२५ औं यदु स्मृति दिवस : यदुलाई मार्नेहरु यदुकै बाटोमा

२५ औं यदु स्मृति दिवस : यदुलाई मार्नेहरु यदुकै बाटोमा
सुन्नुहोस्

आज २५ औैं यदु स्मृति दिवस । कम्युनिष्ट आन्दोलनका एक प्रभावशाली नेतालाई अर्का कम्युनिष्टहरुले लखेटि लखेटि घाँटि रेटेर हत्या गरेको दिन । यस दिनको अवसरमा आज काठमाडौमा यदु स्मृति प्रतिष्ठानले एक कार्यक्रमका बिच स्मृति दिवस मनाउँदै उहाँकै स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कार प्रदान गर्दैछ । 

यदुको हत्यापछि तत्कालिन माओवादी यदुकै बाटोमा आएको बताईन्छ । नेकपा एमाले रुकुम पश्चिमका अध्यक्ष नन्दराम देवकोटाले यदुका हत्याराहरु आफ्नो बैचारिक धरातलबाट बिचलित भएर पछुताउदै यदुकै बाटोमा भौतारिरहेको उल्लेख गरेकाक छन् । 

“वर्गसंघर्षमा कम क्षतिको बाटोबाट बढी उपलब्धि लिनुपर्छ । वस्तुगत परिस्थितिको ठोस विश्लेषण गरेर क्रान्तिको कार्यनीति तय गर्नुपर्छ । नेपालमा दीर्घकाली जनयुद्धको आवश्यकता होइन, विकल्पका बाटाहरु तमाम हुदाहुदै हिंसाको बाटो रोज्नुले ठुलो क्षति हुन्छ, गन्तव्यमा पुग्न सकिदैन”, यदुले राखेको फरक विचारकै कारण माओवादीको तारो बनेको देवकोटाको भनाई छ ।  

देवकोटा प्रश्न गर्छन्, “जनयुद्धको बाटो परित्याग गरेका मुट्ठीभरका नेताहरुलाई धनयुद्ध बाहेक के सफलता हात लाग्यो ? खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने थलोमा आजकाल के बेच्दै हुनुहुन्छ ? के सहिदको सपना यही थियो ?”

यदु गौतमका भाई मुक्ति गौतमले दाईलाई मार्ने पार्टी र हत्या अघि उहाँ क्रियाशिल पार्टी बिच एकपटक एकता भएर पनि फुटिसके उल्लेख गर्दै सरकारमा आउँने जाने पालो चलिरहेको उल्लेख गरे । सम्भ्रान्त जीवनशैली, भ्रष्ट, तस्करहरुसँगको उठबस, दोहोरो चरित्र, परिवारवाद र अनियमितता गर्ने कुरामा नै प्रतिस्पर्धा देखिएको मुक्तिको बुझाई छ ।  “जनतासँग गरेका बाचाहरु, हिजो पार्टी र बिचारको लागि आत्मउत्सर्ग गर्ने शहीदहरु र स्वयं आफै भित्रका असंख्य प्रश्नहरुको उत्तर सायद अब दिने छैनन्,” मुक्तिले दाईको स्मृति गर्दै भनेका छन्, “पाखण्डीहरुसँग प्रश्नको उत्तर खोज्नुको पनि के अर्थ रह्यो र ! हत्या कुनै पनि अर्थमा सहि हुन सक्दैन, समयले आफै प्रश्नको उत्तर देला ।”

घाँटि रेटेर पानीमा फालिदिएको त्यो दिन

२०५६ सालको प्रतिनिधि सभाको निर्वाचनमा रुकुमको क्षेत्र नम्वर २ का उमेदवार तत्कालिन नेकपा एमालेका जिल्ला सचिव यदु गौतमलाई तत्कालिन माओवादीले हत्या गरेको थियो । निडर, प्रभावशाली तथा जनप्रिय नेता यदुको हत्या माओवादीले गर्यो । २०५५ साल फागुन २१ गतेका दिन साबिक रुकुमको गरायला गाबिस वडा नम्वर ७ मा भएको थियो । यदु २०५६ सालको आम निर्वाचनको प्रचारका लागि गाउँटोल हिडेका थिए ।  

एमाले फुटेर माले बन्नुअघि एमालेको उप–सचिव थिए यदु गौतम । एमाले सरकारमा हुँदा पोलिटब्युरो सदस्य प्रेमसिंह धामीको नेतृत्वमा एक आयोग बनाईएको थियो । जसले देशभर काँग्रेस, एमाले र त्यतिखेरको सयुँक्त जनमोर्चाको शक्ति सन्तुलनका लागि एक फाराम भर्ने काम सञ्चालन गरेको थियो । सोहि धामी आयोगको फाराम बोकि यदु जनता माझ हिँडेका थिए । यदुले जनतामा आफ्नो पार्टीको प्रभाव बसाउँदै हिँडेका थिए । एमाले फुटेर माले बनेपछि यदुले जिल्ला सचिवको जिम्मेवारी सम्हाले । यदुको कार्यशैलि, जनता प्रतिको ईमानदारीता, विचारले गर्दा जनताका विश्वास पात्र थिए ।

यदुको लोकप्रियता उच्च भएपछि मालेले यदु बिरुद्ध माओवादीलाई सुराकी लगायो । शक्ति सन्तुलनको फाराम यदुकै सक्रियतामा भरिएको र यदु जनमोर्चा बिरुद्ध गाँउ पसेको गलत सुचना माओादीलाई पुग्यो । जनमतको निश्कर्ष निकालिएको उक्त फारमको एकप्रति माले मार्फत माओवादी कहाँ पुगेपछि यदुलाई सुराकिको आरोप लगाईयो । 

त्यतिखेर साबिक रुकुमको छिबाङ्ग गाबिसको टोड्केमा बसेको माओबादीको जिल्ला स्तरिय बैठकले यदुलाई सफाया दिने निर्णय गरेको थियो । माओवादीका जिल्ला ईन्चार्ज सरुण बाँठा मगर त्यतिखेरका जनसत्ता प्रमुख पनि थिए भने बिशाल जिल्ला प्रमुख थिए । माओबादीको यस्तो निर्णपछि यदुलाई पछ्याउन सुरु भएको थियो । 

यस भन्दा अघि यदु दुई पटक गिरफ्तारीमा परेर यातना समेत पाईसकेका थिए । स्थानीय निर्वाचनको बखत चौरजहारीबाट सदरमुकाम जाने क्रममा खोलागाँउमा पहिलो पटक र २०५५ साल माघमा साबिक हुकाम गाबिसमा उनलाई गिरफ्तारी गरिएको थियो । निडर यदु गिरफ्तारीबाट मुक्ति पाएपछि पनि गाँउ स्तरमै सक्रिय रहे । 

छिवाङ्गबाट चुनावको माहौलको लागी भेटघाट गर्दै घेत्मा पुग्ने योजना बनाएका यदुलाई बाटो छेकेर हत्या गरियो । फागुन २० गते छिवाङ्गबाट सिम्ली हुदै गरायला आएका उनलाई सानीभेरीको सिम्लीमै सफाया दिने माओबादीको योजना सफल हुन सकेन । २० गते गरायलामा पार्टी कार्यकताको घरमा बास बसेर बिहानै जाजरकोटको रिम्ना खाना खाने योजनामा केहि कार्यकर्ताको साथमा हिडेका यदुलाई रिम्ना नजिकको एक खोलामा खुकुरी प्रहार गरियो । 

त्यतिबेला यदुको साथमा रहेका तीन जना एमाले कार्यकर्ता थिए, जसले आन्तरिक रुपमा माओबादीको लागि सहयोगी भुमिका बोकेका रहेछन् । घटना घट्नु पहिले के.सी.थरका एक जना बिरामीको निँहुमा केहि कार्यकर्तालाई आफूलाई बोक्न लगाएर अगाडि हिँडे, डाङ्गी थरका एक कार्यकर्ता र ओली थरका अर्का कार्यकर्ता घटना स्थलबाट टाप कसेछन् । ‘उनीहरु त्यति खेरै देखि एमालेको सम्पर्कमा नआएर माओबादी बने’ श्रोत भन्छ, ‘उतैबाट परिचालित रहेछन् भन्ने स्पष्ट भयो ।’ 

कार्यकर्ताको बिचमा सरासर हिड्दै गरेका यदुलाई सुरुमा खुकुरी हानियो । उनी त्यहाँबाट हाम्फालेर नदि किनारमा पुगे । अन्य दुई जनाले घाइते यदुलाई भेरीको तिरमा भेटाए, र घाँटि रेटेर पानीमा फाले । घटना लगत्तै नारा लगाउँदै माओबादी भागे, एमालेका केहि सामान्य कार्यकर्ता तितरवितर भए । घटनाको एक घन्टा पछि जाजरकोटको रिम्नाबाट प्रहरी घटनास्थल आईपुगेको थियो । 

युद गौतम जस्ता सच्चा र जनप्रिय कम्युनिष्ट नेताको बरबरतापूर्ण हत्या गरेको माओवादी अहिले यदुकै बाटोमा हिडिरहेको उहाँकी धर्मपत्नी तिर्था गौतम बताउनुहुन्छ । यहाँले यदु गौतम जस्ता सयौ योद्धाहरुले रुकुममा बगाएको रगतको बदलामा माओवादी समुह पतन हुदै गएको उल्लेख गर्नुहुन्छ । 
 

टिप्पणीहरू