२० लाख चोरेपछि ठमेलको डान्सबार पुगेर छ लाख स्वाहा

२० लाख चोरेपछि ठमेलको डान्सबार पुगेर छ लाख स्वाहा
सुन्नुहोस्

कालीमाटीमा पसल फुटाएर चोरिएको २० लाखमध्ये चोरले ठमेल पुगेर छ लाख स्वाहा पारेको तथ्य खुलेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ फाँटबारी घर भएका २२ वर्षीय लोकसिंह ठगुन्नालाई प्रहरीले पक्रेपछि उक्त तथ्य खुलेको बताइन्छ। 

गत माघ २७ गते कालिमाटीस्थित मनोजकुमार गुप्ताको अमन खाद्य स्टोरको सटरको ताल्चा फुटाएर २० लाख नगद चोरिएको थियो । पैसा चोर्ने उनै ठगुन्ना राति नै पठाओ चढेर ठमेल पुगेको अनुसन्धानबाट खुलेको छ ।

 
प्रहरीका अनुसार त्यसपछि उनी दिनहुँ विभिन्न डान्सबार र क्लबमा जान थाले । साथमा टन्न पैसा भएकाले महँगा मदिरा पिएको उनले बताएका हुन् ।

खाद्य स्टोरको सिसिटिभी क्यामराको सहयोगमा ठगुन्ना पक्राउ परेपछि वास्तविकता खुलेको हो । एक साताको अवधिमा ठगुन्नाले खर्च गरेर बाँकी रहेको १३ लाख ९६ हजार ५६५ रुपैयाँ प्रहरीले जफत गरेको छ । झण्डै छ लाख भने उनले डान्सबार र क्लबमा सकाएको बयान दिएको प्रहरीको भनाई छ ।

टिप्पणीहरू