तीन मन्त्रीको राजीनामा माग्दै विपक्षीद्वारा आन्दोलनको चेतावनी
प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित विपक्षी दलहरुले संसद अवरुद्ध पार्ने चेतावनी दिएका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा एमाले, रास्वपालगायत प्रतिपक्षी दलका सांसदहरुले विवादमा परेका तीन मन्त्रीले राजीनामा नदिए सदन अवरुद्ध बनाउने चेतावनी दिएका हुन् ।
रास्वपाका सांसद विराजभक्त श्रेष्ठले बालकुमारी घटनामा दोषी ठहर भैसक्दा पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएको भन्दै आक्रोश व्यक्त गरे । सदनप्रति सरकार जवाफदेही नभए सडकसमेत अवरुद्ध पारिने उनको चेतावनी छ ।
एमाले सांसद रघुजी पन्तले पनि मन्त्री ज्वालाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । त्यस्तै, अख्तियारको छानवीनमा परेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र लुम्बिनीस्थित रामग्रामको जग्गा भाडामा लगाउने विवादास्पद निर्णय गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँती पनि पदमा बस्न नमिल्ने उनको दावी छ ।
'अविलम्ब विवादमा परेका मन्त्रीहरुले राजीनामा दिनुपर्यो', पन्तले भने, 'बालकुमारी घटना हुनासाथ सम्बन्धित मन्त्रीले त्यही दिन राजीनामा दिनुपथ्र्यो ।’
झण्डा हल्लाउँदै मन्त्री बयान दिन गएको दुर्शशापूर्ण स्थिति देखिएको भन्दै उनले प्रधानमन्त्रीको समेत आलोचना गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि कानूनविपरित ठहरिएको रामग्रामको कार्यक्रमा उद्घाटन गर्न गएको भन्दै पन्तले त्यसको जवाफ माग गरे ।
तीन मन्त्रीले राजीनामा नगरेमा एमाले चुप लागेर नबस्ने उनको चेतावनी छ ।
टिप्पणीहरू