चिनियाँ स्वयंसेविकाको देश निकाला र माओवादीको दोहोरो चाला
-रमेश तिमिल्सिना
पार्टीको शीर्ष नेतृत्व सत्ता दुर्व्यसनबाट अत्यधिक रुपमा ग्रसित भएका कारण आम जनताको विश्वास तीव्र गतिमा गुमाउँदै गरेको माओवादी त्यही कारणले गर्दा अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो साख गुमाउन थालेको छ । पार्टीको दोस्रो तहका नेतावीच उत्कर्षमा पुगेको व्यक्तिगत स्वार्थको टकराव र जसरी पनि सत्तामा टिकिरहन आफ्ना मूल्य र मान्यता अनि अरूको विश्वास र भरोसालाई तिलाञ्जलि दिन हरपल तयार रहेको शीर्ष नेतृत्वका कारण उत्तरी छिमेकीसँगको सम्बन्धलाई माओवादीले कमजोर बनाउँदै लगेको सन्दर्भ यहाँ चर्चा गर्न खोजिएको विषय हो ।
विषय प्रवेश गरौँ,चिनियाँ सहायता संस्था ‘चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक चौउ सिच्याङमाथि जाजरकोटमा भएको भौतिक आक्रमण र त्यसपछि नेपालको अध्यागमन कार्यालयले डिपोर्ट गरेको घटनाबाट ।
चौउ सिच्याङ एक ५७ वर्षीया चिनियाँ महिला हुन् जो चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्ट (सिएफआरडी) नामक सहयोगी संस्थाको प्रमुख निर्देशकको रूपमा नेपालमा क्रियाशील थिइन् । जसलाई चिनियाँहरूसँग निकट सम्बन्ध रहेको भनिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सम्हालिरहेको गृह मन्त्रालयको पत्रको आधारमा नेपालको अध्यागमन विभागले भिसा अवधि सकिएपछि पनि नेपालमा अनधिकृत रुपमा बसिरहेको भन्दै गत पुस २५ गते देश निकाला गर्यो । पम्फा भुसालको निर्वाचन क्षेत्र ललितपुर-३ का सामुदायिक बिद्यालयलाई दिवाखाजा उपलब्ध गराउँदै आएकी उनीमाथि त्यसअघि माओवादी महासचिव देव गुरुङ र कर्णाली प्रदेश अध्यक्ष विमला केसीसङ्गै जाजरकोटमा भूकम्प पीडितका लागि राहत सामग्री लिएर गएका बेला मङ्सिर २० गते माओवादीबाटै कुटपिट भएको थियो ।
नेकपा माओवादी केन्द्रका यो तह र स्तरका नेताको यस प्रकारको संलग्नता र कृत्य कर्मको आधारमा मात्र माओवादीले नेपालको उत्तरी छिमेकीसँगको सम्बन्धलाई ध्वस्त पार्यो भन्ने आरोप लगाउन खोजिएको होइन । यो पार्टीका शीर्ष नेताले कसरी भूराजनीतिक प्रतिस्पर्धामा चिनियाँ पक्षलाई कमजोर पार्ने र नेपालमा भारतीय-अमेरिकी गठबन्धनको हित रक्षा गर्ने भन्ने कोणबाट गरेका हर्कतको पनि चर्चा गर्दा मात्र खासमा माओवादी शीर्ष नेतृत्व सत्ता रसास्वादनको निरन्तरताको निम्ति केसम्म गर्न तयार छ भन्ने पुष्टि हुन्छ । यसो भन्न सकिने दुई वटा आधार छन् : एक,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सरकार प्रमुख रहेका बेला नेपालमा प्रभावकारी ढंगले सहायता कार्यक्रम परिचालन गरिरहेको चिनियाँ संस्थाको प्रमुखलाई भौतिक आक्रमण गर्नु र देश निकाला गरिनु । दोस्रो,त्यो घटनालाई माओवादीकै जिम्मेवार नेताले सन्चालन गरेको सञ्चारमाध्यमले प्राथमिकताका साथ लगातार समाचार बनाएर त्यसलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको समेत चासोको विषय बन्न मद्दत गर्नु ।
किन भयो कुटपिट ?
चौ सिच्याङमाथि भएको कुटपिटको जडमा माओवादी केन्द्रका उच्च तहका नेताहरूवीचको शक्ति सङ्घर्ष रहेको देखिन्छ । यस घटनाको मुख्य कारण माओवादीको महासचिव नियुक्तिसँग जोडिएको छ । महासचिव छनौटमा लामो समयसम्म माओवादी अध्यक्ष प्रचण्डले गरेको अनिर्णयले सो पदका लागि दौडिरहेका दोस्रो तहका नेताहरू वीचमा दूरी बढाएको थियो । महासचिव पदका मुख्य दावेदार थिए,जनार्दन शर्मा र वर्षमान पुन । दुवै प्रभावशाली नेताले आ-आफ्नो दाबी गर्दै आएकाले प्रचण्डलाई छनौटमा थप चुनौती बढ्यो । पछि शर्मा र पुनले संयुक्त रुपमा प्रचण्डलाई भेटेर पुनको स्वास्थ्य स्थितिका कारण जनार्दनलाई महासचिव बनाउन सहमति जनाएका थिए ।
आफ्नै दोस्रो तहका नेताहरूबीच खाडल सिर्जना गरेर उनीहरूलाई खेलाइरहेका प्रचण्ड यी दुई प्रतिस्पर्धीको एकताबाट झस्किए । त्यसैले कसैले नसोचेका र कार्यकुशलतामा असक्षम पुष्टि भैसकेका अनुभवविहीन व्यक्ति देव गुरुङलाई एकाएक महासचिवमा नियुक्त गरे । शर्मा र पुनले उपमहासचिव पदमा चित्त बुझाउनु पर्यो । यो निर्णयले जनार्दन शर्मालाई देव गुरुङसँग समेत दूरी बढाउन उत्प्रेरित गर्यो किनकि गुरुङले उनको हातमा आइसकेको महासचिव पद खोसेका थिए ।
चिनियाँ कम्युनिस्ट पार्टीको उच्च तहका नेतालाई भाइचारा पार्टीको तर्फबाट भन्दै लगातार निमन्त्रणा गर्ने र उनीहरू समक्ष आफ्नो पार्टी नेपालमा चिनियाँ हित रक्षाको लागि प्रतिबद्ध रहेको बताउने तर व्यवहारमा चिनियाँको छवि धुलिसात पार्ने काम उनीहरूले गरिरहेको आरोप छ ।
यस पृष्ठभूमिमा,देव गुरुङले शर्मा माथि अर्को धावा बोले त्यो हो, जनार्दन शर्माले आफ्नो राजनीतिक गढ मान्दै आएको क्षेत्रमा राहत सामग्री बोकेर जानु । जबकि नेपालको पश्चिम पहाडमा माओवादी नेता वर्षमान पुन र जनार्दन शर्माको मात्र प्रभाव छ । त्यहाँ अरूको उपस्थितिलाई दुवैले आफूमाथिको खतराको रुपमा बुझ्ने गर्छन् । गुरुङले आफ्नो ठानेको पद हडपेका कारण आक्रोशित जनार्दनलाई आफ्नै भौगोलिक क्षेत्रमा प्रवेश गरेर गुरुङले राजनीतिक गतिविधि गरेको सह्य हुने कुरा भएन ।
त्यसैले शर्माले आफन्तसमेत रहेका स्थानीय नेताहरूलाई प्रयोग गरेर यो घटनालाई थप उग्रतामा परिणत गरेको देखिन्छ । घटनाको अवस्था हेर्दा गुरुङ त्यो घटनाको निशानामा थिए । यदि घटनास्थलमा थिए भने अवश्य पनि उनी नै आक्रमणको शिकार बन्थे । चिनियाँ नागरिक पिट्ने स्थानीय नेताको प्रष्टीकरण पत्रबाट नै के बुझिन्छ भने गुरुङ पिटाइ खाइने डरले भागे । तर,सँगै लिएर गरेकी चिनियाँ नागरिकलाई रक्षा गर्ने काम गरेनन् । त्यहाँ स्थिति खराब छ भन्ने बुझेर पनि गुरुङले चिनियाँ पाहुना र सहयोग प्रतिनिधिलाई आन्तरिक द्वन्द्वको शिकार बन्न छाडिदिए ।
माओवादीको दोहोरो चरित्र
उता प्रचण्डका प्यारा माओवादी महासचिव देव गुरुङले आपसी भिडन्तको चेपुवामा चिनियाँ नागरिकलाई पारे भने यता माओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उनै नागरिकलाई अपमानजनक ढङ्गले देश निकाला गरे । चिनियाँ कम्युनिस्ट पार्टीको उच्च तहका नेतालाई भाइचारा पार्टीको तर्फबाट भन्दै लगातार निमन्त्रणा गर्ने र उनीहरू समक्ष आफ्नो पार्टी नेपालमा चिनियाँ हित रक्षाको लागि प्रतिबद्ध रहेको बताउने तर व्यवहारमा चिनियाँको छवि धुलिसात पार्ने काम उनीहरूले गरिरहेका छन् ।
यसको लागि नेपालमा चिनियाँ लगानी र निर्माण ठेक्का आदिमा चिनियाँ संलग्नता रहेका परियोजनालाई सरकारको तर्फबाट पर्याप्त सहयोग नगर्ने बरु राज्य नियन्त्रित सरकारी समाचार एजेन्सीमार्फत चिनियाँ सरकारी ठेकदारले काम गरेनन्,काम बिगारे भन्ने समाचार सम्प्रेषण गर्न लगाउने काम गरिरहेका छन् । त्यतिले नपुगेर आफ्नै पार्टीका जिम्मेवार नेताले सन्चालन गरेका मिडियामा चीनको बदनाम हुने समाचार प्रकाशन र प्रसारणको बाढी नै ल्याउने काम भइरहेको चर्चा माथिसमेत गरिसकिएको छ ।
हुन पनि,सरकारले गरिदिनुपर्ने मुआब्जा वितरण,साइट क्लियरेन्स, आवश्यक कच्चापदार्थको सहज आपूर्ति,समयमा भुक्तानी लगायतका काममा जति आग्रह गर्दा पनि नेपाल सरकार र सरकारमा रहेको दलका उच्च पदस्थहरूले नसुन्ने गरेको गुनासो चिनियाँहरूले अनौपचारिक रुपमा गर्ने गरेका छन् । तर,बाहिर भने त्यही सरकार,सरकारमा बसेका दलका नेताहरू नै चिनियाँले काम नगरेको, समयमा निर्माण पुरा नगरेको आरोप लगाउन व्यस्त छन् ।
त्यसबाहेक,केही समयअघि चिनियाँ कम्युनिस्ट पार्टीका एक जिम्मेवार नेता र भारतीय विदेश मन्त्रीलाई एकैसाथ नेपाल बोलाएर चिनियाँलाई पुरै बेवास्ता गरेको घटनासमेत यहाँ उल्लेखनीय छ । त्यसअघि चीनले गरेको बोआओ फोरममा नजाने निर्णय गर्दै त्यस्तो निर्णयको दोष चिनियाँ राजदूतको थाप्लोमा प्रचण्डले खन्याएको घटना पनि स्मरणीय छ । प्रचण्डले भारतमा औपचारिक भ्रमणमा जान मरिहत्ते गरेर निम्ता नै मागेको र चीनको भ्रमणलाई भने बाटो पर्दा छिरेको रुपमा अमेरिकाबाट फर्कँदा ‘मन राख्ने’ मात्र उद्देश्यले गरेको घटना पनि यस परिप्रेक्ष्यमा सम्झनुपर्ने हुन्छ ।
समग्रमा भन्नुपर्दा माओवादी नेताहरूको करनी र कथनीमा देखिएको फरकले नेपालको एक असल छिमेकीलाई आघात परिरहेको छ भने नेपालमा चिनियाँ छवि धुमिल पार्दा लाभ हुने पक्षले त्यसको फाइदा लिइरहेको छ । उता,आफूले चिनियाँलाई इंगेज गरेको र उनीहरूलाई अलमल्याउँदै ‘तपाईँहरूको हितमा काम गरिरहेको छु,मलाई टिकाउनु पर्यो’ भन्ने सन्देश प्रचण्ड उनकै शब्दमा ‘विदेशी प्रभुहरू’ लाई दिएको पछिल्लो घटनाले प्रष्ट पार्छ ।
आम जनताको विश्वास तीव्र गतिमा गुमाउँदै गरेको माओवादी त्यही कारणले गर्दा अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो साख गुमाउन थालेको छ । पार्टीको दोस्रो तहका नेतावीच उत्कर्षमा पुगेको व्यक्तिगत स्वार्थको टकराव र जसरी पनि सत्तामा टिकिरहन आफ्ना मूल्य र मान्यता अनि अरूको विश्वास र भरोसालाई तिलाञ्जलि दिन हरपल तयार रहेको शीर्ष नेतृत्वका कारण उत्तरी छिमेकीसँगको सम्बन्धलाई माओवादीले कमजोर बनाउँदै लगेको सन्दर्भ यहाँ चर्चा गर्न खोजिएको विषय हो ।
टिप्पणीहरू