छविको घरमा जिबीको धन्दा, कविताको अर्कै फन्दा

छविको घरमा जिबीको धन्दा, कविताको अर्कै फन्दा
सुन्नुहोस्

देशभर सहकारीको सञ्जाल खडा गरी सर्वसाधारणको अरबौँ निक्षेप कुम्ल्याएर भागेका गोरखा नेटवर्क प्रालिका अध्यक्ष जिबी राई कहाँ होलान् ? यति ठूलो ठगी काण्डका मुख्य नाइके राई अहिले कहाँ छन् भन्ने प्रहरीले समेत बताउन सकेको छैन । उनलाई खोज्न डिफ्युजन नोटिशसमेत जारी भएको छ । तर, राई कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउध्देश्यीय सहकारी संस्थाका व्यवस्थापक नवीन अछामीलगायतसँग निरन्तर सम्पर्कमा रहेको र उनकै योजनामा सहकारीको डाटा सुरक्षण गराउने काम भएको पाइएको छ । 

गत माघ २५ गते नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीको शंखमूलस्थित घरमा प्रहरीले छापा मारेको थियो । गोरखा मिडिया नेटवर्कद्वारा सन्चालित ग्यालेक्सी टेलिभिजनमा जिबी र रविसँगै छोटो समय साझेदार रहेका छविको 'शंकास्पद' कारोबार' अनुसन्धानका लागि उनको घरमा छापा मारेको चर्चा भयो । तर,घर छापा मारिनुको भित्री कथा भने अर्कै पाइएको छ । 

काठमाडौँ महानगरपालिका वडा नम्बर १० स्थित जोशीको सो घरमा चार वर्षदेखि नेचर हर्ब्स कम्पनी प्रालिले कार्यालय राखेको छ । जोशीले कागज गरेर घर भाडामा दिएका थिए । प्रहरीले सहकारीका कागजात खोज्ने क्रममा घर छापा मारेको हो । 

प्राप्त प्रमाणले भन्छ- छापा मार्नुअघि जिबीको योजनाअनुसार सहकारीका डाटा मेसिन त्यहाँ राखिएको थियो । स्मरण रहोस्,नेचर हर्ब्समा जिबीकै लगानी छ । त्यहाँ मुख्य हर्ताकर्ता छन्- कुमार रम्तेलकी श्रीमती कविता तामाङ्ग । पोखराको सूर्यदर्शन सहकारी ठगीमा जेल परेका रम्तेलकी श्रीमती कविता पनि अहिले फरार छिन् । रम्तेल जिबीका अर्का पार्टनर हुन् । उनीहरुको योजनामा कवितामार्फत सहकारीका डाटा उक्त घरमा राखिएको थियो । 

लेखिएको छ -माफ गर्नुहोला,त्यो मेसिन राख्ने ठाउँ उपलब्ध गराउन म असमर्थ छु । यस संस्थाको व्यवस्थापक कविता तामाङ्गलाई पत्र लेख्नुहोला । 

शुरुमा स्वर्णलक्ष्मी सहकारीका म्यानेजर नविन अछामीले नेचर हर्ब्सकी कर्मचारी पुजना श्रेष्ठलाई सर्भर राखिदिन मौखिक आग्रह गरेका थिए । तर,उनले मानिनन् । त्यसपछि पुस १८ गते औपचारिक पत्र लेखेर सर्भर मेसिन राखिदिन पुन: दबाब दिए उनले । नेचर हर्ब्सका प्रशासन विभाग प्रमुखलाई सम्बोधन गर्दै नवीनले लेखेको पत्रमा 'स्वर्णलक्ष्मी सहकारी लगायतका संस्थाहरुको डाटा सुरक्षणका लागि अत्यन्त जरुरी भएकाले सिस्टम रुममा सर्भर मेसिन राख्न मिल्ने स्थान उपलब्ध गराई दिनुहुन' भन्ने व्यहोरा छ । 

उक्त मेसिन एवं प्रविधिको सम्पूर्ण जिम्मेवारी आफूले लिने विश्वाससमेत दिलाएका थिए नवीनले । सहकारी ठगीका सबै घटनाबारे जानकार पुजनाले पुन: अस्वीकार गर्दै सोही पत्रमा हातले लेखेर कविताको स्वीकृति बिना आफूले निर्णय गर्न नसक्ने जानकारी गराइन् । त्यहाँ लेखिएको छ - माफ गर्नुहोला,त्यो मेसिन राख्ने ठाउँ उपलब्ध गराउन म असमर्थ छु । यस संस्थाको व्यवस्थापक कविता तामाङ्गलाई पत्र लेख्नुहोला । 

त्यसपछि नवीनको आग्रहअनुसार नेचर हर्ब्सकी निर्देशक कविताले पुजनालाई मेसिन राखिदिन निर्देशन दिइन् । नवीन चैं जिबी अध्यक्ष रहेको स्वर्णलक्ष्मीका मेनेजर हुन् । सन्चालकहरु पैसा कुम्ल्याएर भागेपछि अहिले उनी आफैँ हर्ताकर्ता छन् । जानकारहरु भन्छन्- जिबीबारे सबै जानकारी उनलाई छ । 

जुनसुकै बेला अफिस जानुपर्ने हुनसक्ने भन्दै उनले सेक्युरिटीसँग छुट्टै चाबी बनाएर लिन भनेकी छन् ।

नवीन र कविताले भित्रभित्रै कुरा मिलाएपछि मेसिन राखिदिन पुजन बाध्य भइन् । तर,त्यसअघि उनले कवितासँग 'मेसिन राख्न नसक्ने' आशयको कुरा गरेकी थिइन् । यी दुईले गरेको ह्वाट्सएप कुराकानीमा सर्भर रुममा क्यामरा नभएकाले केही भैहाले आफू अप्ठेरोमा पर्ने पुजनाको चिन्ता देखिन्छ । तर,कविताले 'त्यो रुमको क्यामराले कभर गर्छ,आत्तिनु पर्दैन' भनेर आश्वस्त पारेकी थिइन् । 

कविताले 'त्यहाँ सर्भर राखेको कुरा बाहिर जानकारी नहोस्' पनि भनेकी छन् । पुजनाले 'म्यामको अप्रुभल चाहियो । सर्भर नेचर हर्ब्समा राख्न अप्रुभल दिनुहोला' भनेर लेखेको ह्वाट्सएप म्यासेजमा उनले थप शंकास्पद कुरा गरेकी छन् । जुनसुकै बेला अफिस जानुपर्ने हुनसक्ने भन्दै उनले सेक्युरिटीसँग छुट्टै चाबी बनाएर लिन पनि भनेकी छन् ।  

त्यसको केही दिनमै नेचर हर्ब्सको कार्यालयमा प्रहरीले छापा मारेको हो । पूर्वडिआइजी जोशीले यस घटनामा आफूलाई अनावश्यक मुछेर बद्नाम गरिएको गुनासो पोखे । आफूले चार वर्ष पहिले नै लिखत गरेर घर भाडामा दिइसकेको उल्लेख गर्दै उनले नेचर हर्ब्सले गर्ने कारोवारमा आफू जिम्मेवार नहुने बताए । 

घर भाडावापत काठमाडौँ महानगर पालिका १० नम्बर वडा कार्यालयलाई तिरेको आयकरको रसिद देखाउँदै जोशीले भने, 'मेरो घर हो,तर चार वर्षदेखि भाडामा छ । यसको सबै जिम्मा नेचर हर्ब्सले लिनुपर्छ ।' यसबारे अनुसन्धान गर्न पनि उनले माग गरेका छन् । 'अहिले पनि राज्यको पेन्सन खाने मान्छे हुँ । दोषी भए मलाई दोब्बर सजाय होस् नत्र यसरी बदनाम गर्न पाइँदैन', जोशीले आक्रोशित हुँदै भने ।

टिप्पणीहरू