माओवादीको विधान अधिवेशनमा यस्ता सुझाव

माओवादीको विधान अधिवेशनमा यस्ता सुझाव

 नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा केन्द्रीय अध्यक्षसहित सबै तहका कमिटी प्रत्यक्ष निर्वाचित हुनुपर्ने प्रस्ताव गरिएको छ । 

आफ्नो समूहबाट सुझाव पेश गर्ने क्रममा केन्द्रीय सदस्य हिमाल शर्माले विधानमा सबै तहका कमिटी प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने व्यवस्था राख्न प्रस्ताव गरेका हुन् । पार्टी र राजकीय नियुक्तिमा आलोपालोको व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उनले प्रदेशलाई थप अधिकार दिनुपर्ने सुझाव पनि पेश गरे ।

त्यस्तै, अर्का केन्द्रीय सदस्य दिलीपकुमार प्रजापतिले केन्द्रीय समिति चुस्त हुनुपर्नेमा जोड दिँदै पूर्णकालिन पार्टी सदस्यको व्यवस्था विधानले स्पष्ट गर्नुपर्ने बताए । केन्द्रीय सदस्य कुमार पौडेलले पार्टीलाई विधिगतरुपमा सञ्चालनका लागि विधानलाई पारित गरेर कार्यान्वयनमा लैजान सुझाव दिए । पार्टीले सत्ता सञ्चालन गर्नुपर्ने व्यवस्था विधानले नै स्पस्ट गर्नुपर्ने बताएका उनले जनयुद्धका घाइते तथा पूर्वजनमुक्ति सेनाको हकमा विशेष व्यवस्था गर्न सुझाव दिए । 

विधान अधिवेशनमा सुझाव राख्दै परशुराम रम्तेलले पार्टी एकता, आन्तरिक मूल्याङ्कन र मनोनयनलाई व्यवस्थित गर्नुपर्ने र छुवाछुतलाई गम्भीररुपमा लिने व्यवस्था गर्नुपर्ने बताए । आफ्नो समूहमा चुनाव चिह्न फेर्नुपर्ने सुझाव प्राप्त भएको उल्लेख गर्दै उनले विश्वभरका नेपालीलाई समेट्न गरी जानुपर्नेमा जोड दिए  ।

अर्का केन्द्रीय सदस्य बामदेव क्षेत्रीले विधानलाई छरितो बनाउन सुझाव दिँदै प्रदेश र स्थानीय पार्टी समितिलाई कार्यकारी बनाउनुपर्ने धारणा राखे । पार्टीका सदस्यभन्दा पनि पार्टी सुभचिन्तकको अध्यक्षमा अनुशासन समिति गठन गरेर त्यसलाई शक्तिशाली बनाउनुपर्ने उनको सुझाव छ ।

चुनाव चिह्न बदल्नुपर्ने सुझाव प्राप्त भएको उल्लेख गर्दै अर्का प्रतिनिधि हरिराज अधिकारीले नागरिकता पाएपछि पार्टीको सदस्या प्राप्त गर्ने अवस्था बनाउनुपर्ने प्रस्ताव गरे । उनले आयोगलाई शक्तिशाली बनाउनुपर्ने र सबै पार्टी समिति साना र छरितो हुनुपर्ने सुझाव दिए ।

अखिल क्रान्तिकारीका पूर्वअध्यक्षसमेत रहेका युवा नेता रञ्जित तामाङले पनि आयोगलाई क्रियाशील बनाउनुपर्नेमा जोड दिए । सरकार र पार्टीलाई समावेश गरेर सत्ता सञ्चालन समन्वय समिति बनाउनुपर्ने उनको सुझाव छ ।

झक्कुप्रसाद सुवेदीले वैज्ञानिक समाजवादमा जानेगरी प्रस्तावना लेखिनुपर्ने बताउँदै विधानमा नागरिकता पाएपछि पार्टी सदस्य दिने व्यवस्था गर्न र स्थायी समिति हटाउन आफ्नो समूहका नेताहरुले सुझाव दिएको सुनाए । पार्टी सदस्यता अनलाइनमार्फत नवीकरण गर्ने प्रवन्ध मिलाउन र पार्टीलाई प्रविधियुक्त बनाउनुपर्ने निर्मल आचार्यको सुझाव छ । उनले पनि स्थायी समितिको संरचना विधानमा राख्न नपर्ने सुझाव दिँदै पार्टी संरक्षक समिति आवश्यक रहेको बताए ।

केन्द्रीय सदस्य ओम शर्माले विधानको प्रस्तावनालाई चुस्त बनाउनुपर्ने र पार्टीको नाम फेर्नुपर्ने सुझाव आएको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचनको व्यवस्था गर्नुपर्नेमा जोड दिए । केन्द्रीयसहित सबै समितिलाई छरितो बनाउन एवं जननियन्त्रित पार्टी र पार्टी नियन्त्रित सरकार बनाउनुपर्ने उनको प्रस्ताव छ ।

आज दिउँसोदेखि सुझाव संकलन थालेको माओवादी अधिवेशनमा हालसम्म १० समूहले आ-आफ्नो समूहका तर्फबाट सुझाव पेश गरेका छन् । हिजोदेखि काठमाडौँको कमलाधिस्थित प्रज्ञा प्रतिष्ठानमा शुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो ।

टिप्पणीहरू