छोरी, नातिनी नै भन्न छाडे यहाँ

छोरी, नातिनी नै भन्न छाडे यहाँ
सुन्नुहोस्

बाबुबाट छोरी, नातिबाट हजुरआमा बलात्कार ! गत साउनमा काठमाडौं जिल्ला अदालतमा हाडनाता करणीको मुद्दा दायर भयो ।

काठमाडौं महानगरपालिका–१६ बोहोराटारमा डेरा बस्नेले छोरीलाई करणी गरे । श्रीमान् / श्रीमती छुट्टिएपछि बुवाले नै दुई छोराछोरी पाल्दै आएका थिए । जेठ २७ गते १५ वर्षीय छोरा साथीको घर गएको मौका छोपेर बाबुले छोरीमाथि जबरजस्ती करणी गरेका हुन् । उक्त घटना थाहा पाएपछि आमाले प्रहरी गुहारिन् । अनुसन्धान सकिएपछि जिल्ला सरकारी वकिल कार्यालयले हाडनाता करणीमा मुद्दा दायर गर्‍यो । केही वर्षअघि, ताप्लेजुङको आठराई गाउँपालिका–३ मा १७ वर्षीय नातिबाट हजुरआमा बलात्कृत भएको घटना सार्वजनिक भएको थियो । मानसिक अवस्था ठीक नभएकी हजुरआमालाई नातिले जबरजस्ती करणी गरेका हुन् ।

बर्सेनि दुई हजारभन्दा बढी महिला बलात्कृत !

महिला असुरक्षित हुँदै गएको प्रहरी तथ्यांकबाट पनि पुष्टि हुन्छ । वर्षेनि दुई हजार बढी जबरजस्ती करणीको उजुरी पर्ने गरेको छ । आर्थिक वर्ष २०७५–०७६ मा दुई हजार २३० वटा जबरजस्ती करणीको उजुरी दर्ता भएको छ । जसमा कोशी प्रदेशमा ५४४, मधेशमा ३००, बागमतीमा २३०, गण्डकीमा १८१, लुम्बिनीमा ३६९, कर्णालीमा १४० र सुदूरपश्चिममा १७० रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७६–०७७ मा दुई हजार १४४ वटा जबरजस्ती करणीको मुद्दा दायर भएको छ । प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै बलात्कारको मुद्दा कोशी प्रदेशमा दर्ता भएको छ । सो प्रदेशमा ४८५, मधेशमा २८८, बागमतीमा २५६, गण्डकीमा १६२, लुम्बिनीमा ३४८, कर्णालीमा १३९, सुदूरपश्चिममा २००, उपत्यकामा २६६ र ब्युरोमा एउटा मुद्दा दर्ता भएको तथ्यांकमा उल्लेख छ ।

यता, आर्थिक वर्ष २०७७–०७८ मा दुई हजार ५३२ वटा उजुरी परेको प्रहरीले जनाएको छ । कोशी प्रदेशमा ६०२, मधेशमा ३७५, बागमतीमा ३००, गण्डकीमा २०९, लुम्बिनीमा ४३८, कर्णालीमा १५५, सुदूरपश्चिममा २२६, उपत्यकामा २२७ वटा रहेका छन्् ।

आर्थिक वर्ष २०७८–०७९ मा उजुरीको संख्या दुई हजार ३८० वटा रहेको छ । कोशी प्रदेशमा ५१२ वटा उजुरी दर्ता हुँदा मधेशमा २८९, बागमतीमा २६५, गण्डकीमा २११, लुम्बिनीमा ३८९, कर्णालीमा १५७, सुदूरपश्चिममा २३४, उपत्यकामा ३२३ वटा उजुरी परेको छ । आर्थिक वर्ष २०७९–८० मा दुई हजार ३८७ वटा उजुरी दर्ता भएको छ । कोशी प्रदेश ५६७, मधेशमा ३१६, बागमतीमा २६१, गण्डकीमा १७९, लुम्बिनीमा ३५३, कर्णालीमा २०५, सुदूरपश्चिममा १८९, उपत्यकामा ३१७ वटा उजुरी परेको प्रहरीले जनाएको छ ।

अदालतमा पनि मुद्दाको चाङ

ललितपुर जिल्ला अदालतमा जबरजस्ती करणीसम्बन्धी मुद्दाको चाङ लागेको छ । गत साउनमा एक जना नाबालिग बलात्कृत भइन् । नवलपरासीको पश्चिम मध्यबिन्दु नगरपालिका–१०, क्षेत्रीटाँडी घर भई गोदावरी नगरपालिका–३, पौडोलमा डेरा गरी बस्दै आएका २२ वर्षीय केशव कुँवर (नाम परिवर्तन) ले गोदावरी घुम्न जाऊँ भनेर ती नाबालिकालाई बलात्कार गरे ।

पीडित जावलाखेल–९ र केशवबीच फेसबुकमार्फत चिनजान भएको थियो । साथी भएपछि उनीहरू भेटघाट गर्ने, चिया खान जाने गर्थे । गत साउन २४ गते दिउँसो उनले गोदावरी घुम्नका लागि ती नाबालिकालाई बोलाए र भाडाको गाडीमा राखेर गोदावरी जंगलमा लगी बलात्कार गरे ।

त्यसपछि पनि उनले बारम्बार बलात्कार गर्दै आएका थिए । गत कात्तिक २३ गते राति १० बजे ललितपुर महानगरपालिका–४, मलपोखरीस्थित पाइप राखेको स्थानमा लगेर बलात्कार गरे । डरधम्की देखाएर पटकपटक बलात्कार भएको कुरा नाबालिकाले बुवालाई भनिन् । बुवाले जावलाखेल प्रहरीमा जाहेरी दिए ।

यता, जावलाखेल ९ ले बयानका क्रममा विवाहको प्रलोभन देखाएर जबरजस्ती करणी गरेको बताएकी छन् । आरोपीले भने सहमतिमै यौन सम्पर्क राखेको बयान दिएका छन् । मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम ललितपुर जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको छ । दोषीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (३) को खण्ड (घ) बमोजिम सजायँ गर्न र सोही दफाको (३क) को (ख) बमोजिम जरिवाना गर्न मागदाबी गरिएको छ । त्यहाँ दिनहुँ बलात्कारको मुद्दा दायर हुने गरेको अदालतका कर्मचारीहरू बताउँछन् ।

टिप्पणीहरू