नवजात शिशु यता चोरियो, उता बेवारिश छाडियो

नवजात शिशु यता चोरियो, उता बेवारिश छाडियो

महिला ‘सृष्टिकर्ता’ को पर्याय हुन् । तर उनै महिलामध्ये कसैलाई चेतनाले अपराधी बनाएको छ, कसैलाई निर्दयी । एउटी महिलालाई आफ्नो कोखबाट जन्माएको सन्तान चटक्कै छाडेर हिँड्नुपर्ने के कस्तो बाध्यता होला ?

वीरगञ्जको नारायणी अस्पतालमा यस्तै भएको छ । एउटी महिला भर्खर जन्माएको नवजात शिशु अस्पतालमै छाडेर भागेकी छन् । अस्पताल प्रशासनले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय, पर्साले टोली खटाएर ती महिलाको खोजी गरिरहेको बताइन्छ । 

प्राप्त खबरअनुसार ती महिलाले हिजो बिहान करिब ७ बजेतिर छोरी जन्माएकी थिइन् । महिलासँग उनकी सासु पनि थिइन् । तर साँझ करिब ६ बजेतिर भने ती महिला बिहान जन्माएकी छोरी अस्पतालमै छाडेर भागेकी हुन् । उनले अस्पतालको काउन्टरमा सीतादेवी नाम लेखाएकी छन् । ठेगानामा ‘रानीघाट–६, वीरगञ्ज लेखिएको छ ।

तर आज दिनभर प्रहरीले गरेको अनुसन्धानबाट ती महिलाले नाम र ठेगाना नै गलत टिपाएको खुलेको छ । पर्साका डीएसपी कुमार विक्रम थापाका अनुसार प्रहरीको एउटा टोली हिजोदेखि लेखिएको सितादेवी नामकी महिला खोज्न उक्त ठेगानामा खटिएको छ । तर प्रहरीले भनिएको ठेगानामा भनिएकी महिला नरहेको खबर मात्र पाएको छ ।

यता अस्पतालको सिसि क्यामेराका फुटेजमा ती महिला र सासुबीच झगडा भएको देखिन्छ । छोरी जन्मेकै कारण सासुबुहारीबीच झगडा परेको र शिशु अस्पतालमा छाडेर भागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । डिएसपी थापाले जनआस्थासँग भने, ‘अस्पताल स्रोतले हामीलाई उपलब्ध गराएको विवरणअनुसार ती महिलाले गलत नाम र ठेगाना टिपाएको जस्तो देखिन्छ । हाम्रो टिमले अझै खोजिराखेको छ । छोरी जन्मेकै कारण भागेर हिँडेको हाम्रो अनुमान हो । तर कारण खुलेको छैन । अरु पनि हुनसक्छ ।’ 

हरेक आमाको निम्ति आफ्ना सन्तान प्राणभन्दा प्यारा हुन्छन् । तर ती महिलाले निर्दयी बनेर आफ्नै कोखको शिशु जन्मने बितिक्कै छाडेर भागेकी छन् । यता काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा शुक्रबार शिशु चोेरेकी मनकुमारी सिंहका पति र दिदी थुनामुक्त भएका छन् । घटनामा मनकुमारीका श्रीमान र दिदीको कुनै संग्लनता नरहेको प्रमाणित भएपछि आज उनीहरुलाई प्रहरीले थुनामुक्त गरेको हो । ती महिलाले आफ्नो गर्भ खेर गएकाले २६ दिने शिशु चोरी गरेको बताएकी छन् । 

उता प्युठानमा पनि वेवारिशे अवस्थामा भेटिएको नवजात शिशुको संरक्षण गर्न नगरपालिकाले इच्छुक व्यक्ति तथा परिवारसँग आवेदन मागेको छ । गत माघ १७ गते नगरपालिकाको वडा नम्बर ४ स्थित छायाँ भण्डारीको बाख्रा बाँध्ने गोठमूनि सालनालसहित कपडाले छोपेर झोलुङ्गोमा राखेको अवस्थामा नवजात शिशु फेला परेको थियो । लगत्तै प्रहरीले शिशुको उद्दार गरी विजुबार अस्पताल पुर्याएको थियो । शिशु भेटिएको चार हप्ता भइसक्दा पनि कसैले पनि आमाको पहिचान गर्न सकेको छैन । अन्ततः अहिले नगरपालिकाले आवेदन खुलाएर शिशुको व्यवस्थापन गर्न लागेको हो ।

टिप्पणीहरू