प्रधानाध्यापकमाथि भ्रष्टाचारको आरोप

प्रधानाध्यापकमाथि भ्रष्टाचारको आरोप

‘भन्नेलाई भन्दा सुन्नेलाई लाज !’ को अवस्था अहिले काभ्रेपलाञ्चोक जिल्लाको एउटा विद्यालयमा देखिएको छ । विद्याको मन्दिरमा भ्रष्टाचार गरेको आरोप यतिबेला सम्बन्धित विद्यालयको प्रधानअध्यापकमाथि लागेको छ । दाताले विद्यार्थीलाई गरेको सहयोगमा समेत उनले कमिसन खाएको स्थानीयले बताएका छन् । 

भुम्लु गाउँपालिका वडा नम्बर २, सिम्थलीस्थित सेतीदेवी आधारभूत विद्यालयलाई ईन्द्रेणी नामक संस्थाले सहयोग उपलब्ध गराउँदै आएको छ । काठमाडौंको सुन्दरीजलमा कार्यालय रहेको संस्थाले विभिन्न शीर्षकमा सहयोग गरेको बताइन्छ ।  

विद्यार्थीको पठनपाठनको निम्ति गरिएको सहयोगमा विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर खड्का (अर्जुन) को मनोमानी रहेको आरोप लागेको छ । उनले भुक्तानी रकमभन्दा बढीको बिल बनाएर सहयोग अपचलन गरेको मुख्य आरोप हो । 

संस्थाबाट प्राप्त सहयोग उनले तलमाथि गरेको स्थानीय बताउँछन् । विद्यालय र ईन्द्रेणी संस्थालाई उनले कमिसन खाने भाँडो बनाएको भन्न थालिएको छ । संस्थाले सिम्थलीका पाँच वटा विद्यालयमा सहयोग उपलब्ध गराउँदै आएको छ । 

तीमध्ये सेतीदेवी आधारभूत विद्यालय एक हो । ७ कक्षासम्म पढाइ हुने विद्यालयमा ८३ जना विद्यार्थी छन् । संस्थाले शिक्षक, लाइब्रेरी, स्टाफ नर्स, किताब, कापीलगायत अध्ययनका निम्ति आवश्यक पर्ने सामानहरु उपलब्ध गराउँदछ । 

विद्यार्थीको खुट्टामा जुत्तादेखि त्यो राख्ने र्याकसम्मको व्यवस्थापन संस्थाले नै गरिदिएको छ । भौतिक संरचना निर्माणका लागि आवश्यक बजेट पनि संस्थाले नै व्यवस्था गरिदिन्छ । हाल विद्यालयमा ‘क्यान्टिन’ निर्माणको योजना पनि परेको छ । 

तर, रकमको चुरोकुरो नमिलेपछि विद्यालयमा रडाको मच्चिएको बताइन्छ । योजना परेको लामो समय बितिसक्दासमेत काम अघि बढ्न सकेको छैन । प्रधानाध्यापक खड्काले धेरै रकमको स्टमेट निकाल्न दबाब दिएपछि काम रोकिएको विद्यालय व्यवस्थापन समितिका सदस्य मिलन खड्का बताउँछन् । 

सिकर्मीसमेत रहेका उनले विद्यालयको फर्निचर निर्माणदेखि अन्य थुप्रै काम गरिसकेका छन् । संस्थाले ‘क्यान्टिन’ निर्माणका लागि स्टमेट निकाल्ने जिम्मा उनलाई नै दिएको थियो । शुरुवातदेखि नै विद्यालयमा काम गर्दै आएका उनले प्रधानाध्यापक खड्काले एकदेखि दुई लाख रुपैयाँ बढी राखेर लागत अनुमान निकाल्न दबाब दिएको दाबी गरेका छन् । 

‘हेडमास्टरले मलाईं कान्छा क्यान्टिनको स्टिमेट निकाल्दा एक–दुई लाख रुपैयाँ बढी निकाल है भन्नुभएको थियो । मैले सिँधै म बनाउँदिन भनेँ । यो कुरा मैले संस्थालाई जानकारी गराएको थिइनँ । संस्थाका पदाधिकारीले चाँहि मलाई काम अघि बढाउनु भनेका थिए । मैले आएर तपाईंहरु नै छलफल गर्नुस् अनि मात्र काम अघि बढ्छ भनेँ’, उनले घटनाक्रमबारे बेलिबिस्तार लगाए । 

त्यसपछि संस्थाका पदाधिकारीहरु वडा कार्यालय पुगे । वडाका प्रतिनिधिसमेत राखेर गत माघ ५ गते निर्माण समिति गठन गरियो । वडाध्यक्ष सुजन भण्डारीले त्यतिबेला वडाको ईञ्जिनियरिङ स्टमेटबिना काम नगर्न आदेश दिए । 

समिति गठन भएपछि काम अघि बढ्छ भन्ने सोचेका स्थानीय निराश बनेका छन् । कामको साटो समिति गठनको विषयलाई लिएर नै ‘टसल’ भइरहेको छ । पुरानो समिति भताभुंग पारेर नयाँ समिति बनाइएको छ, तर अधिकांशलाई जानकारी छैन । 

यो विषयमा अहिले विवाद चलिरहेको छ । पुरानो समितिको संयोजकमा मिलन खड्का, वडासदस्य विनय भण्डारी, संस्थाका पदाधिकारी सीताराम थापा, विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र भण्डारी थिए । 

तर, त्यसको भोलिपल्ट कसैलाई सुईंको नदिई दिपेन्द्र र प्रेमबहादुरको जोडीले नयाँ समिति बनाएका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई नै संयोजक बनाउनुपर्ने वडाको कानुन भएको भन्दै पदाधिकारी फेरिएको हो । 

समितिमा न वडाका प्रतिनिधि छन् न संस्थाका पदाधिकारी । मिलनका अनुसार उनलाई पनि समिति गठनको विषयमा कुनै जानकारी थिएन । दुई जनाले नयाँ समिति गठन गरेपछि आफूलाई फोन गरेर बोलाएको र माइन्युटमा हस्ताक्षर गर्न लगाएको उनी बताउँछन् । 

साधारण लेखपढ मात्र गरेका उनले माइन्युटमा उल्लेखित विवरण अध्ययन नगरी हस्ताक्षर गरेको सुनाए । हस्ताक्षरपछि मात्र नयाँ समिति गठनको विषय थाहा पाएको उनको भनाइ छ । त्यसपछि वडाध्यक्षलाई फोन गरेका उनले विद्यालय व्यवस्थापन समितिका सदस्यलाई संयोजक बनाउन नमिल्ने जवाफ पाए । हाल यो विषयले उग्र रुप लिएको छ । ‘क्यान्टिन’ बनाउने योजना अलपत्र बनेको विषय अध्यक्षमा पुगेर रोकिएको छ ।

‘ईन्द्रेणी संस्थाले यो विद्यालयलाई निकै सहयोग गरेको छ । विद्यार्थीलाई ब्याग, जुत्ता, खाजा, शिक्षक सबै संस्थाबाटै मिलाइएको छ । अहिले स्टाफ नर्स पनि राखिदिँदै हुनुहुन्छ । संस्थाले गरेको काम तारिफयोग्य छ । तर, प्रधानाध्यापकले विद्यार्थीको नाममा आएको थोरै सहयोगसमेत खाइदिँदा भोलि सहयोग नै नआउन सक्छ । प्रधानाध्यापकको कारणले हाम्रा विद्यार्थीलाई असर पर्छ’, उनले भने । 

विद्यालयमा अन्य पनि थुप्रै घोटाला हुने गरेको मिलनको जिकिर छ । खर्चभन्दा बढीको बिल बनाएर मिलाउने गरिएको आरोप प्रधानाध्यापक खड्कामाथि स्थानीयले पनि लगाइरहेका छन् । उनका अनुसार विद्यार्थीहरुलाई जुत्ताको र्याक बनाउँदा उनले पाँच हजार रुपैयाँ तलमाथि गरिएको थियो ।

र्याक बनाउन १५ हजार रुपैयाँ लागेकोमा २० हजार रुपैयाँको बिल बनाइएको स्रोतको दाबी छ । त्यस्तै, विद्यालय वरपर जालीको घेराबार लगाउँदा पनि भुक्तानीभन्दा बढीको बिल बनाएर विद्यालयको खाताबाट पैसा निकालेको उनी बताउँछन् । 

भन्छन्, ‘जुत्ता र्याक बनाउन १५ हजार लागेको थियो । उहाँले २० हजार रुपैयाँको बिल बनाउन लगाउनुभयो । विद्यालयमा घेराजाली लगाउने भनिएको थियो । यसका लागिचाँहि विद्यालयकै खाताबाट रकम निकालिएको थियो । २४ जनालाई सात सयको दरले काम लगाए । उहाँले आठ सयको बिल बनाउनुभएछ । विद्यालयमा यस्ता स–साना विषय त धेरै छन् ।’

सबै झुठ हो ः प्रधानाध्यापक

सेतीदेवीका प्रधानाध्यापक खड्काले आफूमाथि लागेको सम्पूर्ण आरोप झुठ्ठा भएको बताएका छन् । समितिको संयोजक बन्न नपाएपछि त्यस्तो आरोप लगाइएको उनको तर्क छ । मिलनले नै ‘काम अरुलाई नदिनुस्, बरु तपाईंलाई कमिसन राख्नुस्’ भनेको उनको दाबी छ । 

‘ममाथि लगाएका सबै आरोप झुठ्ठा हुन् । उहाँले आफू संयोजक बन्न नपाएकाले त्यसो गरेको पनि हुनसक्छ । उहाँले भन्नुभएजस्तो मैले केही गरेको छैन । बरु उहाँले नै मलाई त्यो क्यान्टिनको काम कसैलाई नदिनुस्, आफूलाई कमिसन राख्नुस् भन्नुभएको थियो । मैले कहाँ त्यस्तो हुन्छ भनेँ । अहिले ममाथि नभएको आरोप लगाउँदै हुनुहुन्छ’, उनले भने ।

मिलनले काम पनि आधा मात्रै गरेर बीचमै छाड्ने गरेका उनी बताउँछन् । वडाले विद्यालय व्यवस्थापन समितिका सदस्यलाई संयोजक बनाउन नमिल्ने भनेकाले हेरफेर गरिएको प्रधानाध्यापक खड्काको जिकिर छ । 

मिलनलाई पनि सदस्यमा राखिएको छ । यता, संस्थाका अध्यक्ष रामहरी खड्काले संयोजककै विषयमा विवाद भइरहेकाले पैसा नपठाएको बताए । विद्यालयलाई बजेट पठाउन ठिक्क पारेपनि विवादका कारण पठाउन नसकिएको उनको भनाइ छ । 

‘हाम्रो संस्थाले सो स्थानका विभिन्न विद्यालयलाई सहयोग गर्दै आएको छ । त्यो विद्यालयमा खाजाका लागि हामीले नै सपोर्ट गरेका छौं । विद्यार्थीलाई खाजा खाने ठाउँको समस्या देखेपछि क्यान्टिन बनाउने निर्णय गर्यौं । १० लाख रुपैयाँ बजेट छुट्याएका छौं’, उनले भने, ‘तर, हामीले दिएका छैनौं । उहाँहरुको विवाद नै टुंगिदैन । स्थानीय सरकारको अगुवाईमा निर्माण समिति गठनका लागि भनेका थियौं । तर, संयोजकको विवाद नै किनारा लाग्न सकेको छैन ।’

टिप्पणीहरू