दम्पतिको अविश्वास र कलहले परिवारै सखाप

दम्पतिको अविश्वास र कलहले परिवारै सखाप
सुन्नुहोस्

राजधानीमा पछिल्लो दुई साताभित्र दुई वटा परिवारका छ जना सदस्यको ज्यान गएको छ । ललितपुरको इमाडोलमा अघिल्लो महिना र काठमाडौंको स्वयम्भू नजिकै अस्ति श्रीमान र श्रीमतीबीचको बेमेल एवम् अविश्वासले परिवारका नाबालक सदस्यहरुकोसमेत ज्यान गएको छ ।

अस्तिको घटनामा पारिवारिक कलहका कारण श्रीमती, छोरी र नातिनीको हत्यापछि पुरुषले आत्महत्या गरेको पाइएको छ । नागार्जुन नगरपालिका वडा नम्बर ६, भैरवटोलस्थित डेरामा बस्दै आएका सोलुखुम्बुका ३७ वर्षीय राजु घिमिरे भन्ने काजी विश्वकर्माले ३९ वर्षकी श्रीमती ईश्वरी भन्ने प्रेमकुमारी श्रेष्ठ, छोरी ८ वर्षीया अनिषा र नातिनी २ वर्षीया शिवानीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका थिए । 

प्रहरीले ईश्वरी, उनकी छोरी अनिषा र नातिनी शिवानीको शव टाउकोमा चोट लागेको अवस्थामा फेला पारेको थियो । घटनास्थलभन्दा केही पर जंगलमा राजुको शव पनि झुण्डिएको अवस्थामा भेटिएको हो । 

राजु मृतक ईश्वरीका दोस्रा श्रीमान् हुन् । अनिषा उनीहरुकै छोरी हुन् भने शिवानी ईश्वरीको पहिलो श्रीमानबाट जन्मिएका छोराकी छोरी हुन् । 

राजु र ईश्वरीको १५ वर्षका एक छोरा समेत छन् । प्रहरीका अनुसार राजुले छोरालाई बाहिर पैसा लिन पठाई श्रीमती, छोरी र नातिनीको हत्या गरेको देखिन आएको छ ।
हत्यापछि उनले आफन्तलाई समेत जानकारी गराएर आफूले आत्महत्या गर्न लागेको बताए । त्यसअघि पत्नी ईश्वरीमाथि अनेकौं लाञ्छना लगाएर राजुले झगडा गर्ने गरेका थिए । 

श्रीमती धेरै वटा परपुरुषसँग सम्बन्धमा रहेको र आफूले ती घटनाबारे अहिले आएर थाहा पाएको राजुले घटनाअघि आफ्नो मोबाइलमा रेकर्ड गरेको भिडियोमा सुनिन्छ ।

यता ईश्वरीले स्थानीय एक पुरुषविरुद्ध जबरजस्ती करणीको कसुरमा जाहेरी दिएकी थिइन् । अभियुक्त फागुन १ गते धरौटीमा छुटेका थिए । सोही विषयलाई लिएर उनीहरुबीच मंगलबार राति झगडा भएकोमा त्यसको भोलिपल्ट राजुले तीन जनाको हत्या गरी आत्महत्या गरेको देखिन आएको छ।

यसअघि माघ २७ गते ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल, ओचु हाइटमा एक महिलाले छोराछोरीको हत्यापछि आत्महत्या गरिन् । 

स्थानीय ३६ वर्षकी रविना महर्जनले आफ्ना ६ वर्षका छोरा अश्वेत र २ वर्षकी छोरी रिबाको हत्यापछि तीन तले घरबाट हामफालेर आत्महत्या गरेकी थिइन् । 

घरमा कोही नभएको समयमा उनले दुवै छोराछोरीको मुख थुनेर हत्या गरेपछि आत्महत्या गरेको प्रहरीको निष्कर्ष छ । मृतक रविनाका श्रीमान रवि सार्वजनिक कार्यक्रममा साउण्ड सिस्टम व्यवस्थापनको काम गर्ने बताइएको छ । 

उनीहरुबीचको सम्बन्ध राम्रै रहेपनि घटनाअघि रवि र रविनाबीच सामान्य विवाद भएकाले रवि घरबाट निस्किएका थिए । सोही विषयले ठूलो रुप लिएको जनाइएको छ ।

करिब तीन महिनाअघि मात्र धनकुटामा पनि यस्तै प्रकृतिको घटना भएको थियो । धनकुटा नगरपालिका–१ निगालेका ३५ वर्षीय टीकाराम गुरुङले श्रीमती ३६ वर्षकी भीमा र छोरा १० वर्षका आयुषको हत्यापछि आत्महत्या गरे । 

प्रहरीका अनुसार श्रीमती र छोराको हत्या लगत्तै उनी पनि घरमै झुण्डिएका थिए । ६ वर्षकी छोरी आसिकी भने बाँच्न सफल भएकी थिइन् । ज्यालामजदुरी गर्दै जीविकोपार्जन गर्दै आएका उनीहरुको पारिवारिक कलहकै कारण परिवार नाश भएको बताइन्छ । 

गत साउनमा काठमाडौंको तारकेश्वर नगरपालिका–२, पदमसालमा एकै घरका चार जना मृत अवस्थामा फेला परे । गोरखाका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता, १३ वर्षकी छोरी आशिका र आठ वर्षका छोरा आशिकको शव बीभत्स अवस्थामा भेटिएको थियो । 

घटनास्थलमा सुसाइट नोट समेत फेला परेको थियो । जसमा दिनेशले ‘श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गर्न बाध्य भएको’ उल्लेख गरेका थिए । १२ वर्ष कुवेतमा बसेर केही वर्षअघि मात्र स्वदेश फर्किएका दिनेशको श्रीमती सुनितासँग पछिल्लो समय सम्बन्ध राम्रो नभएको र त्यसबाटै उत्पन्न विवादले घटनाको रुप लिएको बताइन्छ । 

यी सबै घटनाको पछाडि पारिवारिक बेमेल र झगडा रहेको प्रहरीको ठहर छ ।  श्रीमान–श्रीमती बीचको विवाद व्यवस्थापन र समाधान नहुँदा मानिसलाई कतिसम्म क्रूर अपराधको बाटोमा पुर्याउँछ भन्ने कुरा ती घटनाले देखाइसकेको छ । 

पति–पत्नीबीच अविश्वास, शंका, अनादर, घृणा उत्पन्न हुँदा परिवारै सखाप हुने गरेको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा ३३ हजारभन्दा बढीले आत्महत्या गरेका छन् । सोही अवधिमा तीन हजारभन्दा बढीको हत्या भएको उल्लेख छ । 
यसमध्ये कतिपयले परिवार तथा नातागोताको हत्यापछि आत्महत्या गरेको देखिन्छ । आर्थिक अभाव, बेरोजगारी, गरिबी, निराशा, चिन्ता, पारिवारिक बेमेल तथा कलह, परपुरुष÷महिलासँगका सम्बन्ध आत्महत्याका कारण रहेको पाइएको छ । 

मनोसामाजिक परामर्शदाता रञ्जु खरेल मानिसले आफ्नो आवेग कन्ट्रोल गर्न नसक्दा त्यसले आत्महत्याको रुप लिने गरेको बताउँछिन् । ‘हरेक व्यक्तिमा इमोसन हुन्छ । तर, जो व्यक्तिले कन्ट्रोल गर्न सक्दैन उसले आत्महत्या गर्छ,’ उनले भनिन् ।

काठमाडौंको स्वयम्भू नजिकै र ललितपुरको इमाडोल घटना पनि सोही कारणले भएको उनको ठम्याई छ । उनले थपिन्, ‘विशेषगरी ३५ वर्षको उमेरपछि मानिसमा आर्थिक, सामाजिक, पारिवारिकजस्ता विभिन्न चिन्ता बढ्छ । र, त्यसलाई व्यवस्थापन गर्न नसकेपछि हत्या र आत्महत्याका घटना हुन्छ ।’

उनले पछिल्लो समय आत्महत्या दिनानुदिन बढ्दै गएको र यसले समाजमा विकराल रुप लिएको समेत बताइन् । आत्महत्या न्यूनीकरणका लागि राज्यका निकायहरुबाट आवश्यक कदम चालिनुपर्ने उनको सुझाव छ । त्यस्तै, व्यक्तिले पनि आफ्नो आवेग र तनाव व्यवस्थापन गर्न सके पनि आत्महत्या निराकरण हुने उनी बताउँछिन् ।
 

टिप्पणीहरू