दुई नेताको दुश्मनी, कसले गर्यो बेइमानी ?

दुई नेताको दुश्मनी, कसले गर्यो बेइमानी ?

लुम्बिनीमा सत्ता गठबन्धन दलका दुई नेताको कारण मुख्यमन्त्री डिल्लीबहादुर चौधरी चेपुवामा परेका छन् । माओवादी केन्द्रका प्रदेश सभा सदस्य दिपेन्द्र पुन ’सिजल’ र काँग्रेसका प्रदेश सभापति अमरसिंह पुनको कारण मुख्यमन्त्री चौधरी अप्ठेरोमा पुगेको बताइन्छ ।

सिजल जसरी पनि लुम्बिनीको मन्त्री बन्ने दाउमा छन् । तर सभापति पुन भने सिजललाई मन्त्री बन्नबाट रोक्न ’अर्लट’ अवस्थामा देखिन्छन् । अहिले लुम्बिनीमा मुख्यमन्त्री काँग्रेसका डिल्लीबहादुर चौधरी हुन् । 

एकातिर मन्त्री बन्न सिजलले लबिङ गरिदिन पार्टीका उपमहासचिव वर्षमान पुनलगायत नेताहरुलाई आग्रक गरेको बताइन्छ । अर्कोतिर सिजललाई कुनै पनि हालतमा मन्त्री बन्न नदिन सभापति पुनले मुख्यमन्त्री चौधरीलाई ’गाइड’ गरिरहेको अर्काथरीको भनाई छ । सिजल र पुनको दुश्मनीको कारण यतिबेला मुख्यमन्त्री चौधरी नै चेपुवामा परेका हुन् । 

पुरानो दुश्मनीको नयाँ बदला

२०७९ मंसिर ४ को दुश्मनी साँध्न प्रदेश सभापति पुनले सिजललाई मन्त्री बन्न नदिन कसरत गरेको धेरैको भनाई छ ।  त्यतिबेला पुन रोल्पाको क्षेत्र नम्ब २ बाट गठबन्धनका उम्मेदवार थिए । सिजलले गठबन्धनभित्रको भागबण्डाको कारण टिकट पाएनन्, जब कि उक्त क्षेत्र सिजलकै क्षेत्र हो । 

२०६४ यता माओवादीले जित्दै आएको सो क्षेत्रमा गठबन्धनको तर्फबाट कांग्रेसले टिकट पाएपछि माओवादी वृत्तमा असन्तुष्टि बढेको थियो । गठबन्धनको निर्णयले माओवादी कार्यकर्ता विभाजित हुने अवस्था समेत आयो । अन्ततः गठबन्धनको कारण आफ्नै क्षेत्रमा आफैले टिकट नपाएपछि असन्तुष्ट बनेका सिजलले पोलिटब्युरो सदस्य र जिल्ला इञ्चार्ज जिम्मेवारीबाट रानीनामा दिएर स्वतन्त्र रुपमा बागी उम्मेदवार बने । 

चुनावमा पुन र सिजलको प्रतिस्पर्धा निकै रोचक बन्यो । अन्तिममा गठबन्धनको साथ पाए पनि पुनले सिजलसँग ४ हजारभन्दा बढी मतान्तरले हारे । त्यतिबेला सिजलको मत १४ हजार ९२७ थियो भने पुनको मत १० हजार ४०६ थियो । 

गठबन्धनको साथ पाएर पनि हारेपछि पुन पहिलो पटक प्रतिद्वन्द्वी सिजलसँग चिढिएका थिए । निर्वाचन सम्पन्न भएको एक महिनापछि सिजल पार्टी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई आत्मालोचना पत्र लेख्दै पुनः माओवादीमै फर्किए । यसपछि पुन सिजलसँग झन् चिढिए । 

त्यतिबेला पुनले रोल्पाका माओवादी नेताहरुलाई धोका दिएको समेत आरोप लगाए । उको अभिव्यक्ति थियो, ’गठबन्धनभित्र एउटा सहमति गर्ने, बाहिर अर्को गतिविधि गर्ने माओवादीको यो कस्तो नैतिकता हो ? मलाई हराउनकै लागि पार्टी परित्यागको क्षणिक नाटक देखाइयो ।’ 

निर्वाचनको यो घटनापछि प्रदेश सभापति पुन सिजलसँग बदला लिन उपयुक्त समयको पखाईमा थिए, जुन अवसर अहिले पाएको देखिन्छ । लुम्बिनीको मुख्यमन्त्री काँग्रेसको भागमा परेपछि पुरानो दुश्मनीको बदला लिन पुन सिजलको मन्त्री बन्ने यात्रामा पर्खाल बनेको बताइएको छ । यी दुई नेताको कारण यतिखेर लुम्बिनी सरकारको नेतृत्वकर्तालाई धर्मसंकट आइपरेको हो ।

टिप्पणीहरू