प्रधानमन्त्रीको मोबाइलबाट ओलीलाई माधव नेपालको फोन
नयाँ गठबन्धनका लागि बालुवाटार र बालकोटबीच बाक्लो भेटघाट र दौडादौड चलिरहँदा एकीकृत समाजवादी भने छाँयामा पर्यो । आइतबार र सोमबार दुई दिनको वीचमा विकसित राजनीतिक घटनाक्रमबारे स्वयं अध्यक्ष माधव नेपाल समेत पूर्ण जानकार थिएनन् । हिजो बिहानसम्म पनि समाजवादीका नेताहरु भन्दै थिए- माओवादीले राष्ट्रिय सभा अध्यक्षका लागि कांग्रेसमाथि दबाब बढाएको होला, गठबन्धन तल-माथि हुँदैन ।
तत्कालीन नेकपाको अन्तरविरोधदेखि प्रतिनिधिसभा विघटनविरुद्धको सडक संघर्षसम्म प्रचण्डलाई निरन्तर साथ दिँदै आएका नेता हुन्,नेपाल । तर,सत्ता समीकरण फेर्नेजस्तो महत्वपूर्ण निर्णय गर्दा प्रधानमन्त्रीबाट सामान्य सोधनीसमेत भएन । आइतबार निवासमा भेट्न पुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग अध्यक्ष नेपालको गुनासो रह्यो - वाम गठबन्धन गर्न खोजेको हो भने मलाई किन अविश्वास गरेको ?
भोलिपल्ट बालुवाटारको निर्णायक बैठकमा गृहमन्त्री श्रेष्ठले माधवको सन्देश सुनाउँदै भन्नुभयो- उहाँले अरु कुरा त ठीकै छ तर, मलाई किन खबर नगरेको भनेर गुनासो गर्नुभएको छ,एकचोटी प्रधानमन्त्रीले कुरा गर्नुपर्यो । तत्काल भेट्न सम्भव नभए फोनबाट भने पनि कुराकानी गर्न गृहमन्त्री श्रेष्ठले सुझाएपछि प्रधानमन्त्री प्रचण्डले मुन्टो हल्लाएर 'हुन्छ' भन्नुभयो । केपी ओलीलाई पनि संवादमा रहन आग्रह हुँदा खासै चासो देखाउनुभएन ।
सोमबार साँझ बालुवाटारमा आठ बुँदे सहमति सार्वजनिक हुनुअघि गृहमन्त्री श्रेष्ठलाई लिएर निवासमै पुगेका प्रधानमन्त्रीसँग पनि माधवको उही गुनासो रह्यो- मलाई खबरै नगरी तपाईंहरु यत्रो निर्णय गर्ने? धोका भएन ?' त्यसपछि त्यहीँबाट प्रधानमन्त्रीले फोन गरेर ओलीसँग संवाद गराउनुभयो ।
वाम ध्रुवीकरण भनिए पनि रवि लामिछानेसमेत सम्मिलित एमाले-माओवादी गठबन्धनलाई सरकार टिकाईराख्न एकीकृत समाजवादीको साथ लिनुपर्ने गणितीय बाध्यता छ । किनभने गृहमन्त्रीका लागि मरिमेटेर लागेका रवि भागबण्डामा असन्तुष्ट भएर गठबन्धनबाट निस्किएको खण्डमा जुनसुकै बेला सरकार अप्ठेरोमा पर्ने ओली र प्रचण्डलाई राम्रोसँग थाहा छ । उपेन्द्र यादवको भूमिका पनि भरपर्दो देखिएको छैन । अर्कोतिर कोशी,मधेस र बाग्मती प्रदेशमा एमाले र माओवादीको मात्रै सरकार बन्ने स्थिति छैन । ती प्रदेशमा समाजवादी निर्णायक देखिन्छ ।
टिप्पणीहरू