काठमाडौंका क्यासिनोमा अनलाइन जुवा,भारतीय गिरोह मस्त

काठमाडौंका क्यासिनोमा अनलाइन जुवा,भारतीय गिरोह मस्त

नेपालमा अनलाइन सट्टेबाजी प्रतिबन्धित छ । मुलुकबाट विदेशी मुद्रालाई बाहिर जान नदिन र अर्थतन्त्र जोगाउन सरकारले अनलाइन सट्टेबाजीलाई ‘अवैध’ घोषणा गरेको छ । तर पनि लुकीछिपी अनलाइन सट्टेबाजी जारी छ । 

जिल्ला प्रहरी परिसर, काठमाडौंले अनलाइन सट्टेबाजी खेलाएको आरोपमा गए राति भारतीय गिरोहलाई समातेपछि उक्त विषय सतहमा आएको छ । 

काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्ण परिसरमा सञ्चालित क्यासिनो प्यालेसबाट अनलाइन सट्टेबाजीको आरोपमा गएराति झण्डै एक दर्जन पक्राउ परेका छन् । त्यसमध्ये तीन जनामाथि मुद्दा चलाइने परिसरले जनाएको छ । ती तीनै जना भारतीय रहेको परिसरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसीले बताए । 

उनका अनुसार पक्राउ परेकाको साथबाट विदेशी मुद्रासमेत फेला परेको छ । उनी भन्छन्, ‘पक्राउ परेकाको साथबाट युरो, डलरलगायत झण्डै एक करोड रुपैयाँ बराबर बरामद भएको छ । उनीहरुमाथि विदेशी विनिमय ऐनविरुद्धको कसूर र अनलाइन सट्टेबाजीमा छानबिन हुन्छ ।’

प्रहरीले गएराति ८ बजे क्यासिनोमा छापा मारेको थियो । रातभर ‘अपरेसन’ चलेको स्रोत बताउँछ । छापा मार्नुअघि नै सञ्चालक विनयकुमार शाह भने सुइँको पाएर फरार भैसकेका थिए । स्रोतका अनुसार क्यासिनो सञ्चालन गर्नेमध्ये शाहबाहेक अरु सबै भारत गोवाका हुन् । अनलाइन क्यासिनोको मुख्यालय गोवामा रहेको बताइन्छ । 

तरुण खट्टर,रिसव पावा,गुलाब सिंह, विनयकुुमारको समूहले भारतसँगै दुबई र नेपालमा सँगसँगै अनलाइन सट्टेबाजी चलाउँदै आएको थियो । उनीहरुले नेपालमा सट्टेबाजी चलाउन थालेको पाँच वर्ष भइसकेको बताइन्छ । विदेशबाट कालो धन ल्याएर क्यासिनोको नाममा नेपालमा सेतो बनाइएको स्रोतको दाबी छ । उक्त क्यासिनोको व्यवस्थापन गोपाल खड्काले गर्दै आएका छन् । 

‘उनीहरुले उताको कालो धन ल्याएर नेपालमा सेतो बनाई अनलाइन सट्टेबाजी गराएरै खर्बौं कमाइसकेका छन् । गोप्य तवरले गेम खेलाइन्थ्यो । कोभिडको बेला पनि खेलाइयो । यसको मुख्य योजनाकार रिसब,विनय र तरुण हुन् । भारतमा तरुणले र नेपालमा विनयले सट्टेबाजीको धन्दा सम्हाल्दै आएका थिए,’ स्रोतले भन्यो ।

टिप्पणीहरू