आमसञ्चारको पुनः संरचनामा नेपाल टेलिभिजन र रेडियो नेपाल पनि समेटिँदै

सुन्नुहोस्

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आमसञ्चार क्षेत्रको पुनः संरचना गर्न खोजिरहेको बताउनुभएको छ । नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले उक्त धारणा राख्नुभएको हो । 

आमसञ्चार क्षेत्रको पुनः संरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानूनी व्यवस्थाका बारेमा सुझाव दिन आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरी सो समितिको प्रतिवेदनलाई मुख्य आधार बनाइ नेपाल मिडिया काउन्सिल विधेयक र आम सञ्चार विधेयक तयार गरिएको बताउनुभयो ।

आम सञ्चार नीति, २०७३ र संघीय संरचना तथा अभ्यासबाट विकसित परिवेशअनुसार प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी आमसञ्चारको क्षेत्रमा नीति र कानून निर्माणमा जोड दिइको उहाँले जानकारी दिनुभएको छ ।

उहाँले नेपाल टेलिभिजनसहित सार्वजनिक प्रशारण क्षेत्रको पुनः संरचना गर्न खोजिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रशारणको रुपमा विकास गर्न सार्वजनिक सेवा प्रशारण विधेयकमाथि प्रतिनिधि सभाको विषयगत समितिमा छलफल भइरहेको छ ।’

मन्त्री शर्माले सूचना प्रविधिको विकास र आम दर्शकको बदलिँदो शैलीलाई ध्यान दिएर हातहातमै टेलिभिजन हेर्ने व्यवस्था नगरे अब टेलिभिजनको पहुँच बिस्तार गर्न कठिन हुनेतर्फ संकेत गर्नुभयो ।

टिप्पणीहरू