दुईमा एक नै छान्न नसक्नेको दुःख

दुईमा एक नै छान्न नसक्नेको दुःख
सुन्नुहोस्

कुनै राजनीतिक दलको उम्मेदवारका रुपमा चुनाव जितेर जनप्रतिनिधि हुँदैमा सधैंभरि दलको दास भइरहनुपर्दैन भन्ने जबरजस्त सन्देश दिएका छन्, राष्ट्रियसभा निर्वाचनका मतदाताले ।

जित्न त सत्तारुढ गठबन्धनले प्रदेश १ मा एउटाबाहेक सबै उम्मेदवार जित्यो । तर, चुनाव नहारे पनि उनीहरूले दावी गरेको संख्याअनुसार सबैतिर जस्ताको तस्तै मत देखिएन । मतदाताका रुपमा स्वतन्त्र भइसकेपछि त्यहाँ विवेकको प्रयोग पनि हुन्छ, जुन यसपटक भएको छ । एमाले भएर पार्टीले भन्यो भन्दैमा राप्रपालाई भोट हाल्नुपर्छ भन्ने छैन भन्ने कुरा कोशी प्रदेशका जनप्रतिनिधिले विवेक पुर्‍याउँदा त्यहाँबाट राप्रपाका उद्धव पौडेलले जित्न सकेनन् । अघिल्लो स्थानीय निर्वाचनमा पनि भनियो, ‘हाम्रो यति कार्यकर्ता छन् । फलाना–फलाना पार्टी मिलेर फलानालाई भोट हाल्नुपर्छ ।’ तर, यसपटकबाट त्यस्तो मान्यता त्यति बलियो देखिएन । त्यसैले कोशीमा जस्तो कर्णालीमा पनि नौ–दश भोट तलमाथि भयो ।

अर्कातिर, राष्ट्रियसभा जे उद्देश्यले बनाइएको हो, जस्तो विधायकी अभ्यास राष्ट्रियसभामा हुनुपर्ने हो, त्यसले बल पाएको छैन । तल्लो सदन (प्रतिनिधिसभा) मा निर्वाचित सांसदहरूले आफ्नो क्षेत्रमा विभिन्नखालका कामहरू गर्न सक्छन् । तर, राष्ट्रियसभामा निर्वाचित सांसद राष्ट्रको हुन्छ । त्यसकारण तल्लो सदनलाई नियन्त्रण गर्न सक्छन् भन्ने मान्यता जहाँसुकै देखिएको छ । प्रतिनिधिसभामा चुनिन वा जनताको बीचमा भिजेर आउन नसक्नेलाई लैजाने ठाउँ राष्ट्रियसभा हो । प्रतिनिधिसभा नहुँदा पनि जीवित रहने, कहिल्यै रिक्त नहुने स्थायी सदनका रुपमा त्यसलाई लिइएको छ । तर, त्यसको तिरस्कार कसरी भयो भने, एकै वर्षअगाडिमात्रै जनताले अनुमोदन नगरिदिएका कृष्ण सिटौलाहरूलाई जबरजस्त ल्याइयो । तसर्थ, राष्ट्रियसभाले जे माग्छ, त्योअनुसारको उम्मेदवारी वा प्रतिनिधित्व हुन पाएन ।

अर्कातिर, १२–१३ जनाले मतदान बहिष्कार गरेको देखियो । आममतदाताले भाग लिने निर्वाचनमा त त्यस्तो घटना प्रशस्तै हुन्छन् । जनताबाट निर्वाचित भइसकेको व्यक्तिले समेत मतदानमा भोट नहाल्नु भनेको चाहिँ मतदाताको अधिकार मतदाताबाटै कुण्ठित गरिनु हो । मतदान गर्नु मतदाताको परम् कर्तव्य हो । ती मान्छेले भोलि आमजनतालाई भोट हाल भनेर आह्वान गर्ने नैतिक हक कसरी राख्छन् ? त्यस्तो जनप्रतिनिधिमाथि त्यतिबेला ‘तिमी आफूचाहिँ भोट हाल्न नजाने, तिमीले भन्दा हामीले भोट हाल्नुपर्ने ?’ भन्ने ठाउँ रह्यो ।
अनि, जनताले चुनेर पठाएका जनप्रतिनिधि नै कति होस्ल्याङे हुन्छन् भन्ने राष्ट्रियसभा चुनावमा देखियो । जम्मा दुई उम्मेद्वार छन्, मतपत्रमा दुई चुनाव चिह्न छ । तर, त्यसमा पनि मत बदर !

त्यसमाथि देशका प्रवुद्धवर्गसमेतले राष्ट्रियसभा निर्वाचनलाई संसदभित्र ह्वीप लागेर हुने चुनावजस्तो ठानिदिए । कतिपय समाचारदाताले ‘फ्लोर क्रस’ भनेर लेखे । यो मतदानका निम्ति मतदाता स्वतन्त्र हुने निर्वाचन थियो । यदि कसैले कुनै उम्मेदवारलाई भोट हालेको वा नहालेको कुराको गोपनीयता खोलिएको भए त्यो मत बदर हुने थियो । यसले फ्लोर क्रस ग¥यो, यसलाई हैन, त्यसलाई मतदान ग¥यो भन्दै दावीका साथ समाचार लेख्ने पत्रकारहरूले राष्ट्रियसभा चुनाव नै बुझेका रहेनछन् भन्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया एउटा जमघटमा चुड्की बजाउँदै थिए । जब पत्रकार नै भ्रममा रहेछन् भने, दलका नेताहरू सद्दे हुने कुरै भएन । जस्तो, राप्रपाका कतिपय नेताले, ‘एमालेका मान्छेले हामीलाई भोट हालेनन् ।’ भनिरहँदा माओवादीले ‘कांग्रेसका मान्छेले हामीलाई भोट हालेनन्’ भनेका छन् ।

टिप्पणीहरू