दुई जनाबाट बालिका बलात्कृत, अस्पताल पुगेपछि घटना सार्वजनिक

दुई जनाबाट बालिका बलात्कृत, अस्पताल पुगेपछि घटना सार्वजनिक

डडेल्धुरामा १२ वर्षीया बालिका आफ्नै काकाबाट पटक-पटक बलात्कारको शिकार भएको खुलासा भएको छ । आलिताल गाउँपालिकाकी ती बालिकामाथि उनका काका र एक युवाले बारम्बार बलात्कार गरेको घटना हालै सार्वजनिक भएको हो । 

गएको सोमबार ती बालिका पर्शुराम नगरपालिकाको जोगबुडा अस्पताल पुगेकी थिइन् । सामान्य उपचारको लागि अस्पताल पुगेकी थिइन् उनी । तर, चेकजाँच गर्ने चिकित्सकले उनको शरीर र स्वास्थ्य अवस्था देखेर अचम्ममा परे । चिकित्सकले तुरुन्त प्रहरीलाई फोन गरेर अस्पतालमै बोलाए ।प्रहरीको टोलीले अस्पताल आएर ती बालिकासँग सोधपुछ गर्यो । त्यसपछि उनले आफूमाथि भएका अत्याचारका एक-एक घटना सविस्तार बताइन् ।

घटना विवरणअनुसार बाबु-आमा रोजगारको लागि भारत गएकाले उनी लामो समयदेखि वृद्ध बाजे-बजैसँग बस्दै आएकी थिइन् । गत वर्ष भदौमा नातामा काका पर्ने एक आफन्तबाट बालिका पहिलो पटक बलात्कृत भइन् । हाल ति काका पनि रोजगारको लागि भारत गएको उनले बताइन् ।
 
गत माघ ६ गते गाउँकै पुष्कार थापा (२०) नाम गरेका युवकबाट उनी दोस्रो पटक बलात्कृत भइन् । 'अहिलेसम्म यो सबै घटना किन लुकाएको त ?' भन्ने प्रहरीको प्रश्नमा उनले भनेकी छन्, 'डर लागेर ।' 

बलात्कार गर्ने दुवै जनाले घटनाबारे कसैलाई नभन्न दबाब दिएको उनले बताएकी छन् । नत्र, मारिदिने धम्कि दिएकाले अहिलेसम्म घटना लुकाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

प्रहरीले ती बालिकाको जाहेरी लिएर पुष्करलाई पक्राउ गरिसकेको छ । त्यस्तै, भारत गएका काका भनिनेलाई पनि नेपाल ल्याउन पहल थालिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी वरिष्ठ नायब निरीक्षक करवीरसिंह ऐरले जानकारी दिएका छन् ।

टिप्पणीहरू