हाकिमदेखि ठेकेदारसम्म भ्रष्टाचारमा संलग्न

हाकिमदेखि ठेकेदारसम्म भ्रष्टाचारमा संलग्न

सघन सहरी तथा भवन निर्माण कार्यालय राजविराज, सप्तरीका तत्कालिन आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर सचिन्द्रकुमार देवसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित इन्जिनियर मदन राय, सबइन्जिनियर सरोजकुमार यादव र गुन्जा कन्स्ट्रक्सनका प्रोपराइटर गोविन्दप्रसाद मण्डलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ । 

उनीहरुको मिलेमतोमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४, मधुवापुर वडा कार्यालयदेखि अर्जी टोलसम्म लगभग तीन सय मिटर सडक कालोपत्रे गर्ने क्रममा अनियमितता भएको आयोगको आरोप छ । 

गरिएको काम कम, सम्पन्न धेरैको प्राविधिक मूल्याङ्कनसहितको नापी किताब, ठेक्का बिल, कार्य स्वीकृति प्रतिवेदनसमेत प्रमाणित गरेर ठेकेदारलाई तीन लाख ४७ हजार रुपैयाँ बढी भुक्तानी दिइएको पाइएपछि उनीहरुविरुद्ध भ्रष्टाचारको मुद्दा लागेको हो ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ बमोजिम तीन लाख ४७ हजार रुपैयाँ बिगो मागदाबीसहित कैद र जरिवानाको माग गर्दै उनीहरुविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।
 

टिप्पणीहरू