै पाँचौं उद्घाटन सम्पन्न भयो । सन् २०२१, जुन १५ को बाढीले मेलम्चीका ६ जना चिनियाँ कर्मचारी बगाएकोमा एक जनाको शव भेटिएको छैन । आइतबारको दिन जसरी पनि पानी झारिदिन परराष्ट्रका सहसचिव अमृत राई र सचिव सेवा लम्सालले गत हप्ता पालैपालो चिनियाँ राजदूतलाई बोलाएर आग्रह गरेबमोजिम उधारोमै प्रधानमन्त्रीको पानी पिउने सदिच्छा पूरा गर्न उत्तरी मित्रराष्ट्र तयार भएको बताइन्छ ।

बीचमा चिनियाँ कम्पनीको ५० प्रतिशत भुक्तानी दिइएको थियो । यसो गर्दा पनि त्यसमा स्थानीय सप्लायरको भुक्तानी हुन सकेको थिएन । यस्तै–यस्तै तानावानाबीच सिनो हाइड्रो २५–२६ करोडको दाबीसहित अदालत गयो ।

अदालतले मेलमिलापबाट छिनोफानो लगाउन आदेश दियो । त्यसमा ९ करोड दिने सहमति भयो । तर, त्यो पैसा पनि बढी भयो भन्दै मेलम्ची खानेपानी आयोजना उच्च अदालत गएको छ । यसपछि समयमा परियोजना सम्पन्न भई काठमाडौंमा पानी आपूर्ति हुने सम्भावना क्षिण हुँदै गयो । अन्ततः प्रहरी परिचालन गरी पानी ल्याइएको छ । 

चिनियाँ पक्षको भनाइ छ, ‘हाम्रा मान्छेको हराएको शव भेटिएको छैन । सोको क्षतिपूर्ति खै ! पैसा पनि ५० प्रतिशत भुक्तानी भएको छैन ।’ अहिले आएको पानीले कम्तीमा ६ महिना काठमाडौंको आवश्यकतालाई सहज पार्ने बताइन्छ । 

टिप्पणीहरू