लाज पनि लजाउने मन्त्रीको हर्कत

लाज पनि लजाउने मन्त्रीको हर्कत
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माघ २७ गते सोनाम ल्होसारको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा तामाङ समुदायका एक जनालाई मन्त्री बनाउने आश्वासन दिए । जुन कार्यक्रममा जान्छन्, त्यही समुदायलाई खुशी बनाउने गरी अभिव्यक्ति दिनमा उनी माहिर छन् । प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन हुने निश्चित भइसकेको भनेको त्यही कार्यक्रममा अघिल्लो वर्ष कबोलेको सहयोग दिन नसकेकोमा खिन्नता व्यक्त गरे । अर्थात् प्रधानमन्त्रीले घोषणा गरेको नगद यो पटक दिने वाचा सुनाए । 

अहिले गठबन्धन सरकारको नेतृत्व गरिरहेका प्रचण्डले घोषणा गरेका सबै कार्यक्रम कार्यान्वयन गर्न सक्ने अवस्था छैन । यदि तामाङ समुदायलाई मन्त्री बनाउने हो भने आफ्नै पार्टीबाट बनाउने हो त ? पक्कै हैन । 

पुस १० गते प्रधानमन्त्री नियुक्त भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन निकै समय लाग्यो । डेढ महिनाको रिक्ततापछि परराष्ट्रले बल्ल नेतृत्व पायो । दलीय भागबण्डाका आधारमा नेपाली कांग्रेसका नेता एनपी साउद मन्त्री भए । खासगरी, रुस–युक्रेन युद्धपछि शक्तिराष्ट्रबीच देखिएको ध्रुवीकरणको असर नेपालमा परिरहेका बेला उनी मन्त्री नियुक्त भएका हुन् । चीन र भारतको सुरक्षा चासो तथा अमेरिकाको उपस्थितिलाई सन्तुलित बनाउनुपर्ने चुनौतीका बीच साउद मन्त्री भए ।

शक्ति राष्ट्रको भ्रमण र चहलपहल बढिरहेकै बेला गत फागुन १५ यता डेढ महिना परराष्ट्र मन्त्रालय नेतृत्वविहीन रह्यो । वैशाख ३ गते मन्त्री नियुक्त उनले विशेषगरी भारतसँग लिपुलेक र कालापानी क्षेत्रमा देखिएको सीमा विवाद, खुला सीमाका कारण बढ्दै गएको सुरक्षा चुनौती, भारतकै अवरोधका कारण भैरहवाको गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुट पाउन नसकेका विषयमा पहल गर्नुपथ्र्यो तर १० महिना बितिसक्दा पनि ती काममा कुनै प्रगति छैन । 

परराष्ट्र मन्त्रालय भनेको कूटनीतिलाई नवीकरण गर्ने, सम्बन्ध प्रगाढ बनाउने र सुमधुर राख्ने नै हो । त्यसैले कर्मचारीदेखि सचिव र मन्त्रीमा कूटनीतिक चातुर्यता र निपुणता पहिलो शर्त हो । तर, प्रचण्ड नेतृत्वको सरकार बनेदेखि भने कूटनीतिक कमजोरी छताछुल्ल भइरहेको छ । कूटनीतिक भाषा, शैली र ज्ञानको अभावले नेपालको स्तर खस्कँदो छ । मन्त्री एकपछि अर्को कूटनीतिक गल्ती दोहो¥याइरहेका छन् ।

मन्त्री नियुक्त भएयता साउदले इजरायल–हमास द्वन्द्व हुनुपूर्व ७ वटा देशको भ्रमण गरे । द्वन्द्वको समयमा नेपालीलाई स्वदेश फर्काउन विमान लिएर आफंै इजरायल पुग्दा वाहवाही कमाए । तर, हमासबाट बन्धक भएका विपिन जोशीलाई छुटाउन सकेनन् । कतार, इजरायललगायत देशका राजदूतसँग भेटेर विपिनको रिहाइका लागि पहल गरेको भने पनि ठोस परिणाम निस्किएको छैन । कूटनीतिक रूपमा सबल नहुँदा पहिलो पटक भएको युद्धविराममा जोशी परेनन् । त्यसबीच साउद कतार पनि पुगे तर, सफलता हात परेन । 

डिसेम्बर ५ मा परराष्ट्र मन्त्रालयले पहिलो पटक रुस–युक्रेनबीच जारी युद्धमा रुसी सेनामा भर्ती भएका ६ जना नेपालीको मृत्यु भएको औपचारिक पुष्टि ग¥यो । देश नै नलडेको युद्धमा हालसम्म १२ जनाको मृत्यु भइसकेको छ । कयौँ युवा बन्धक छन् । तर सरकारसँग त्यसको यकिन तथ्यांक छैन । युगाण्डामा भएको परराष्ट्रमन्त्रीस्तरीय साइडलाइनमा नेपालले राखेको कुराप्रति रुसले कुनै चासो नै दिएन । त्यसपछि स्वदेश फर्किएर प्रधानमन्त्रीले रुसी सेनामा भर्ती नहुन र भर्ती भए सरकारले जिम्मा नलिने गैरजिम्मेवार अभिव्यक्ति दिए । प्रधानमन्त्रीको यो भनाइले नै रुसी सेनामा भइरहेको भर्ती रोक्न रुस इच्छुक छैन भने सरकारको सामथ्र्यले भ्याएन भन्ने नै थियो । 

विदेशमा रहेका नेपालीको समस्या समाधान गर्ने पहिलो दायित्व तालुकदार मन्त्रालयकै हो । तर रुसबाट गुहार मागिरहेकाहरूको गुहार सुनेर पनि सरकार बेखबरजस्तो छ । बरु शरीरमा गोली र छर्रा बोकी दलाललाई पैसा बुझाएर केही युवा आफ्रै स्वदेश फर्किएको खबरले साउदलाई कत्ति लाज लागेको होला ? रुसमा नेपाली युवा मरिरहेको समाचार सार्वजनिक भएपछि पनि साउदले ६ देशको भ्रमण गरिसकेका छन् । परराष्ट्र मन्त्री भएपछि साउद १५ वटा भ्रमणमा १४ देश पुगिसकेका छन् । उनी पुगेका देश र मितिको सूची हेरौं एक पटक : 

मे ३– बेलायत, मे ११– बंगलादेश, मे २७– प्रधानमन्त्रीसँग भारत, जुलाई ३– अजरबैजान, जुलाई १६– थाइल्याण्ड, सेप्टेम्बर ११– अमेरिका, सेप्टेम्बर २१– चीन, १२ अक्टोबर– इजरायल, २९ अक्टोबर– अमेरिका, ९ डिसेम्बर– कतार, १२ डिसेम्बर– स्विट्जरल्याण्ड, १३ डिसेम्बर– अर्मेनिया, २० डिसेम्बर– श्रीलंका, १९ जनवरी– युगाण्डा, ९ फेब्रुअरी– अष्ट्रेलिया, १४ फेब्रुअरी– न्युजिल्याण्ड ।

परराष्ट्रमन्त्रीको विदेश भ्रमणले के पायो ? लाज । बेइज्जती । कूटनीतिक अपरिवक्वता । असफलता । यस्तै यस्तै त हुन् । कूटनीतिक चातुर्यता देखाउन नसकेका मन्त्रीले भारतीय टिभी च्यानलसँग गरेको संवादमा अंग्रेजीमा दिइएको अभिव्यक्तिले झन् कूटनीतिको खिल्ली उडाएको छ । प्रश्न नै नबुझी दिएको उत्तरको पनि तारतम्य मिलेको छैन । 

अष्ट्रेलिया भ्रमणमा रहेका साउदले यसरी प्रश्न नै नबुझी दिएको जवाफले थप कमजोरी र अज्ञानता त छचल्किएको छ, नै कसरी समन्वय गर्न सक्लान् भन्ने प्रश्नसमेत उब्जिएको छ । विदेशमा मात्रै हैन स्वदेशमा पनि परराष्ट्रमन्त्रीले आफ्नो छवि बचाउन सकेका छैनन् । भारत भ्रमणका क्रममा भारतले नेपालको चुच्चे नक्सालाई मान्यता नदिएको बारे बेखबर रहेको बताउनेदेखि भारतीय समकक्षी एस. जयशंकरको नेपाल भ्रमणको बेला स्वागत र बिदाईनिम्ति विमानस्थलमै पुग्नुले उनको हैसियत देखिएको छ ।

परराष्ट्रमन्त्री आफ्नो समकक्षीको ‘सवारीमन्त्री’ बनेको आमनागरिकलाई कत्ति पनि चित्त बुझेको छैन । यी त देखिने कुरा भए । नदेखिने कमजोरी कति छन् कति ? परराष्ट्रमन्त्रीले आफ्नो काम विदेश घुम्ने र मुख फेर्ने मात्रै हो भन्ने बुझेका छन् भने भन्नु केही छैन । कूटनीतिमा अल्पज्ञानम् भयंकर हुन्छन् । परराष्ट्र मन्त्रालय कुनै दलको नेतालाई जागीर खुवाउने थलो मात्रै हो भन्ने भ्रमबाट साउदको पार्टी नेतृत्व शेरबहादुर देउवा र सरकारको नेतृत्वकर्ता पुष्पकमल दाहाल प्रचण्ड पनि मुक्त हुनु जरुरी छ ।
 

टिप्पणीहरू