संसद अवरोध गरेर सत्ता प्राप्तिको अभिलाषा नराख्न सुझाव

संसद अवरोध गरेर सत्ता प्राप्तिको अभिलाषा नराख्न सुझाव

नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले संसद अवरोध गरेर सत्ता प्राप्ति गर्ने अभिलाषा नराख्न प्रतिपक्षी दलहरुलाई सुझाव दिएका छन् । 

आज बसेको प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उनले संसद प्रभावित पारेर सत्तामा पुग्ने अभिलाषा नराख्न प्रमुख प्रतिपक्ष नेकपा एमालेसहितका विपक्षी दललाई आग्रह गरेका हुन् । प्रतिपक्ष संसद चलाउने मुडमा नरहेको जस्तो आफूलाई महशुस भएको बताउँदै सांसद केसीले कार्यतालिका अनुसार संसदले काम गर्नुपर्ने बताए । 

‘झट्ट हेर्दा प्रतिपक्ष संसद चलाउने मुडमा छैन । पटकपटक अवरोध गर्ने मुडमा छ । मलाई लाग्दछ, संसदको काम भनेको कानून निर्माण गर्ने हो । एक वर्षमा एउटा कानून निर्माण भयो । आम जनतामा असन्तोष छ', उनले भने, 'म प्रतिपक्षका साथीहरुलाई भन्न चाहन्छु, विवाद हुनसक्छ तर संसद अवरोध गरेर त्यहाँबाट सत्ता प्राप्त गर्छु भन्ने अभिलाषा नराख्नुहोला ।'

सांसद केसीले कार्यतालिका ल्याएर संसद सञ्चालन गर्नेकुरा स्वागतयोग्य भएको बताए । 

प्रमुख प्रतिपक्ष एमालेसहित रास्वपा र राप्रपाका सांसदहरुले बालकुमारी घटनामा 'दोषी' भनिएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाकोराजीनामा माग्दै केहीबेर  संसद बैठक अवरुद्ध पारेका थिए । त्यसको विरोधमा सत्ता पक्षका सांसद केसीले उक्त भनाई राखेका हुन् ।

टिप्पणीहरू