प्रहरी परिवारमा आफै असुरक्षित,छुट्टीमा जाँदा हतियार बोक्न छुट !

प्रहरी परिवारमा आफै असुरक्षित,छुट्टीमा जाँदा हतियार बोक्न छुट !
सुन्नुहोस्

वैवाहिक सम्बन्धमा खटपट हुँदा एक जना प्रहरी सहायक हवल्दारले आफ्नै श्रीमतीलाई गोली हानी हत्या गरेका छन् । हिजो राति साढे ८ बजे सहायक हवल्दार यामबहादुर झाँक्रीले प्रहरीमै कार्यरत श्रीमती धनमाया थापामगरलाई गोली प्रहार गरेका हुन् । 

गोली प्रहारबाट गम्भीर घाइते भएकी उनको स्वास्थ्य विज्ञान प्रतिष्ठान,घोराहीमा उपचारको क्रममा ज्यान गएको थियो । सुर्खेतको पञ्चापुरी नगरपालिका–९, विद्यापुर घर भई हाल दाङको घोराहीस्थित वडा प्रहरी कार्यालयमा कार्यरत थापामगर घोराही उपमहानगरपालिका–१४, दामोदर चोकमा ड्युटीमा खटिएकी थिइन् । 

नेपाल प्रहरी आवासीय माविमा दरबन्दी भई कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कार्यरत प्युठानका झाँक्रीले ड्युटीमै रहेको अवस्थामा श्रीमतीलाई गोली हानेका हुन् । भे १२ प ११५० नम्बरको पल्सर २२० मोटरसाइकलमा आएका उनी गोली प्रहार गर्नेबित्तिकै फरार भएका थिए । वडा प्रहरी कार्यालय,लमहीबाट खटिएको टोलीले उनलाई लमही नगरपालिका–६, अर्जुन खोलाबाट पक्राउ गरेको हो । 

उनको साथबाट लोड गरेको बेरेटा नाइन एमएम पेस्तोल एक थान, त्यसमा लाग्ने म्यागेजिन एक थान र सात राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय, दाङले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) जनकबहादुर मल्लका अनुसार उनी हाल हिरासतमा छन् । 

प्रारम्भिक अनुसन्धानमा उनीहरुबीच केही महिनायता मनमुटाव देखिएको पाइएको डिएसपी मल्लले बताए । ‘हामीले सोध्दा सम्बन्धमा खटपट भएकै कारण यो कदम चालेको उनले बताएका छन् । मृतक थापामगरले सम्बन्धविच्छेदको मुद्दासमेत दायर गरेको उनको भनाइ छ । अहिले उनको बताएको यत्ति हो, अनुसन्धान भइरहेको छ’, उनले भने । यससङ्गै हतियार दुरुपयोगको प्रश्न पनि उठेको छ-छुट्टीमा घर जाने सेना,सशस्त्र र प्रहरीलाई हतियार बोक्ने छुट किन दिइन्छ ?

टिप्पणीहरू