अख्तियारले डामेपछि प्रदेश सभा सदस्य निलम्बित

अख्तियारले डामेपछि प्रदेश सभा सदस्य निलम्बित

लुम्बिनी प्रदेश सभा सदस्य जानकी प्रसाद यादव निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेपछि यादव स्वतः निलम्बन भएका हुन् । 

प्रदेश सभा सदस्य प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) निर्वाचन प्रणालीतर्फ कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र ३ (२) बाट निर्वाचित यादवसमेतलाई प्रतिवादी बनाई आयोगले विशेष अदालतमा मंगलबार मुद्दा दर्ता गरेको हो । वन पैदावार बिक्री गरेर राज्यकोषमा हानीनोक्सानी पुर्याएको आरोपमा यादवलगायतविरुद्ध मुद्दा दायर भएको छ ।  

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ मा भएको व्यवस्थाबमोजिम उक्त ऐन अन्तर्गतको कसूरको आरोपको सम्बन्धमा कुनै व्यक्ति उपर भएको अनुसन्धान र तहकिकातबाट निजले सो कसूर गरेको हो भन्ने विश्वास गर्नुपर्ने मनासिव कारण भएमा अनुसन्धान अधिकारीले भ्रष्टाचार सम्बन्धी मुद्दाको कारवाही र किनारा गर्न प्रचलित कानूनबमोजिम अधिकार प्राप्त मुद्दा हेर्ने अधिकारीसमक्ष मुद्दा दायर गर्नेछ भन्ने व्यवस्था छ । ऐनको दफा ३३ मा निजउपर दफा ३६ बमोजिम मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने व्यवस्था उल्लेख छ । 

लुम्बिनी प्रदेश सभा सदस्य सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक रहेको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २ (घ) र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २ (घ) ले पनि स्पष्ट पारेको छ । सोही कारण प्रदेश सभा सदस्य यादव उपरको मुद्दा विशेष अदालतमा दायर भएकाले मुद्दाको अन्तिम किनारा नभएसम्म उनी स्वतः निलम्बनमा परेका हुन् ।


 

टिप्पणीहरू