घरभित्र चोरिएको सामान एकाबिहानै गेटमा

घरभित्र चोरिएको सामान एकाबिहानै गेटमा
सुन्नुहोस्

चोरले चोरेको सामान फिर्ता गरेको कतै सुन्नुभएको छ ? रोचक लाग्ने एउटा यस्तै घटना छिमेकी मुलुक भारतमा भएको छ । 

घटना उसिलामपट्टीको हो । दक्षिण भारतीय चलचित्रका सफल निर्देशक एम मणिकन्दनको घरमा गत सोमबार राती चोरी भयो । स्मरण रहोस्, मणिकन्दन परिवारसहित चेन्नइस्थित घरमा बस्छन् । उसिलामपट्टीको खाली घर भने उनकै एक जना साथीले हेरचाह गर्दै आएका छन् । 

सोही घरबाट एक लाखभन्दा बढी नगद, दुई तोला सुन र एउटा झोला चोरी भयो । मणिकन्दनका साथी (घरको हेरचाह गर्दै आएका) ले त्यही रात प्रहरीलाई खबर गरे । तर, रात छिप्पिसकेको भन्दै प्रहरीले बिहानै आएर अनुसन्धान गर्ने जवाफ दियो । 

भोलिपल्ट बिहानै प्रहरी टोली त्यहाँ पुग्दा घरको गेटबाहिर एउटा झोला फेला पर्यो । शंकास्पद वस्तु हुनसक्ने अनुमान गरेको प्रहरीले सावधानीपूर्वक झोला खोल्यो । तर, पुरस्कारका मेडल र एउटा सानो कागजको टुक्रा झोलाभित्र भेटियो । कागजमा लेखिएको थियो– ’माफ गरिदिनुस् साहेब ! तपाईंको मेहनत केवल तपाईंकै हो ।’  

चोरले फर्काएको झोलामा चलचित्र ’काका मुत्तई’ र ’कदैसी विवासयी’बाट मणिकन्दनले पाएको ’राष्ट्रिय निर्देशक अवार्ड’ का मेडलहरु थिए । पैसा र सुन नफर्काए पनि चोरले पुरस्कार–मेडल फर्काएको उक्त घटनाले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । 

चोरीमा संलग्नहरुको मानवीय संवेदना र पुरस्कारप्रति देखाएको सम्मानको समर्थन गर्दै सञ्जाल प्रयोगकर्ताहरुले सकारात्मक टिप्पणी गरेका छन् । एक जनाले लेखेका छन्, ’चोर्नु आफैंमा गलत काम हो । तर ती चोरले अरुको मेहनतलाई राम्ररी महशुस गरेका रहेछन् ।’ तर, प्रहरीले हालसम्म चोर पत्ता लगाउन सकेको छैन ।

टिप्पणीहरू