रविको निर्णयप्रति शोभिता पनि असन्तुष्ट
सरकारमा जाने निर्णयपछि राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको आन्तरिक विवाद थप चर्किंदै गएको छ । सभापति रवि लामिछानेले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने निर्णय गराएपछि असन्तुष्टिहरु सार्वजनिक भएका हुन् ।
मन्त्री बन्ने लोभमा नेतृत्वले हतार गरेको केही सांसद तथा नेताले आरोप लगाएका छन् । सभापति लामिछाने आफ्नै यसअघिको वाचा र प्रतिबद्धतामा चुकेको सांसद सोभिता गौतमले बताइन् । जनताका दैनिकीसँगका प्रत्यक्ष मुद्दाहरुसँग पार्टी भर्खर जोडिरहेको बेला सभापतिले सत्ताको लोेभमा हतार निर्णय गराएको उनको भनाई छ ।
‘जनताको कुराहरु छायाँमा पारेर कुर्सी र सत्ताको लागि तँछाडमछाड गर्ने प्रवृतिले हामीलाई कही पुर्याउँदैन’, उनले भनेकी छन्, ‘यो गठबन्धन भन्ने नै जनताको लागि सबैभन्दा ठूलो धोका हो ।’
रास्वपा सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा सभापति लामिछानेले पार्टीभित्र कुनै विस्तृत सल्लाह नगरेको उनको भनाई छ । मिडियामा आगामी मन्त्रीको सूचीमा आफनो पनि नाम आएकोतर्फ उनले अनभिज्ञता जनाइन् ।
‘तपाईं पनि मन्त्री बन्दै हुनुहुन्छ हो ?’ भन्ने जिज्ञासामा भनिन्, ‘यसबारे मलाई केही थाहा छैन । मैले पनि मिडियाबाटै सुनेको हुँ । सायद होइन होला । अरु साथीहरु पनि हुनुहुन्छ मभन्दा क्षमतावान ।’
त्यसो त शोभिताले मन्त्री बन्ने कुनै रहर आफूमा नभएको उल्लेख गरिन् । गौतमको निश्कर्ष छ, ‘म जनताको मुद्दा क्यारी गर्न राजनीतिमा आएको हँु, मन्त्री बन्नका लागि होइन । मन्त्री हुँदैमा सबै भइहाल्ने र नहुँदा सबै बिग्रिहाल्ने भन्ने पनि हुँदैन ।’
पार्टी सभापति लामिछानेको नेतृत्वमा पार्टी सरकारमा सहभागी हुने सम्बन्धमा असहमति जनाउँदै केन्द्रीय सदस्य गणेश कार्कीले यसअघि नै असहमति पत्र पार्टी मुख्यालयमा दर्ता गराइसकेका छन् ।
टिप्पणीहरू