वर्तमान सत्ता गठबन्धन ‘कम्फर्टेबल’ रहेको भारतीयहरुको भनाई

वर्तमान सत्ता गठबन्धन ‘कम्फर्टेबल’ रहेको भारतीयहरुको भनाई फाइल फाेटाे

आज दिउँसो एकाएक मुलुकको आन्तरिक राजनीतिमा आएको उतारचढावबीच भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । राजदूत श्रीवास्तव प्रधानमन्त्रीसँग भेट गर्न दिउँसो साढे १ बजे प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो  । 

वर्तमान गठबन्धन टुटाउन नहुने सन्देश दिन राजदूत बालुवाटार पुग्नुभएको स्रोतको दाबी छ । उता लैनचौरस्थित भारतीय दूतावास स्रोतले पनि वर्तमान गठबन्धन नटुट्ने विश्वास व्यक्त गरेको छ । स्रोतको भनाई छ, ‘नयाँ दिल्लीले वर्तमान गठबन्धन नै कम्फर्टेबल भएको ठहर गरेकाले गठबन्धन टुट्ने सम्भावना छैन ।’

सत्तारुढ मुख्य दलहरु नेपाली काँग्रेस र माओवादीबीच खटपट र अविश्वास बढिरहेको बेला भएको राजदूतको अप्रत्यासित भेटलाई अर्थपूर्ण मानिएको छ । जबकी आजै बेलुकी ६ बजेदेखि बालुवाटारमा अघिल्लो वर्ष पुस १० अघिको गठबन्धन दलका प्रमुख नेताहरुबीच पनि सघन वार्ता भएको छ । राति १० बजेसम्म भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल, माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी हुनुहुन्थ्यो  ।

त्यसैगरी छलफलमा रास्वपाका सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादवले पनि भाग लिनुभयो । राष्ट्रिय सभाको आगामी अध्यक्षमा नेपाली काँग्रेसले दावी नछाडेमा जुनसुकै अवस्था आउनसक्ने आकलन गर्दै साँझको छुट्टै भेटघाट गरिएको बताइन्छ ।

बालुवाटारमा एउटा पक्षले सत्ता गठबन्धन टुट्न लागेको प्रचार गरिरहँदा काँग्रेसले भने मन्त्रिमण्डल पुनर्गठनको तयारी गरिएको बताएको छ । यसबीच भोलि बिहान सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठक डाकिएको छ । 

तर, रातको १० बजेसम्म बालुवाटारमा सत्तारुढ दल माओवादी र इतर राजनीतिक दलका नेताहरुको छलफललाई राजनीतिक रुपमा अर्थपूर्ण मानिएको छ ।

यसअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना १० जना मन्त्रीहरूसँग एकसरो छलफल गर्नुभएको छ । उहाँले नयाँ परिस्थितिका निम्ति तयार रहन मन्त्रीहरुलाई निर्देशन दिनुभएको बताइन्छ । परराष्ट्रमन्त्री एनपी साउद फिनल्याण्ड भ्रमणमा निस्कन लागेको बेलामा यात्रा रद्द भएको छ ।

यी सबै घटनाक्रम र दौडादौडलाई राजनीतिक विश्लेषकहरुले माओवादीको राष्ट्रिय सभा अध्यक्ष नछाड्ने संकेतको रुपमा व्याख्या गरेका छन् । राति बालुवाटारमा भएको छलफलबाट एमाले अध्यक्ष ओली र महासचिव पोखरेल अरुभन्दा ७ मीनेटपछि निस्कनुभएको थियो । छलफल सचिवालय रहेको भवनमा नभएर निवासमा सुटुक्क गरिएकाले पनि शंका गर्नेलाई बल पुगेको हो ।

‘माओवादीले अध्यक्षको निम्ति अडान राखेको अनुमान गर्न सकिन्छ । किनभने एकथरी नेतालाई गठबन्धन टुट्दा मन्त्रीबाट बाहिरिनुपर्ने डर त्यत्तिकै छ । सबैको आफ्नै पिर भएकाले गठबन्धन टुटाउनेतिर यतिखेर स्वयम् माओवादी देखिँदैन,’ एकजना वामपन्थी विश्लेषकले भने । 

उनीहरुको दौड बालुवाटारबाट अधिकतम बालकोटसम्म भएकाले पनि उक्त निश्कर्ष निकालिएको सहजै अनुमान गर्न सकिन्छ । तर, साँझ बालुवाटारको वार्तामा रवि, केपी र उपेन्द्र एकै ठाउँमा हुनुुलाई भने अनौठो मानिएको हो । सत्ता गठबन्धन फेरबदलमा उपेन्द्रको कुनै प्रत्यक्ष स्वार्थ देखिँदैन । जबकी उनी संघीय र प्रदेश सरकार दुवैतर्फ दुबै हातमा लड्डु लिएको अवस्थामा छन् ।

टिप्पणीहरू