बालिकाहरुलाई यौनधन्दामा लगाउने महिलाविरुद्ध मुद्दा दर्ताको तयारी

बालिकाहरुलाई यौनधन्दामा लगाउने महिलाविरुद्ध मुद्दा दर्ताको तयारी

क्याफे तथा गेष्ट हाउसमा वेटरको काम लगाइदिने भन्दै बालिकाहरुलाई जबर्जस्ति यौनधन्दामा लगाउने एक महिलालाई प्रहरीले समातेको छ । 

धनकुटाको छथर जोरपाटी गाउँपालिका–१ घर भई हाल दोलखाको भिमेश्वर नगरपालिका–९ बस्ने ३६ वर्षकी आशा लामा भन्ने लालमाया तामाङलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले जडीबुटीबाट नियन्त्रणमा लिएको हो । 

मानव बेचबिखन तथा ओसारपसार गरेको अभियोगअन्तर्गत पक्राउ परेकी हुन् । आर्थिक अवस्था कमजोर भएका ग्रामीण भेगका बालिकालाई आफ्नो क्याफे र गेष्ट हाउसमा काम लगाइदिने प्रलोभनमा पारेर ललाईफकाई वेश्यावृत्तिमा लगाउने गरेको उनीमाथि आरोप छ । तामाङले जडीबुटीस्थित टिमुरे क्याफे र चरिकोट गेष्ट हाउस सञ्चालन गरी नाबालिकाहरुलाई प्रलोभनमा पारेर यौनजन्य गतिविधिमा लगाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

तामाङमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थपको अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू