सरकारलाई दिएको समर्थन फिर्ता,जनमोर्चाले भन्यो,‘सहकारी ठगीमा मुछिएकोलाई गृह दिनु लाचारीपन’

सरकारलाई दिएको समर्थन फिर्ता,जनमोर्चाले भन्यो,‘सहकारी ठगीमा मुछिएकोलाई गृह दिनु लाचारीपन’

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज विज्ञप्ति जारी गर्दै अध्यक्ष केसीले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका हुन् । 

फिर्ता लिनुको छ कारण उल्लेख गर्दै उनले सहकारी ठगीमा मुछिएका व्यक्तिलाई गृह मन्त्रालयको जिम्मा दिनु प्रचण्डको लाचारीपन भएको समेत बताएका छन् । 

‘प्रधानमन्त्री प्रचण्डले सुशासनमा आफ्नो जोड रहेको दाबी गर्दै आए पनि दर्जनौं सहकारीका करोडौं रुपैयाँ ठगीमा मुछिएका व्यक्तिलाई गृह मन्त्रालय दिने कार्यले प्रचण्डको लाचारीपनलाई नै देखाउँछ,’ अध्यक्ष केसीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिगामी दिशा–उन्मुख एमाले तथा अमेरिकी साम्राज्वादको निर्देशनमा चल्ने संगठन तथा त्यसको मुख्य नेतृत्व सहकारीको करोडौं रुपैयाँ ठगी काण्डमा मुछिएका व्यक्तिसमेतको सहभागितामा बनेको वर्तमान सरकारबाट प्रतिगमन, भ्रष्टाचारलाई बल पुग्ने तथा राष्ट्रियतामा गम्भीर आँच आउने कुरा स्पष्ट रहेको उनको ठम्याई छ । 

त्यस्तै, विगतको नेपाली कांग्रेससहितको गठबन्धन नेकपा एमालेले अपनाएको प्रतिगामी कदमविरुद्ध भएको उल्लेख गर्दै अध्यक्ष केसीले एमालेको नीतिमा अहिले पनि कुनै सुधार नभएकोले ऊसँग मिलेर मन्त्रिपरिषद्को गठन गर्ने कार्य सही नहुने बताएका छन् । 

‘हाम्रो पार्टी सम्मिलित नेका, माओवादी समेतको पाँचदलीय गठबन्धन एमालेको प्रतिगामी नीतिका विरुद्ध नै केन्द्रीत रहेको थियो । प्रतिगमनका विरुद्ध गठन भएको पाँचदलीय गठबन्धनले विभिन्न निर्वाचनमा एमालेको प्रतिगमन–उन्मुख राजनीतिक दिशाका कारण नै ऊसँग कुनै पनि स्तरमा तालमेल नगर्ने समेत नीति अपनाएको थियो,’ विज्ञप्तिमा उल्लेख छ, ‘एमालेको प्रतिगमन–उन्मुख नीतिमा अहिले पनि कुनै सुधार वा परिवर्तन भएको छैन । एमालेको नीतिमा कुनै पनि परिवर्तन वा सुधार नभई ऊसँग मिलेर मन्त्रिपरिषद्को गठन गर्ने कार्य सही हुन सक्दैन ।’

 

टिप्पणीहरू