अस्थायी अनुमतिका आडमा ठेकेदारको मनोमानी

अस्थायी अनुमतिका आडमा ठेकेदारको मनोमानी
सुन्नुहोस्

-धनराज साउद

अछामको बूढीगंगा नदीमा नियमविपरीत क्रसर उद्योगहरु सञ्चालन भइरहेको पाइएको छ । अस्थायी अनुमतिपत्रको आडमा ठेकेदार र व्यापारीहरुले नदीजन्य पदार्थको उत्खनन् गरिरहेको खुलेको हो । बज्रगुरु कन्स्ट्रक्सन र नाति कन्स्ट्रक्सनका सञ्चालकहरुले मनोमानी चलाइरहँदा सरोकारवाला निकाय मौन छ । 

साँफेबगरस्थित केही व्यापारीसँग मिलेर तिनले लुट मच्चाइरहेका छन् तर सम्बन्धित निकायले कारबाही नगर्नुले विभिन्न शंका उब्जाएको छ । जयगढ रामारोशन सडकअन्तर्गत जयगढ दर्ना सडकखण्डको बज्रगुरु कन्स्ट्रक्सन र साँफे मेल्लेख सडकखण्डको पिएस बानियाँ जेभीअन्तर्गतको नाति कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।

 

निर्माण कार्यका लागि साँफेबगर नगरपालिकाले अस्थायी अनुमतिपत्र प्रदान गरेको छ । निर्माणका निम्ति आवश्यक पर्ने नदीजन्य पदार्थको मात्र उत्खनन् गर्नुपर्नेमा ठेकेदार कम्पनीले मनोमानी चलाएको छ । अस्थायी क्रसर सञ्चालनका नाममा कम्पनीले नदीजन्य पदार्थको कारोबार थालेको स्रोत बताउँछ ।

"मंगलसेनस्थित नेपाली सेनाको ब्यारेकमा भौतिक पूर्वाधार निर्माणका लागि त्यहीँबाट उत्पादित सामग्री बिक्री गरिएको उनले स्वीकारे ।" 

‘अस्थायी क्रसर अनुमतिको नाममा ठेकेदार कम्पनीले मनलाग्दी गरिरहेको छ । नदीजन्य पदार्थको कारोबार हुन थालेको छ । सडकखण्डमा आवश्यक पर्ने ढुंगा, गिट्टीबालुवाको सहज व्यवस्थालाई अनुमति दिइएकोमा उनीहरुले नाजायज फाइदा उठाइरहेका छन्’, स्रोतले भन्यो । 
बज्रगुरुको नाममा सञ्चालित अस्थायी क्रसर उद्योगमा साफेँबगरका प्रतिष्ठित व्यापारी दीर्घ ठकुल्लाको नेतृत्व छ । उक्त कन्स्ट्रक्सनले आर्थिक मिलेमतोमा आफ्नो नामको क्रसर उद्योग उनलाई दिएको छ । हालसम्म पनि बज्रगुरुले आफ्नो निर्माण साइटमा गिट्टी लगेको छैन । 

दुई वर्षदेखि सञ्चालनमा रहेको यो उद्योगले गिट्टीबालुवा र ढुंगा उत्खनन् गरेर बिक्रीवितरण गर्दै आएको छ । इस्टिमेटअनुसार मात्रै गिट्टीबालुवा उत्खनन् गर्न भनिएपनि उद्योगबाट उत्पादित नदीजन्य पदार्थ सरकारी अड्डादेखि निजी घर निर्माणमा प्रयोग भइरहेको छ ।

 

यता, ठकुल्लाले भने आफूले बज्रगुरु कन्स्ट्रक्सन सञ्चालनमा सहयोग मात्र गरेको बताए । मंगलसेनस्थित नेपाली सेनाको ब्यारेकमा भौतिक पूर्वाधार निर्माणका लागि त्यहीँबाट उत्पादित सामग्री बिक्री गरिएको उनले स्वीकारे । बज्रगुरुका प्रबन्ध निर्देशक रेवन्त बस्नेतको फोन अफ छ,जसले गर्दा उनीसँग सम्पर्क हुन सकेन ।

 

नाति कन्स्ट्रक्सन सञ्चालनमा साँफेबगरकै व्यापारी भीम कुँवरले सघाएका छन् । यद्यपि, उनले क्रसर उद्योगबाट हालसम्म एक रुपैयाँको पनि कारोबार नभएको दाबी गरे । पेट्रोल पम्पको सञ्चालकसमेत रहेका उनले भने,‘मेरो पेट्रोल पम्प भएकाले सम्बन्ध बनेको हो । त्योबाहेक कन्स्ट्रक्सनका सञ्चालकसँग कुनै सम्पर्क छैन ।’

कन्स्ट्रक्सनका साइट इञ्चार्ज विष्णु रावतले अस्थायी अनुमतिको कुनै पनि दुरुपयोग नगरेको दाबी गरे । निर्माणका लागि आवश्यक पर्नेजति मात्र त्यहाँबाट उत्खनन् गरिएको उनले बताए । स्रोतका अनुसार बज्रगुरुले स्थापनादेखि हालसम्म करोडौं रुपैयाँको कारोबार गरिसकेको छ ।

 

क्रसर उद्योगले जथाभावी गर्दा पनि सरोकारवाला निकाय मूकदर्शक बनेर हेरिरहेको छ । जसले उनीहरुको क्रसर उद्योगीसँग हिमचिम रहेको आशंका गरिएको छ । यता,जिल्ला समन्वय समिति, अछामको बैठकको निर्णय कार्यान्वयन नहुनुले पनि यसलाई पुष्टि गरेको छ । 

समिति अध्यक्ष ललितबहादुर कुँवरको अध्यक्षतामा बसेको सरोकारवाला निकायको बैठकले खानीजन्य पदार्थको उत्खनन र कानुनसम्मत् सञ्चालन गर्ने निर्णय गरेको थियो । बूढीगंगा नदीमा अवैध रुपमा क्रसर उद्योग सञ्चालन भइरहेको भनी केही दिनअघि उजुरी परेको जिल्ला प्रशासन कार्यालय, अछामका सूचना अधिकारी सन्तोष विश्वकर्माले बताए ।

 

उक्त उजुरीपश्चात् प्रशासनले विभिन्न निकायसँग पत्राचार गरेको छ । यता,प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले कारबाहीको जिम्मा समितिलाई दिइएको बताए ।

टिप्पणीहरू