आमाले आत्मदाह गर्न खोज्दा पाँच वर्षे छोरीको निधन

आमाले आत्मदाह गर्न खोज्दा पाँच वर्षे छोरीको निधन

झापामा एक महिलाले आत्मदाहको प्रयास गर्दा छोरीको ज्यान गएको गएको छ । आमाले छोरीलाई आफ्नो शरीरमा बाँधेर आत्मदाह गर्न खोज्दा उक्त घटना भएको हो ।  

प्रहरीका अनुसार बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडा घर भएकी माया रम्तेल (२८)ले छोरी वर्षा रम्तेल(५)लाई शरीरमा बाँधेर आत्मदाह प्रयास गरेकी हुन् । उनले शुक्रबार राति ९ बजेतिर छोरीलाई सलले आफ्नो शरीरमा बाँधेर पेट्रोल खन्याई आगो लगाएकी थिइन् । त्यसपछि केही स्थानीयले देखेपछि आगो निभाएर आमाछोरीलाई उपचारका लागि तत्काल बिएन्डसी अस्पताल पुर्याएका थिए । 

तर, आज बिहान छोरी वर्षाको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार मायाको अवस्था पनि गम्भीर छ । उनको शरिरको ९० प्रतिशत अंगहरु आगोले जलेको छ । 

श्रीमान राजन विकको कारण मायाले आत्मदाहको प्रयास गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनास्थलमा मायाले लेखेको 'सुसाइड नोट' फेला परेको जानकारी दिदैँ  प्रहरी निरीक्षक गिरीले श्रीमानले अर्की युवतीसँग सम्बन्ध बनाएकै कारण घटना भएको बताए । 

उनका अनुसार उक्त सुसाइड नोटमा मायाले 'श्रीमानले अर्की युवतीसँग सम्बन्ध गाँसेपछि बाध्य भएर आफूले आत्ममदाह'को निर्णय लिनुपरेको आशय व्यक्त गरेकी छन् । प्रहरीले राजनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।
 

टिप्पणीहरू