जनयुद्धताका त्यस्तो गरियो, अहिले यस्तो छ

जनयुद्धताका त्यस्तो गरियो, अहिले यस्तो छ
सुन्नुहोस्

म २०४० सालमा कक्षा १ मा भर्ना भएको रहेछु । स्कूल नजिकै थियो । दिदीहरूसँगै गइन्थ्यो । स्कूल छुट्टीपछि आफ्नो सुरले साथीहरूसँग घर आइन्थ्यो । घरमा प्रायः बुबा हुनुहुन्थेन । ममाथि एक जना दिदी छिन् । ममुनि २ भाइ र एउटा बहिनी ! बा–आमाको हामी पाँच जना छोराछोरी । कान्छो भाइ जन्मिँदा कक्षा १ मै पढ्दै रहेछु । एक दिन वर्णमाला र बाह्रखरी सिकाउने गुरु परशुराम धितालले ब्ल्याक बोर्डमा अक्षर लेख्दै सोध्दै हुनुहुन्थ्यो । यो कक्षा १ का विद्यार्थीलाई अक्षर चिनाउने उपाय थियो । मेरो पालो आयो । अक्षर के थियो त्यो त बिर्सें तर त्यो मिलाएको थिएँ । उहाँले सोध्नुभयो– अनि ‘भाइ कत्रो छ ?’

त्यतिबेला मैले घरमा सानो भाइ पनि भर्खर जन्मेको कुरा बिर्सिएछु । ठूलो भाइ मात्र सम्झन पुगें । ठूलो भाइ त्यतिबेला ४ वर्षको, मसँग खेल्ने साथी भइसकेको थियो । सानो भाइ भर्खर जन्मेको त्यतिबेला बिर्सिएँ । विद्यालयको अफिसमा कुरा के भएछ भने ‘श्रीनाथले छोराको न्वारान गरेन । ऊ त नास्तिक हो ।’ मास्टरहरूको बीचमा जे कुरा चलेको थियोे धिताल सरको दिमागमा त्यही कुरा घुमिरहेको रहेछ । धिताल सरले अरू साथीहरूका भाइबहिनीहरूबारे केही सोध्नुभएन तर मेरै भाइको बारेमा किन सोध्नुभयो भन्ने धेरै पछिसम्म लागिरह्यो । कारण रहेछ कर्मकाण्डी तरिकाले उसको न्वारान नहुनु । त्यही साल उता मामाको विवाह हुँदै रहेछ ।

मामाको विवाहमा हामीलाई सहभागी गराइएन । कारण थियो– भाइको न्वारान पुरानो विधि विधानअनुसार नहुनु । मामाको बिहेमा सहभागी नगराइएकोमा आमाको आजसम्म पनि चित्त दुःखाइ छ । आमा अहिले ६८ वर्ष हुनुभयो । ०४५ सालमा मेरो र माइलो भाइको ब्रतबन्ध गरियो । त्यतिबेला बुबाको सोचाइमा के आएछ कुन्नि हाम्रो ब्रतबन्ध त पुरानै ढर्रामा भयो । ०४८ सालमा ममाथिकी दिदीको जनवादी विवाह भयो अठाह्रै वर्षको उमेरमा । ०५१ भदौ १६ गते हजुरआमा बित्नुभयो । हजुरआमाको कर्मकाण्ड बुबाले पूराका पूरा हिन्दु सनातन तरिकाले गर्नुभयो ।

०५२ साल फागुन १ गते जनयुद्ध शुरु भयो । जनयुद्धमा ०५२ फागुन १ गतेभन्दा अगाडि नै गोरखा जिल्लाबाट मात्र भूमिगत हुनेहरू १७ जना थिए । तिनमा मेरो बुबा श्रीनाथ अधिकारी (श्याम) पनि एक हुनुहुन्थ्यो । म आफैं पनि जनयुद्धमा हाम्फालेको योद्धा हुँ । जनयुद्धताका केसम्म गरिएन साँस्कृतिक क्रान्तिका दौरान ? जाँडरक्सीले पैदा गरेको विकृतिविरुद्ध, जुवा–तासले पैदा गरेको बेथितिविरुद्ध व्यापक लाल आतंक मच्चाइयो । बहुविवाह खारेज गर्दै हिँडियो । छुवाछूत प्रथालाई सहभोजको आयोजना गरेर हमला गरियो । अन्नपातको फारोतिनो गर्ने अभियान चलाइयो ।

श्रम संस्कारलाई एक नम्बरमा राखियो । जनकम्युन स्थापना भए । जनसरकार र जनसत्तासमेत स्थापना भएका थिए । मेरी श्रीमती कलाकार हुन् । उनले आजसम्म जनवादी गीतबाहेक अरू गाएकी छैनन् । हाम्रो विवाह २०५७ फागुन ३० गते जनवादी तरिकाले सम्पन्न भएको हो । छोराछोरीलाई कुनै पनि धार्मिक अनुष्ठानमा जोडेका छैनौं । हामीलाई धर्ममा विश्वास पनि छैन । विज्ञानमा मात्र विश्वास छ । २०६९ फागुन १७ गते हजुरबा बित्नुभयो । उहाँको कर्मकाण्ड बुबाआमाले पुरानो ढर्राले गर्नु भएन । यसपटक बुबा पूरै धर्मनिरपेक्षवादी देखिनुभयो ।

२०७६ असार २२ गते ६४ वर्षकै उमेरमा बुबा श्रीनाथ अधिकारी बित्नुभयो । हामीले बुबाको बिचार, सिद्धान्त, दर्शन र राजनीतिलाई पछ्यायौं । यसरी २०४० मा कान्छो भाइ उज्ज्वल जन्मिँदा ताकाबाट शुरु भएको साँस्कृतिक रूपान्तरण अभियान निकै नै जिकज्याक बाटो भएर अगाडि बढ्यो । ०७६ मा बुबाको मृत्यु संस्कारसम्म आइपुग्दा मेरा भाइहरू उत्तम र उज्ज्वल, मेरी श्रीमती सुशीला थापा र भाइ बुहारीहरू सरिता र शान्तिले पनि हामीलाई धर्मनिरपेक्षमा उभिन साथ दिएका छन् । अहिले हाम्रो परिवार आस्तिक छैन । हामी नास्तिक पनि होइनौं । धर्मनिरपेक्षतावादी हौं ।

मैले हामीजस्तै धर्मनिरपेक्षवादी साथीहरूलाई नजिकबाट चिन्न, जान्न जमर्को पनि गरेको छु । जनयुद्धताका गोरखामा अन्तरजातीय विवाह (मुख्य रूपमा दलित र गैरदलित) गर्ने केही जोडी छन् । यनप्रसाद भट्ट सरोज÷ज्ञानु नेपाली, हरिशरण आचार्य/गंगा सुनार, शम्भु ढकाल/इन्द्रा सुनार, बिनय थापा÷दुर्गा बिक । यिनीहरू अहिले पनि नमुना जोडीको रूपमा छन् । सांस्कृतिक रूपान्तरणमा उनीहरूको ठूलो भूमिका हुनेछ ।

श्रीनाथ अधिकारी, बाबुराम भट्टराई, हितराज पाण्डे, कृष्ण धिताल, लेखनाथ न्यौपाने, हरिशरण आचार्य, विष्णु भट्ट, जगन खनाल, लोकप्रसाद बञ्जारा, शम्भु ढकाल आदिले आफू संलग्न मृत्यु संस्कारमा भौतिकवाद लागू गरेका छन् । कास्की जिल्लामा पनि मृत्यु संस्कारमा भौतिकवाद लागू गर्नेमा झलकपाणि तिवारी, रामजी थापा, पूर्ण गिरी, भीम रानाभाट, परशुराम कोइराला, सन्तबहादुर घिसिङ, काजी गाउँले, तोरण गुरुङ आदिलाई देखेको छु । कतिपयको त बिचित्र पनि छ घरपरिवारमा आफू एक्लैचाहिँ भौतिकवादी कर्मकाण्डमा उभिने, बाँकी सिंगै परिवारलाई गरुड पुराण सुनाउने ।

कतिपयमा पाखण्ड चरित्र पनि प्रधान देखिन्छ– भन्ने एकथोक, गर्ने अर्को थोक । यता धर्ममा धर्मनिरपेक्षतातिर दृढतापूर्वक उभिनेहरू उता आर्थिक क्षेत्रमा चरम भ्रष्टीकरण पनि देखिएका छन् । उहिले आफ्नो जनवादी विवाह गर्नेहरूले अहिले छोराछोरीको विवाहमा व्यापक दाइजो प्रथालाई प्रश्रय दिएको पनि देखिएको छ । कमरेड मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको पोलिटब्युरो सदस्यसम्मले सुनको औँठी प्रदर्शन गरेकोसमेत देखेको छु । साँस्कृतिक रूपान्तरणको विशद व्याख्या हुन्छ होला ? यो लरतरो विषय त होइन पक्कै ?

– नारायण अधिकारी, ९८५६०४०७०८

टिप्पणीहरू