फुटबल खेलाडीको घर फोर्ने तीनजना समातिए

फुटबल खेलाडीको घर फोर्ने तीनजना समातिए

नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी मनिष डाँगीको घरमा चोरी गर्ने तीनजना समातिएका छन् । 

दोलखाको शैलुङ गाउँपालिका-६ घर भएका २१ वर्षीय अनुप तामाङ, सोही ठाउँका २० वर्षे रविन तामाङ र ललितपुरको गोदावरीका २४ वर्षीय राजन श्रेष्ठलाई चोरीको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनीहरुले गत फागुन ६ गते साँझ ललितपुरको इमाडोस्थित बासुकी टोलस्थित डाँगीको तीन तल घरबाट गरगहना र नगद गरी ४५ लाख चोरेका थिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले सिसिटिभी फुटेजको आधारमा तीनै जनालाई हिजो पक्राउ गरेको थियो । आज उनीहरुलाई सार्वजनिक गरिएको हो । 

प्रहरीका अनुसार खेलाडी डाँगीको घरअगाडि आफन्तको घर भएका अनुप बारम्बार त्यहाँ जाने-आउने गर्थे । त्यही क्रममा उनले साथीहरुसँग मिलेर चोरीको योजना बनाएको अनुसन्धानबाट खुलेको छ । 

पक्राउ परेका तीनै जनाको परिवारलाई खबर गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू