पिता विद्यार्थी पढाउने, पुत्र बाटोमा डिएसपी हुँ भन्दै थर्काउने

नेपाल प्रहरीको नामको दुरुपयोग गर्दै गैरकानुनी कार्य गर्ने क्रम पछिल्लो समय ह्वात्तै बढेको छ ।  फागुन १ गते प्रहरीले एक जना नक्कली असईलाई पक्राउ गर्यो । 

असई भन्दै ठगी गरेको आरोपमा बैतडीको पुचौडी नगरपालिका–६ की २४ वर्षीया अमिलाकुमारी साउद समातिएकी हुन् । राष्ट्रिय अनुसन्धान विभागको सिपाही पदमा जागिर मिलाइदिने प्रलोभन देखाएर उनले डेढ लाख रुपैयाँ ठगेको भन्दै पीडितले जाहेरी दिएकी थिइन् । 

सो घटनाको एक साता बित्न नपाउँदै एक जना नक्कली डिएसपी समातिए । आफूलाई डिएसपी भन्दै एक जना मधेशी युवालाई थर्काउने ५२ वर्षीय प्रविन श्रेष्ठलाई प्रहरी वृत्त, दरबारमार्गले नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार उनी प्रहरी कर्मचारी होइनन् । उनले सार्वजनिक स्थलमा डिएसपी हुँ भन्दै नैतिकताविरुद्धको कसूर गरेको परिसरको भनाइ छ । गत शनिबार राति लाजिम्पाट क्षेत्रमा गाडी साइड लगाउने विषयमा चर्को विवाद भएको थियो । 
सो भिडियो हाल सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियोमा श्रेष्ठले वीरगञ्ज निवासी अंकित गुप्तालाई अपशब्द प्रयोग गरेको सुन्न सकिन्छ । शालिन भाषामा बोलिरहेका गुप्तामाथि उनी जाइलागेका छन् । 

श्रेष्ठले ‘तेरो बाउको बाटो हो’,‘तँ इण्डियन नागरिकता छ कि छैन्, देखा’,‘म डिएसपी हुँ, थुनिदिऊँ तलाईं ..’, लगायतका अश्लील गालीगलौज गरेका छन् । रातको समय मदिरा सेवन गरेर अरुमाथि दुर्व्यवहार गर्ने उनलाई कारबाहीको माग गर्दै सामाजिक सञ्जाल तातिएको छ । 

एक जना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्,‘यस्तो छाडा बोल्नेको लागि कानुन छैन नेपालमा ? ’ त्यस्तै, अर्काले भनेका छन्,‘यो मान्छेले एकदमै नराम्रो शब्द प्रयोग गरेर धम्की दिँदै गरेको भिडियोमा देखिन्छ,गाडीमा सायद महिला पनि हुनुहुन्थ्यो, यस्तो बद्नाम मान्छेलाई कडा कारबाही हुनुपर्छ ।’

प्रहरी वृत्त, दरबारमार्गका एक अधिकृतका अनुसार उनलाई रिहा गरिएको छ । दुवै पक्षबीच सहमतिपश्चात श्रेष्ठलाई छोडिएको उनको भनाइ छ । ‘उहाँको मानसिक अवस्था ठीक रहेनछ । त्यसपछि हामीले दुवै पक्षलाई राखेर सहमति गरायौं अनि उहाँलाई रिहा गर्यौं । अहिले उहाँको उपचार भइरहेको छ’, ती अधिकृतले भने । 

काठमाडौं महानगरपालिका–४, चुनदेवी बस्दै आएका श्रेष्ठ तनहुँको बन्दीपुर निवासी चिजकुमार श्रेष्ठका छोरा भएको खुलेको छ । अकेला सरको नामले परिचित समाजसेवी तथा शिक्षाविद उनका पिता अमेरिकाको ‘पिस कोर्प्स’ नामक संस्थामा कार्यरत थिए । 

केही समययता उनी एशिया एजुकेशन फाउण्डेशन भन्ने संस्थाको उपाध्यक्ष छन् । थुप्रै संस्थामा काम गरिसकेका र हजारौं विद्यार्थीलाई पढाएका पिताका पुत्रलाई पुनः नैतिकता र सभ्यताको पाठ पढाउनुपर्ने देखिएको छ । लामो समयदेखि शिक्षण क्षेत्रमा रहेका व्यक्तिको छोरा रातको समयमा नशा चढाएर सडकमा अर्कालाई गालीगलौज गर्दै हिँड्नु लज्जास्पद देखिन्छ। 

टिप्पणीहरू