काँग्रेसलाई प्रधानमन्त्रीको जवाफ - औसत सरकार चलाएर पदको रक्षा गर्न चाहिनँ

काँग्रेसलाई प्रधानमन्त्रीको जवाफ - औसत सरकार चलाएर पदको रक्षा गर्न चाहिनँ
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औसत र तदर्थ सरकार चलाएर आफूले पदको रक्षा गर्न नचाहँदा नयाँ गठबन्धन बन्ने अवस्था आएको बताउनुभएको छ । 

आज प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सो जानकारी गराउनुभएको हो । औसत सरकार चलाएर पदको रक्षा गरिरहने कि जोखिम उठाएरै भएपनि राजनीतिक प्रतिबद्धताअनुसार काम गर्ने भन्ने दुई विकल्पमा आफूले दोस्रो विकल्प रोजेको प्रधानमन्त्रीले बताउनुभयो । 

'मसँग दुई विकल्प थिए, औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार, राष्ट्रनिर्माणमा लाग्ने ? मैले दोस्रो विकल्प रोजेँ', प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, 'त्यो कति जोखिमपूर्ण थियो र छ, पछिल्ला दुई दिनका घटनाक्रमले देखाइरहेका छन् । अब यो कति परिणामुखी हुन्छ, त्यो पनि विश्वासको मत लिने बेलासम्म प्रारम्भिक रूपमा प्रमाणित भइसक्ने मेरो विश्वास छ ।'

आफ्नो लक्ष्य सत्ता नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको पनि उहाँको भनाई छ । 

'मलाई विश्वास छ, हामीले एकै ठाउँमा उभिएर शासनका लक्ष्यहरू हासिल गर्नेछौँ', प्रधानमन्त्रीले भन्नुभयो, 'गठबन्धनका सबै घटकका तर्फबाट म सङ्कल्प गर्दछु, हाम्रो लक्ष्य सत्ता हुने छैन, सुशासन, सामाजिक न्याय र समृद्धि हुनेछ ।' 

सरकारको गतिसँग असन्तुष्ट छु भनेर आफूले पटक-पटक भनेको स्मरण गर्दै प्रधानमन्त्रीले आउँदा दिनमा सरकारका काम र नतिजाबाट प्रमाणित हुने विश्वास व्यक्त गर्नुभएको छ । 

आफूले चालेका कदम देश र जनताको हितमा रहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, 'कसैलाई मेरो कदम अस्थिरता लाग्न सक्छ, कसैलाई गतिशीलता तर यसको केन्द्रमा म छैन, मेरो पद छैन, देश र जनताको हित छ ।'

टिप्पणीहरू