श्रीमतीले सँगै बस्छु भन्दा लफडा,अनि छोराको समेत हत्या

श्रीमतीले सँगै बस्छु भन्दा लफडा,अनि छोराको समेत हत्या

दाङमा एकजना प्रहरी जवान श्रीमती र नाबालक छोराको हत्या आरोपमा पक्राउ परेका छन् । 

रोल्पाको रुन्टिगढी गाउँपालिका–९ घर भई हाल जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षे पिमलाल नेपाली श्रीमती र छोराको हत्या अभियोगमा समातिएका हुन् । उनले आज बिहान श्रीमती २२ वर्षिया टीका बिक र साढे २ वर्षका छोरा सुशान्त नेपालीको हत्या गरेर प्रहरीमा आत्मसमर्पण गरेको जिप्रका दाङका प्रवक्ता जनकबहादुर मल्लले जानकारी दिए । 

हिजो कार्यालयबाट बिदा लिएर बसेका उनले सामान्य बिबादका क्रममा श्रीमती र छोराको निर्मम हत्या गरेको खुलेको छ ।  'हिजो राती नेपालगञ्जबाट श्रीमती र छोरो आएका छन्,मलाई बिदा दिनुपर्यो भनेपछि हामीले बिदा दिएका थियौँ । तर,आज बिहान ८ बजेतिर आफै यहाँ (कार्यालय) आएर मैले स्वास्नी र छोरोको हत्या गरेँ भन्दै आत्मसमर्पण गरेका हुन्', मल्लले भने ।  

पिमलालले श्रीमती र छोरोसहित राति घोराहीको सहिद गेटस्थित सुपरलज होटलको कोठा नं १ मा बास बसेको पनि प्रहरीलाई बताएका छन् । उनी १० वर्षअघि प्रहरी सेवामा जोडिएका थिए । नेपालगञ्जबाट दाङ सरुवा भएको करिब २ महिनामात्र भएको थियो । 

प्रवक्ता मल्लका अनुसार नेपालगञ्ज छँदा श्रीमती र छोरोसहित भाडमा बस्ने गरेका उनले दाङ सरुवा भएर आएपछि परिवारलाई रोल्पा गएर बस्न आग्रह गर्दै आएको र त्यसैमा विवाद हुँदा घटना घटेको बयान पिमलालले दिएका छन् ।

'उनले श्रीमतीलाई बारम्बर रोल्पा गएर बस्न भन्दै आएका रहेछन् । तर श्रीमतीले रोल्पा जान नमानेकी रहिछन् । बरु, दाङमै कोठा खोजेर सँगै बस्ने उनको अडान रैछ । यही विषयमा कुरा नमिल्दा उनले विवेक गुमाएर हत्या गरेको बुझिन्छ ।' 

पिमलाल बिहान ७ बजेतिर हत्या गरेपछि तुरुन्तै प्रहरी कार्यालय पुगेका थिए । घटना विवरण उल्लेख गर्दै प्रवक्ता मल्लले भने, 'उनले होटलको कोठामा हत्या गरेपछि सरासर यहाँ आएको भनेका छन् । श्रीमतीको सलले घाँटी कसेर मारेँ, छोरोलाई सुरुवालले बाँधेर मारेँ भनेको छ । हामी थप अनुसन्धान गर्दैछौँ ।'

टिप्पणीहरू