जनआस्था अनुसार न्यायपालिका चल्नुपर्नेमा प्रधानन्यायाधीशको जोड
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकालाई आम नागरिकको भरोसाको केन्द्रको रुपमा स्थापित गर्न आत्मसमिक्षा जरुरी रहेको बताउनुभएको छ ।
सर्वोच्च अदालत बार एशोसिएशनले आज आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । प्रधानन्यायाधीश श्रेष्ठले स्वच्छ, निष्पक्ष, छिटोछरितो र गु्णस्तरीय न्याय सम्पादन आम नागरिकको अपेक्षा भएकाले त्यसतर्फ कानुन व्यवसायीहरुले भूमिका खेल्नुपर्नेमा पनि जोड दिनुभयो ।
‘न्यायपालिकालाई आम नागरिकको भरोसाको केन्द्रको रुपमा स्थापित गर्न बार एसोसिएसन तथा कानून व्यवसायीहरुको भूमिका महत्वपूर्ण हुन्छ भन्ने मेरो मान्यता रहेको छ’, उहाँले भन्नुभयो, ‘संविधान र आम नागरिकको न्यायपालिकाप्रतिको अपेक्षा भनेको स्वच्छ, निष्पक्ष, छिटोछरितो, गु्णस्तरीय एवम् प्रभावकारी न्याय सम्पादन नै हो ।’
त्यसक्रममा उहाँले अदालत र कानून व्यवसाय न्यायपालिकाको अन्तरसम्बन्धित, परिपूरक र अनोन्याश्रित पक्षभएको उल्लेख गर्दै सबैले आ–आफ्ना जिम्मेवारी आत्मसात गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।
‘स्वतन्त्र, निष्पक्ष, सक्षम र जनआस्थामा आधारित न्यायपालिकाविना कानुन व्यवसायीको प्रवद्र्धन हुन सक्दैन । त्यसैगरी सवल, सक्षम र सुदृढ कानुन व्यवसायीहरु बिनासक्षम र प्रभावकारी न्यायपालिकाको परिकल्पना गर्न सकिँदैन । हामी सबैले यो शास्वत सत्यलाई आत्मासात गर्न सक्नुपर्दछ । हाम्रा भूमिका र जिम्मेवारीहरु फरक छन् । तर लक्ष्य एउटै हो’, प्रधानन्यायाधीशको भनाई छ ।
प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाप्रतिको आस्था र विश्वासलाई उँचो बनाएर मात्रै न्यायपालिका र कानून व्यवसायीहरु पनि विश्वासिलो बन्नसक्ने पनि बताउनुभयो । आम नागरिक विश्वस्त हुने किसिमको वातावरण निर्माण एवं ठोस र नतिजामूलक कार्य सम्पादन अहिलेको प्रमुख आवश्यकता रहेको उहाँको भनाई छ ।
अहिले न्यायपालिकालाईं विश्वास प्राप्त संस्थाको रुपमा स्थापित गर्ने संसारभर नै चुनौती रहेको उल्लेख गर्दै प्रधानन्यायाधीश श्रेष्ठले जनआस्थाअनुसार अदालत चल्नुपर्नेमा आफूहरुको जोड रहँदै आएको प्रष्ट पार्नुभयो ।
टिप्पणीहरू