यसकारण कटारीमा मेडिकल कलेज
- सन्तोष बराइली
केन्द्रीकृत राज्य व्यवस्थाका कारण मुलुक पछाडि परेको निष्कर्षसहित माओवादीले २०५२ फागुनमा सशस्त्र क्रान्ति थाल्यो । सोही क्रान्तिको जगमा ऐतिहासिक जनआन्दोलनको अद्भूत सफलतासँगै केन्द्रीकृत राजतन्त्रको स्थानमा विकेन्द्रीकृत शासन प्रणाली अवलम्बन गरियो । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै सामान्तवादसँगको संघर्ष सकिएको आभासमा मुलुक समाजवाद उन्मुख यात्रामा होमिएको छ ।
संविधानमा धर्म निरपेक्ष राज्य घोषणा गरेर संघ, प्रदेश र अधिकारसम्पन्न तीन तहको सरकारको परिकल्पनालाई व्यवहारमै उतारिएको छ । तर, वर्तमान नेतृत्व अल्मलिँदा पिछडिएका भूगोल, जाति, भाषा संस्कृति र वर्गको अपेक्षाकृत उत्थान हुन सकिरहेको छैन । केन्द्रले प्रदेशलाई अधिकार दिन आनाकानी गरेको विषयमा लामो समयदेखि बहस हुँदै आइरहेको छ ।
शहरले गाउँलाई हेर्ने दृष्टिकोणमा कुनै परिवर्तन नआएको आम सर्वसाधारणको गुनासो छ । प्रमुख प्रशासकीय केन्द्र, सिंहदरबारमा समाजवादउन्मुख नाटक मञ्चन भइरहँदा गाउँमा खासै प्रभाव परेको छैन । प्रसङ्ग हो, सरकारद्वारा सबै प्रदेशमा स्थापना गर्न लागिएको मेडिकल कलेजको । सरकारले सातै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज बनाउने प्रक्रिया अघि बढाएको छ ।
उदयपुरमा कलेज स्थापनाका लागि सरकारले जग्गा खोजी तीव्र बनाएको छ । आफ्नो पालिकामा कलेज बनाउनुपर्ने भन्दै यतिबेला स्थानीय पालिकाहरुबीच ठास्सठुस्स चलेको छ । कलेज बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयअनुरुप जग्गा खोजी शुरु भएसँगै विभिन्न पालिकाबीच घोषित टकराव देखिएको छ ।
यो अवस्थामा संघीयताका प्रखर पक्षधर वर्तमान शिक्षामन्त्री अशोक राईले के गर्नुहोला ? त्यो भने हेर्न बाँकी छ । कलेज राजनीतिक स्वार्थपूर्तिको आहारा बन्छ कि पिछडिएको भूगोल केन्द्रित हुन्छ ? केही समयमै छर्लङ्ग हुन्छ । सदरमुकाम गाईघाट कि कटारीमा कलेज बनाउने भन्ने विषयमा स्थानीय पालिकाहरुबीच चर्को आरोप प्रत्यारोप चलेको छ । कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले आफ्नो पालिकामा कलेज स्थापना गर्नुपर्ने बताइरहँदा त्रियुगा नगरपालिकाले पछि नहट्ने अडान लिएको छ ।
स्थानीयले भने यो विवादलाई राजनीतिक दलका नेताहरुले निम्त्याएको आरोप लगाउँदै आएका छन् । सरकारको प्रारम्भिक अध्ययनले कटारीलाई उपयुक्त भनेको तथ्यलाई बङ्गाउँदै त्रियुगाले सरकारले गाईघाटलाई उपयुक्त ठहराएको दावी गरेको छ । त्रियुगाले मेडिकल कलेज स्थापनाको निम्ति जग्गा उपलब्ध गराउने निर्णयसमेत भइसकेको जनाएको छ ।
नागरिक अगुवा, बुद्धिजीवीहरुले गाईघाटको सट्टा कटारीमा कलेज स्थापना उपयुक्त हुने तर्क दिएका छन् । पहिलो कटारीमा कलेज स्थापनार्थ आवश्यक सार्वजनिक र ऐलानी जमिन प्रशस्तै छ । आदिबासी कछाडे दनुवार समुदायको बाहुल्यता रहेको कटारीमा सरकारका ठूला आयोजनाहरु हालसम्म सञ्चालन भएका छैनन् । न ठूला विकास परियोजनाहरु नै परेका छन् ।
कलेज कटारीमा हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुईपटक चुनाव जितेको सिरहा क्षेत्रका जनतासमेत प्रत्यक्ष लाभान्वित हुनेछन् । सिन्धुली, ओखलढुंगा, खोटाङ, सोलुखुम्बु र भोजपुरको पश्चिमी भेगका नागरिकले पनि उपचार सहज रुपमा पाउँछन् । अर्को स्मरणीय सत्य के हो भने निजी सिमेन्ट उद्योगका लागि चुनढुंगा बोक्ने दैनिक सयभन्दा बढी ट्रिपर कटारीबाट गुड्छ ।
ट्रिपर कुदाउँदा निस्किएको धुवाँधुलोले स्थानीय रोगी हुँदै गएका छन् । यसले उनीहरुको स्वास्थ्योपचारलाई पनि प्रत्यक्ष राहत पुर्याउनेछ । गाईघाटबाट सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह मेडिकल कलेज र धरानस्थित घोपा क्याम्प आधा घण्टाको दूरीमा पर्दछ । भर्खरै बनेको मदन भण्डारी राजमार्ग सञ्चालनमा आउनुअघि कटारीबासीले सदरमुकाम गाईघाट पुग्न सिरहा र सप्तरी पार गर्नुपर्दथ्यो ।
पहिलैदेखि उपेक्षामा परेको कटारी आसपास क्षेत्रमा अथाह चुन ढुंगाको खानी भएकाले सरकारले गाईघाटमा उदयपुर सिमेन्ट उद्योग स्थापना गरेको हो । जुन अहिले चरम घाटामा छ । त्यसैले विकन्द्रीकृत व्यवस्थालाई यथार्थ ढंगले कार्यान्वयनमा लैजोने हो भने मेडिकल कलेज गाईघाटको सट्टा कटारीमा स्थापना गर्नुमा सबैको भलो देखिन्छ ।
टिप्पणीहरू