खाजा नल्याएको निहुँमा विद्यालयमै कुटिए सवारी चालक

खाजा नल्याएको निहुँमा विद्यालयमै कुटिए सवारी चालक
सुन्नुहोस्

नवलपुरको मुकुन्दसेन इङ्ग्लिस बोर्डिङ्ग स्कूलका सवारी चालकमाथि हातपात भएको छ । गैडाकोट नगरपालिका–१२ निवासी चालक कमल आचार्यमाथि सोही स्थानका विष्णु गौतमले हात हालेका हुन् । 

गत फागुन ६ गते स्कूलको भ्यानमा विद्यार्थी घर पुर्याउन जाने क्रममा गौतमले कुटपिटका साथै हातपात गरेको उनको भनाइ छ । उनका अनुसार मादक पदार्थ सेवन गरेका गौतमले सिख्रौली चोकमा गाडी रोक्न लगाएर चाबी खोसेका थिए । 

त्यसपछि आफ्नो अनुहार र टाउकोमा हिर्काएको उनी बताउँछन् । उनले आचार्यलाई ज्यान मार्ने धम्कीसमेत दिएको बताइन्छ । सो घटनापछि गौतम पुनः स्कूलमा आएरसमेत हातपात गरेको उनले सुनाए । यता,सिसिटिभी फुटेजमा गौतमले उनलाई विद्यालयको प्रशासन कोठामै चड्कन हानेको देखिन्छ । 

आचार्यले आफ्नो कुरा राखिरहँदा उनी रिसाएर आएर थप्पड हिर्काएका हुन् । आचार्यले आफ्नो ज्यानको सुरक्षा माग्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । उनको निवेदनपछि प्रहरीले गौतमलाई पक्राउ गरेको छ । खाजा नल्याइदिएको रिसमा हिर्काएको कुरा प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू