लागुऔषधले यसरी बिगार्दै लग्यो

लागुऔषधले यसरी बिगार्दै लग्यो
सुन्नुहोस्

लत सिर्जना गरी दुव्र्यसनी बढाउने वस्तु लागुऔषध हो । यसले मानिसको शारीरिक र मानसिक स्वास्थ्यलाई असर पार्नुका साथै चेतनालाई विकृत तुल्याउँछ । औषधोपयोगी गाँजा, अफिम, कोकाको झार र पातलगायतका वस्तुलाई लागुऔषधमा राखिएको छ । सरकारले लागुऔषधको खेती, उत्पादन, निर्माण, खरिदबिक्री, सञ्चय, ओसारपसार, सेवन तथा निकासी पैठारीमा प्रतिबन्ध लगाएको छ ।

‘लागुऔषध नियन्त्रण ऐन, २०३३’ को परिच्छेद ३ मा निषेध गरिएका कार्य गर्नेलाई हुने दण्ड सजायँबारे उल्लेख छ । गाँजा सेवन गर्ने व्यक्तिलाई एक महिनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना, २५ वटा बोट गाँजाको खेती गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना, त्योभन्दा माथि खेती गर्नेलाई तीन वर्षसम्म कैद वा पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । त्यस्तै, गाँजा उत्पादन, तयार, खरिद, बिक्री वितरण, निकासी वा पैठारी, ओसारपसार तथा सञ्चय गर्ने व्यक्तिलाई हुने सजायँ छुट्टै छ । तरपनि लागुऔषध सेवन, अवैध कारोबार, ओसारपसारमा रोक लाग्न सकेको छैन । लागुऔषधसहित पक्राउ पर्नेहरू ह्वात्तै बढेका छन् । हरेक दिन लागुऔषधसहित समातिएको खबरहरू आइरहेको छ । लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले ‘घुँडामुनि गोली’ हान्न थालेको छ ।

गोली हानेर प्रहरीले भर्खरै मात्र दुई जनालाई पक्राउ गरेको छ । गत मंसिर २६ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुरको झम्सिखेलबाट एक जना लागुपदार्थ कारोबारीलाई गोली प्रहार गरेर नियन्त्रणमा लियो । उदयपुरको लेखानी गाउँपालिका–९ का ४० वर्षीय अनिवाश राईबाट एक थान कटुवा पेस्तोल, दुई राउण्ड गोली, लागुऔषध झण्डै आधा किलोग्राम, नेपाली र भारतीय मुद्रा बरामद हुँदा त्यसको झण्डै डेढ महिनाअघि मात्र प्रहरीले गोली चलाएर अर्को लागुऔषध कारोबारीलाई पक्राउ गरेको थियो । मोहम्मद करिममाथि गोली प्रहार गरेर काठमाडौंको गोठाटारबाट प्रहरीले नियन्त्रणमा लिएको हो । पछिल्लो समय राजधानीमा लागुऔषध कारोबारीहरू सल्बलाएका छन् । यता, लागुऔषध कारोबारीले ओसारपसारमा नयाँनयाँ तरिका अप्नाउन थालेका छन् । विदेशबाट आउनेहरूको साथबाट पनि लागुऔषध बरामद हुने गरेको छ ।

लागुऔषधको ओसारपसारमा महिला तथा बालबालिकालाई प्रयोग गर्न थालिएको छ । गत मंसिर ४ गते कतारको दोहाबाट आएकी भारतीय महिलाको साथबाट दुई केजी कोकिन फेला पर्‍यो । उनले सुटकेसभित्र कालो पोलिथिनले बेरेर कोकिन ल्याएकी थिइन् । गत असोज ३० गते एक व्यक्तिलाई प्रहरीले ललितपुर महानगरपालिका–१६ भीमसेन मन्दिरबाट समात्यो । गोरखाको साविक धुवाँकोट गाविस–१ का गोरे परियारको नाति एवं बलराम र अम्बिकाका छोरा २७ वर्षीय गोरेविरुद्ध प्रहरी प्रभाग, मंगलबजारका वरिष्ठ नायव निरीक्षक कान्छामान स्याङ्तानले अभियोगपत्र दायर गरेका थिए । परियार आफैं लागुऔषध सेवनकर्ता हुन् । सस्तोमा पाएकाले एकचोटि धेरै खरिद गरेको र आफैंले सेवन गर्ने उनले बताएका छन् । किशोरकिशोरी नै लागुऔषध दुव्र्यसनीमा फसिरहेका छन् । लागुऔषधको लतले हरेक उमेर समूहलाई छोएको छ ।

पक्राउ पर्ने थुप्रै

लागुऔषधसहित पक्राउ पर्नेको संख्या बर्सेनि वृद्धि हुँदै छ । आर्थिक वर्ष २०७६–७७ मा पक्राउ पर्नेको संख्या चार हजार ५४६ रहेको छ । जसमा चार हजार २०४ पुरुष र १९३ महिला छन् । त्यस्तै, १३१ भारतीय र १८ विदेशी नागरिक समातिएका छन् । प्रहरीका अनुसार दुई हजार ९०० मुद्दा दर्ता भएको छ । आर्थिक वर्ष २०७७–७८ मा चार हजार ६२६ पक्राउ र तीन हजार १३ वटा मुद्दा दर्ता भएको छ । पक्राउ पर्नेमा चार हजार २८४ पुरुष र १९५ महिला छन् । १४० भारतीय नागरिकसँगै सात विदेशी लागुऔषधको कसूरमा समातिएका छन् । २०७८–७९ मा पक्राउ पर्नेको संख्या बढेर पाँच हजार ७८९ पुगेको छ । पाँच हजार ३२१ पुरुष, २४७ महिला, २०५ भारतीय, १६ विदेशी प्रहरीको फन्दामा परेका छन् । त्यसैगरी, तीन हजार ८५६ वटा मुद्दा दर्ता भएको छ ।

०७९–८० मा लागुऔषधसम्बन्धी कसूरको चार हजार १०२ मुद्दा दायर भएको छ । पक्राउ पर्नेको संख्या ६ हजार १८६ रहेको छ । जसमा पुरुष पाँच हजार ६३५ र महिला ३२४ छन् । भारतीय नागरिक २०५ र विदेशी २३ जना पनि समातिएका छन् । साथीसंगतले अधिकांश युवा लागुऔषधको लतमा फसिरहेका छन् । युवाहरूले लागुऔषधलाई ‘आनन्द’ लिने माध्यम बनाएका छन् । लागुऔषध सेवन गरेमा तनाव कम हुने भ्रम छ । लागुऔषधले चोरी, हत्यालगायत अपराधको दर बढाएको छ । ‘ड्रग्स’ ले मातिएर आफ्नै साथीको क्रुर हत्या गरेको घटनासमेत छ । लागुऔषधको प्रयोग गर्नेमा अधिकांश हुनेखाने र कलेज पढ्ने विद्यार्थी छन् ।
रोकथामका निम्ति प्रयासरत छ ब्युरो

लागुऔषध नियन्त्रण ब्युरोका नायव उपरीक्षक नारायण रञ्जितकारले ब्युरोसहित १५ वटा शाखाले लागुऔषध रोकथाम तथा नियन्त्रणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गरिरहेको जानकारी दिए । हाल गण्डकी र सुदूरपश्चिम प्रदेशमा जनचेतना फैलाउने कार्य भइरहेको उनी बताउँछन् । उनका अनुसार मुलुकमा ठूला तस्करभन्दा स–साना कारोबारी धेरै छन् । आर्थिक अवस्था कमजोर भएकाहरू लागुऔषध ओसारपसारमा संलग्न भएको उनैले सुनाए । साथीसंगत र उत्सुकताका कारण लागुऔषधमा फस्ने धेरै रहेको उनको जिकिर छ  ।

टिप्पणीहरू