सरकारी कोटामा किन सुनसान ?

सरकारी कोटामा किन सुनसान ?

विदेश पढ्न जाने विद्यार्थीको बाढी नै लागेको बेला नेपाललाई सबभन्दा बढी छात्रबृत्ति दिने देशमा चाहिँ विद्यार्थी सरकारी च्यानलबाट हत्तपत्त जानै नचाहने !

बरु, पछिसम्म उतै घरजम गर्न पाइने र अभिभावकलाई समेत लैजान पाइने सोचका साथ लाखौँको लगानीमा अष्ट्रेलिया, अमेरिका, क्यानाडा, जापान, बेलायतजस्ता देशमा नेपाली विद्यार्थीको आकर्षण बढिरहेको छ । नेपालीलाई अध्ययनका निम्ति सबभन्दा बढी छात्रबृत्ति दिने उत्तरी छिमेकी मुलुक हो चीन त्यता जाने विद्यार्थीको संख्या मागभन्दा आधाले कम हुने गरेको छ ।

गत वर्ष चीन सरकारले शिक्षा मन्त्रालयमार्फत ४५ विद्यार्थीका निम्ति छात्रबृत्ति दियो । तर, जम्मा १८ जनामात्रै गए । यस वर्ष ५३ जनाका निम्ति अवसर थियो । तर, २३ विद्यार्थीले मात्रै आवेदन गरे । चीन जानका लागि विद्यार्थीलाई सबभन्दा बढी समस्या पर्ने भाषाको हो, त्यसपछि समयअवधि । त्यसमाथि शैक्षिक सत्रमा बेमेल छ ।

चीन जाने विद्यार्थीका सम्पूर्ण कागजात नोभेम्बर महिनामै टुंगो लगाउनुपर्ने, तर पठाउनेचाहिँ सेप्टेम्बरमा । यसरी, लामो समय पर्खिने धैर्यता नेपालीसँग बिरलै हुन्छ । चीनले इञ्जिनियरिङ, स्वास्थ्य र कृषिका विद्यार्थीलाई त्यस्तो अवसर दिने गरेको छ । नेपाललाई चीनपछि बंगलादेश र र पाकिस्तानले छात्रवृत्ति दिन्छ ।

बंगलादेशले २२ जनाका निम्ति छात्रबृत्ति दिँदा एमबिबिएसका निम्ति १९ र बिडिएस (डेन्टल) का निम्ति ३ जना परेको हो । भारतले भने नेपाल सरकारलाई नदिई यहाँस्थित दूतावासबाट सीधै विद्यार्थी छान्छ । इजिप्टले दिने कोटा पाँच–सात वटा हो । 
 

टिप्पणीहरू