गाउँपालिकाको प्रशासनिक भवन निर्माणमा भ्रष्टाचारको गन्ध

गाउँपालिकाको प्रशासनिक भवन निर्माणमा भ्रष्टाचारको गन्ध

भोजपुरको साल्पासिलिछो गाउँपालिकाको भवन निर्माणमा चरम आर्थिक अनियमितता भएको उल्लेख गर्दै स्थानीयले विरोध जनाएका छन् । सभाहल र प्रशासनिक प्रयोजनका लागि निर्माण गर्न लागिएको भवनमा एक करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको उनीहरुको आरोप छ । 

गत आर्थिक वर्ष २०७९–८० मा गाउँपालिकाले ६० लाख रपैयाँको लागतमा ट्रष्ट सभाहलसहितको तीन तले भवन निर्माणको निर्णय गरेको थियो । त्यसका लागि स्थानीय डिचेन्द्र राईको अध्यक्षतामा उपभोक्ता समिति गठन गरियो । 

समितिको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) अनुसार भवन निर्माणको काम अघि बढाइएको बताइन्छ । उक्त कार्य भइरहँदा गाउँपालिकाले तीन तलाबाट पाँच तलाको भवन बनाउने निर्णय गर्दै त्यसका लागि ८० लाख रुपैयाँ बजेट थप गर्ने जनाइयो । 

गाउँपालिका अध्यक्ष दौलथकुमार राई र प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले गुपचुपमा बोलपत्र आह्वान गराएर आफू निकटस्थ कन्स्ट्रक्सन कम्पनीलाई टेण्डर हाल्न लगाएको स्थानीयको बुझाई छ । 

स्रोतका अनुसार आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्नेगरी एक करोडसमेत थपेर दुई करोड ४० लाख रुपैयाँको बोलपत्र प्रकाशन गरिएको थियो । तीन कन्स्ट्रक्सनमध्ये भिजन रियाना कन्स्ट्रक्सन र मिसन रियाना कन्स्ट्रक्सनले लागतको ५ प्रतिशत ‘बिलो’ अर्थात् कम रकममा ठेक्का पाएका छन् । 

समितिले धमाधम काम गरिरहेको बेलामा दुई तला थप्ने भन्दै ८० लाख र पछि एक करोड गरेर दुई करोड ४० लाख रुपैयाँको टेण्डर गरेपछि स्थानीय आक्रान्त बनेका छन् । यता, उपभोक्ता समितिले पनि आपत्ति जनाएको छ । 

ठेकेदार कम्पनीसँगको मिलेमतोमा पाँच तलाको भवन बनाउन लागिएको स्थानीयको आरोप छ । गाउँपालिकाले ठेकेदार कम्पनीलाई हतारहतार ४० लाख रुपैयाँ भुक्तानीसमेत गरिसकेको स्रोतको दाबी छ । 

स्थानीयको चर्को विरोधपछि ठेकेदार कम्पनी आफैं पछि हट्न खोजेको बताइन्छ । ठेकेदार कम्पनीले भुक्तानी भएको रकम फिर्ता गर्ने अडान लिएको छ भने गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत ती कम्पनीका सञ्चालकलाई मनाउन लागेको स्थानीयको बुझाई छ । यसअघिको रकम फिर्ता नगर्न र त्यसको सट्टा अर्को ठेक्का दिने प्रस्ताव राखेको गाईंगुईं सुनेपछि स्थानीय आक्रोशित भएका हुन् । 

‘मिलेमतोमा हतारहतार सम्झौता गरेर तीन तलाको संरचनामा पाँच तला थप गर्ने निर्णय गरियो । भुक्तानी पनि दिइयो, सबैतिरबाट विरोध भएपछि ठेकेदार कम्पनी पछि हटेको छ । तर, आर्थिक लाभ लिइसकेका अध्यक्ष र प्रशासकीय अधिकृत भने मिलाउनतिर लागेका छन् । दुई तलाको अर्को भवन बनाएर कुरा मिलाउन खोजिएको छ’, स्रोतले भन्यो ।
 

टिप्पणीहरू