‘नामुद गुण्डा हुँ’ भन्दै धम्काउँदै हिँडेका खरिदार फन्दामा

‘नामुद गुण्डा हुँ’ भन्दै धम्काउँदै हिँडेका खरिदार फन्दामा
सुन्नुहोस्

चलचित्र विकास बोर्डका कर्मचारी निराजन गिरीविरुद्ध जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा उजुरी परेको छ । बोर्ड सदस्य एवम् प्रवक्ता केएल बुढाथोकीले उनलाई कारबाहीको माग गर्दै आज उजुरी हालेका हुन् । 

खरिदार तहका कर्मचारी गिरीले आज बिहान बोर्डको ७११ औं बैठक बसिरहेको बेलामा अनाधिकृत रुपमा प्रवेश गरेर धम्काएको बुढाथोकीको आरोप छ । विगतको एउटा प्रसङ्गबारे चर्चा गर्दा उत्तेजित भएर गिरीले भौतिक आक्रमण गर्न खोजेको उनले बताएका छन् ।

‘बोर्डका खरिदार निराजन गिरीले विगतको एउटा प्रसङ्गबारे मैले बोर्डका कार्यक्रमहरु तोकिएअनुरुप अघि बढ्न नसकेकोमा निजसहित हामीले निवर्तमान सञ्चारमन्त्रीज्यूको सचिवालयलाई जानकारी गराएको चर्चा गर्दा निज एकाएक उत्तेजित भई अत्यन्त आक्रोशपूर्ण शैलीमा भौतिक आक्रमण गर्ने आशयमा ‘मेरो नाम नलिनुस्, म नामुद गुण्डा हुँ, धेरै गुण्डागर्दी गरेको छु, याद राख्नुस्’, उजुरीपत्रमा उल्लेख छ ।

बैठकमा खुलेआम आफूलाई नामुद गुण्डा भनेर धम्काउनेमाथि कारबाही गर्न उनले माग गरेका छन् । त्यस्तै, आफ्नो जिऊज्यानको सुरक्षाका लागि आवश्यक पहल गरिदिन उनले प्रशासनसमक्ष आग्रह गरेका छन् । 

गिरीले जबरजस्ती बोर्ड बैठकमा छिरेर आफूलाई धम्काउँदासमेत अन्य सदस्यले प्रतिवाद नगरेको उनको गुनासो छ । उनका अनुसार सो उजुरी सूचना तथा प्रशारण मन्त्रालयमा पनि दर्ता गरिएको छ । 

‘बोर्डको बैठकमा कर्मचारी प्रवेश गर्न पाउँदैनन् । तर, आज बिहान जबर्जस्ती छिरेर उहाँले ममाथि आक्रमण गर्न खोज्नुभएको हो । उहाँले मलाई धम्काउँदा बोर्ड अध्यक्ष, सदस्य सचिव, सदस्य सबै मौन रहनुभयो । त्यसैले म निस्किएँ । मैले सूचना मन्त्रालय र प्रशासनमा उजुरी दिएको छु’, उनले भने ।

टिप्पणीहरू