मन्त्रीको छैन बहाली,विदेशी पाहुना होटलमा खाली

मन्त्रीको छैन बहाली,विदेशी पाहुना होटलमा खाली
सुन्नुहोस्

पर्यटन र गृहमन्त्रीहरुसँग भेटवार्ता गरेर एउटा टुंगोमा पुग्न आएको संयुक्त अरब इमिरेट्स (युएई) को उच्चस्तरीय टोली अप्ठेरोमा परेको छ । हिजो दिउँसो सत्तारुढ गठबन्धन परिवर्तन भएपछि विकसित राजनीतिक घटनाक्रमका कारण सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा छ । हिजो नियुक्त तीन जना मन्त्री पनि बिना विभागीय जिम्मेवारीमा रहेकाले विदेशी टोलीसँग यसअघि तय भएको भेटवार्ता अनिश्चित बनेको सरकारी अधिकारीहरुले बताएका छन् ।

नेपाल र दुबईबीच भइरहेको र आगामी दिनमा हुने थप उडानबारे छलफल तथा सम्झौता गर्न टोली पूर्व निर्धारित कार्यक्रमअनुसार आज दिउँसो काठमाडौं आइपुगेको हो । फ्लाई दुबईको उडान नम्बर एफजेड ५३९ मा दिउँसो साढे २ बजे काठमाडौं आइपुगेको टोलीमा १९ जना छन् । 

त्यहाँको नागरिक उड्डयन आयोगका प्रमुख सैफ मोहम्मद अल सुवाइदीको नेतृत्वमा आएको टोली नागपोखरीस्थित मेरियट होटलमा बसेको छ । टोलीले गृह मन्त्रालयको हज कमिटी र पर्यटन मन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम बनाइएको थियो ।

शुक्रबार दिउँसो फर्कने टोलीमा युएइएको नागरिक उड्डयन आयोगका सात जना र गृह मन्त्रालयका अधिकारीहरु समावेश छन् । नयाँ मन्त्रिमण्डल गठन नभएको अवस्थामा टोलीको पूर्व निर्धारित कार्यक्रम प्रभावित भएकाले विदेशीहरुले तीन दिन घुमेर र होटलमा बसेर बिताउनुपर्ने अवस्था उत्पन्न भएको हो ।

नेपालका लागि युएईका राजदूत अब्दुल्ला अइसाम्सी स्वयम् टोलीलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । होटलमा बसेको १९ सदस्यीय टोलीमा खलिद हुमाइद अलि अलि, श्रीमती मोहम्मद अल अबौलीलगायत छन् ।

टिप्पणीहरू