गठबन्धनलाई काउसो गृह कि रवि ?

गठबन्धनलाई काउसो गृह कि रवि ?

नेपाली काँग्रेससँगको समीकरण तोडेर प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजोदेखि नयाँ गठबन्धन बनाउनुभएको छ । हिजै गठबन्धनमा रहेका तीन दल एमाले,माओवादी र रास्वपाका एक जना बिनाविभागीय मन्त्री रहेको क्याबिनेट पनि गठन गरिसकिएको छ ।

नयाँ गठबन्धन सरकारमा भागबण्डाबारे आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ती दलका प्रतिनिधिहरु रहेको कमिटीले छलफल पनि गरेको छ । अन्य मन्त्रालयको बारेमा मोटामोटी सहमति भए पनि गृह मन्त्रालयको जिम्मेवारीमा हलो अड्किएको बताइन्छ । 

रास्वपा सभापति रवि लामिछाने उक्त मन्त्रालय आफ्नो भागमा पर्नुपर्ने अडानमा बसेपछि हिजोदेखि प्रतिपक्षको कित्तामा पुगेको नेपाली काँग्रेसले अर्को ढोक्सा फ्याँकेको छ । ‘आए आँप गए झटारो’ को सिद्धान्तमा काँग्रेसले रविलाई प्रधानमन्त्रीको प्रस्ताव गरेपछि सत्तारुढ नयाँ गठबन्धनमा समस्या थपिएको हो ।

गत वर्ष छोटो समय उपप्रधानसहित गृहमन्त्रीको अनुभव गरेका लामिछानेले यसबीच आफूमाथि लागेका आरोपबाट मुक्त हुन चाहनु कुनै नौलो कुरो होइन । दोहोरो पासपोर्ट र नागरिकता काण्ड, सहकारीको रकम अपचलनलगायत विषयमा उनी निकै आलोचित छन् । आर्थिक र सरकारी कागजात दुरुपयोगसँग जोडिएका ती विषयलाई नामेट पार्न गृह मन्त्रालयको जिम्मेवारी सबैभन्दा सजिलो उपाय रहेकोमा दुई मत देखिँदैन ।

तर यसबीच काँग्रेसले प्रधानमन्त्रीको अफर गरेपछि उनीसँग एउटा नेपाली उखान मेल खान पुगेको छ । ‘चिसै भात भए पनि खान ठिक्क परेकालाई तातो भात’ भनेझैँ उपप्रधानसहितको गृहमन्त्री मागिएको अवस्थामा प्रधानमन्त्रीको प्रस्ताव आएपछि उनले पनि आफूले टेकेको धरातल नदेख्नु नेपालीहरुको आमचरित्र नै हो ।

गत वर्ष पुस १० गते बनेको गठबन्धनमा पनि उनले उपप्रधानसहित गृह मन्त्रालयको दावी नछाडेपछि ठूला दलका नेताहरु लामिछानेको माग पूरा गर्न बाध्य भएका थिए । यसपटक पनि उनले सोही माग दोहोर्याएका छन् । सँगै पर्यटन र श्रम मन्त्रालय पनि छुट्न नहुने रास्वपाको बटम लाइन देखिएको छ ।

एमाले र माओवादी शीर्ष नेताहरुले आजै साँझ एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेट गरेका छन् । फेरि बुनिएको वाम एकताको डोरीसँगै नेपाल नेतृत्वको पार्टीलाई नयाँ सरकारमा सहभागी गराउने रणनीतिअनुसार आज बेलुकी भेटवार्ता गरिएको  हाे ।

टिप्पणीहरू