बोआओ फोरममा नेपालबाट जानेको टुंगो छैन
एशियाका लागि बोआओ फोरमको यस वर्षको सम्मेलनमा पनि नेपालको तर्फबाट कसले सहभागिता जनाउने भन्ने सम्बन्धमा कुनै निर्णय भएको छैन । वार्षिक सम्मेलन २०२४ आयोजनाको निम्ति ठ्याक्कै एक महिना बाँकी रहँदा पनि नेपालबाट कुन तहको सहभागिता हुने भन्नेबारे अनिश्चितता कायम छ ।
गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाललाई सहभागिताको निम्ति चीनले निम्तो दिए पनि उहाँले प्रधानमन्त्री बनेपछि भारत भ्रमण नभएको अवस्थामा उताको सहभागिताप्रति अनिच्छा जनाउनुभएको थियो । उहाँको सट्टा बेइजिङस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले मुलुकको प्रतिनिधित्व गर्नुभयो।
आगामी मार्च २६ देखि २९ तारिखसम्म दक्षिण चीनको हाइनान प्रान्तमा हुने सम्मेलनमा विश्वका धेरै राष्ट्रका सरकार तथा राज्य प्रमुख,सरकारी अधिकारीहरु, अन्तर्राष्ट्रिय संघ संगठनका प्रमुखहरु, व्यवसायी तथा विभिन्न क्षेत्रका प्रवुद्ध व्यक्तिको सहभागिता रहने महासचिव लि पाओदोङले गत जनवरी १६ का दिन जानकारी दिएका थिए ।
नेपाली अधिकारीहरुले भने त्यसबारे कुनै प्रतिक्रिया दिन चाहेका छैनन् । चीनले कुन तहको प्रतिनिधित्व गराउन चाहेको भन्नेबारे हालसम्म औपचारिक जानकारी नआएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ । नेपालबाट राष्ट्रपति,उपराष्ट्रपति वा प्रधानमन्त्री तहको प्रतिनिधित्व हुने भए त्यसको निम्ति तयारी समय अब पुग्दैन ।
"यसबीच संसदमा प्रिबजेटबारे झण्डै एक महिना लामो छलफल गर्नुपर्ने भएकाले पनि सभामुखले तत्काल उताको कार्यक्रममा सहभागिता जनाउने अवस्था कम रहेको संसद स्रोतले बतायो ।"
केही महिनाअघि उपराष्ट्रपति रामसहायप्रसाद यादव खुनमिङमा आयोजित अन्तर्राष्ट्रिय एक्सपोमा सहभागी हुनुभएको र प्रधानमन्त्रीले गत सेप्टेम्बरमा औपचारिक भ्रमण गर्नुभएकाले अरु नै अधिकारीहरुको सहभागिता रहने सम्भावना बढेको छ । राष्ट्रपति रामचन्द्र पौडेल उक्त पदमा पुगेपछि भारतको औपचारिक भ्रमणमा नगइसकेकाले पहिले चीन जाने सम्भावना देखिँदैन ।
यस्तो अवस्थामा सभामुख देवराज घिमिरे वा परराष्ट्रमन्त्री एनपी साउदमध्ये एक जनालाई निम्तो आउन सक्ने मन्त्रालयका अधिकारीहरुको अनुमान छ । परराष्ट्रमन्त्रीको हालसम्म चीनको औपचारिक भ्रमण नभएकाले पनि उक्त सम्भावना प्रबल छ । विकल्पको रुपमा उपप्रधानमन्त्रीहरुमध्ये एक जनालाई आमन्त्रण गर्नसक्ने अवस्था पनि छ । यसबीच संसदमा प्रिबजेटबारे झण्डै एक महिना लामो छलफल गर्नुपर्ने भएकाले पनि सभामुखले तत्काल उताको कार्यक्रममा सहभागिता जनाउने अवस्था कम रहेको संसद स्रोतले बतायो ।
बोआओको यो वर्षको सम्मेलनमा चार वटा विषयमा प्यानल डिस्कसन हुँदैछ । विश्व अर्थतन्त्र,सामाजिक विकास,अन्तर्राष्ट्रिय सहयोग र वैज्ञानिक तथा प्राविधिक आविष्कार छलफलको मुख्य विषय हुने छन् ।
टिप्पणीहरू